नारायणप्रसाद श्रेष्ठ
आपसी सद्भाव र मित्रता कायम गरी सामाजिक सुसंस्कृतिभित्र हुर्कंदै आएको सनातन हिन्दू संस्कृतिभित्रको बडादसैँ पर्व अब हाम्रो घरआँगनबाट ओझेल परेको छ । सँगै बाँचौँ, सँगै कर्म गरौँ र सँगसँगै मोक्ष प्राप्त गरौँ भन्ने पवित्र विचार र उद्देश्य बोकी आएको यो विजयादशमी पर्वले आफ्नै विशेष महत्व राखेर यो वर्ष बिदा भएको छ । आसुरी शक्तिको समूल नष्ट गरी दैवीय शक्ति (सत्यको विजय हुने मान्यता बोकेर) आएको यस पर्वले सबैलाई उत्साह र उमंग दिइ, आपसी भाइचाराको वृद्धि गरी बितेको छ ।
सामाजिक विकृति र विसंगतिबाट ग्रसित रुढीवादी समाजमा विद्यमान छाडा संस्कृतिलाई हटाइ स्वच्छ र समुन्नत आदर्श विचार संप्रेषण गर्न यस पर्व कोशेढुङ्गा साबित भएको छ । विगत वर्ष कोभिड–१९ का कारण स्वच्छ र स्वतःस्फूर्त तथा खुसीसँग मनाउन नपाइएको यो पर्व यस वर्ष सबैले निकै उत्साह र हर्षोल्लासका साथ सम्पन्न गरेको अवस्था छ । विछोडपछिको मिलनले ल्याउने आत्मसन्तुष्टिलाई आत्मसात गर्दै आफू एक्लोमा होइन अरुको आनन्दमा रमाउन सिक्नुपर्छ भन्ने शिक्षा प्रदान गर्न यो पर्व सक्षम भएको छ ।
श्रद्धा र समर्पण तथा अनुशासित आचरण नै मानवीय मूल्य र मान्यता रहेको कुरा यस पर्वले सबैलाई सचेत गराएको छ । मनुष्य जीवनको सफलता अहंकार र घमण्डमा होइन, मानवोचित सगुन साकार कर्म र चिन्तनमा मुखरित रहेको कुरा दर्शाउँदै यथार्थ र सत्यवादी चरित्र निर्वाह गर्न यस पर्वले हामी सबैलाई प्रेरणा दिएको छ । सनातनदेखि आस्थाको प्रतीक मानिँदै आएको वेद शास्त्र र त्यही शास्त्रले निर्दिष्ट गरेको सांस्कृतिक पर्व खुसीको पर्वको रुपमा स्थापित हुँदै यस वर्ष सकिएको छ । अब केही दिनपछि नेपालीको दोस्रो ठूलो चाड शुभदीपालि नेपाल संवत र छठ पर्व अब केही दिन पछि हाम्रो घरआँगनमा भित्रिने तरखर गर्दैछ ।
भाइबहिनीबीचको सम्बन्धमा हुने स्नेह र समर्पण, सामाजिक भाइचारा अभिवृद्धि गर्न आउने पर्व कोशेढुङ्गा साबित हुने कुरा दर्शाउँदै ‘डे अफ लाइट’ अर्थात् शुभदीपावलि भाइटीका तिहार पर्व हाम्रो लागि अवष्मरणीय रुपमा देखापर्दै छ । सेवा र सद्भाव, समर्पण र विश्वास, भाइचारा र मित्रता, जीवनलाई सहज गति दिने उत्तम विकल्प हुन् भन्दै गलत संस्कार र स्वभावलाई निर्मुल गर्न यो निश्चय पनि सबैको लागि आदर्श शिक्षाको रुपमा विकसित हुँदै आएको छ । आधा आकाश ढाकेको नारी शक्तिमाथिको शोषण र दमन तथा समाजमा बढ्दै गएको महिला हिंसा रोक्न एवं भाइबहिनीबीचको सम्बन्धले ल्याउने न्यानो अनुभूति शुभदीपावलीको विशेषता रहेको पाइन्छ ।
तँ ठूलो म सानो, तँ धनी म गरीब, तँ उँच म नीच जस्ता विभेदकारी विचारले ग्रस्त रुढीवादी सामाजिक परम्परा हटाउन र हामी सबै एक हौँ, हाम्रो सम्बन्ध भाइभाइ, भाइबहिनी, दाजुबहिनी समान हुनुपर्छ भन्ने सिद्धान्त बोकी पवित्र सम्बन्ध र नाता कायम गरी सामाजिक सुसभ्यतालाई आदर्श गतिउन्मुख गराउन हाम्रो सांस्कृतिक पर्वले हामीलाई प्रेरणा दिँदै आएको छ । हुन त विविध विचारभित्र हुर्केको मानव स्वभावले यसको गरिमा र विशेषतालाई आफूअनुकूल व्याख्या गर्दै विलाषी र मनोरञ्जनतर्फ सांस्कृतिक पर्वलाई विश्लेषण नगरेका पनि होइनन् ।
विविध धर्म र संस्कृतिलाई व्याख्या गर्छु भनी आडम्बरयुक्त सोचाइ राखी यसको गरिमा र विशेषतालाई व्याख्या गर्न गुरु कहलिएका केही व्यक्तिले यसको महिमालाई विविध कोणले विश्लेषण गरी युगौँदेखि मौलाउँदै आएको हाम्रो परम्परागत सांस्कृतिक संस्कारमाथि हिलो छ्याप्ने काम नगरेका पनि होइनन् । निहित स्वार्थ र अहंकार प्रवृत्तिका नायिके ठहरिएका नेताको छद्मभेषी चरित्रले पौराणिक सत्यमा आधारित युगौँदेखि चल्दै आएको संस्कृतिमाथि धावा बोल्न नखोजेका पनि होइनन् । तथापि, सूर्य पूर्वबाट उदाएर पश्चिममा अस्ताउँछ भन्ने कायम भएको सत्य जसरी सधैँ सत्य रहने शिक्षा हामीलाई प्राप्त भएको छ ।
त्यसरी नै हाम्रा सांस्कृतिक पर्वले पनि हामी सबैलाई त्यही सत्य जानकारी गराउन खोजिरहेको छ । मानिसलाई घृणाले होइन प्रेम र पवित्र विचारले जित्न सकिन्छ भन्ने सुविचार प्रवाह गर्दै अरुलाई गलत भन्नु भन्दा पहिले आफूले आफैलाई सकारात्मक कर्म र विचारबाट परिपोषित गरी अरुको विचारलाई सम्मान गर्न जान्नुपर्छ भन्ने शिक्षा यस पर्वभित्र लुकेको छ । जीविकोपार्जनका लागि आवश्यक पर्ने सम्बन्ध र त्यस सम्बन्धले ल्याउने सुखद क्षणको अवसर यस पर्वभित्र रहेको पाइन्छ ।
मानिसको चाहना प्रेम, सम्मान, आत्मसन्तुष्टि हो । यही प्राप्तिको लागि मानिसले अहोरात्र आफूलाई समर्पण गरेका हुन्छन् । हुने र नहुने कर्म र व्यवहार गरी आफूलाई सन्तुष्टि गराउन खोजिरहेका हुन्छन् । दृष्टिभ्रमका कारणले तत्यमा आधारित विचारमा भन्दा क्षणिक स्वार्थमा मानिसले आफूलाई उत्साहित गरेको पनि पाइन्छ । मानिसको विशिष्ट प्रतिभा उसले प्रदर्शन गर्ने मानव व्यवहारमा निर्भर रहने सत्य समेत सचेत मानवले बुझेको अवस्था छ । तर पनि उसले त्यसलाई हार्दिकतापूर्वक अनुमोदन गर्न नसकिरहेको अवस्था छ ।
क्षणिक आनन्द र स्वार्थले निम्त्याउने परिणामको ख्याल नगरी मानिस क्षणिकतातर्फ रुमलिइ आफू र विरानो नचिन्ने विकृतिको शिकार स्वयम् मानव बनिरहेको अवस्था छ । आफूभित्रको कमजोरी लुकाउन अपराधमाथि अपराध प्रवृत्तितर्फ मानिस आकृष्ट हुन खोजिरहेको पनि देखिन्छ । तसर्थ, यस्तो विषम परिस्थितिमा हाम्रो संस्कृतिले ल्याउन खोजेको सकारात्मक प्रवृत्ति साच्चिकै मानव जीवनको लागि प्रेरणाको स्रोत बन्न पुगेको छ ।
सामाजिक सुसंस्कृतिभित्र निरन्तर गतिशील भइरहेको सामाजिक एकता र सद्भावलाई कायम राख्दै मानवीय मूल्य र मान्यताभित्रको असल संस्कार प्रत्याभूत गर्न हाम्रा पर्वले हामीलाई सजग र सचेत गराइरहेको छ । अब हामीले हाम्रो पर्वलाई संस्कृति हाम्रो धरोहर हो, यसको संरक्षण र सम्बद्र्धन हाम्रो जिम्मेवारी हो भनी स्वीकार गर्नुपरेको छ । पर्व आयो ढोल बजाइ, पर्व गयो ऋण बोकाइ भन्ने उखान हटाइ, पर्व आयो प्रेम र सद्भाव बढायो, पर्व गयो सामाजिक प्रतिष्ठा र चेतना बढाइ भन्ने उखान चरित्रतार्थ गराइ सकारात्मक चिन्तनका साथ आफ्नो गक्षय अनुसार सांस्कृतिक पर्वलाई मनाउनु परेको छ । मनोरञ्जनप्रधानको रुपमा होइन यसको मूल्य र मान्यताको विशेषतालाई आत्मसात गरी यसलाई अंगीकार गर्नुपरेको छ ।
नेपाली घर आँगनमा भित्रिने सांस्कृतिक पर्व जसले जीवन र जगतलाई आदर्श र सकारात्मक चिन्तनतर्फ गतिशील रहन प्रेरित गर्दै वर्तमान समयसम्म जसरी परिस्कृत हुँदै आएको छ, त्यसरी नै मन, वचन र कर्मद्वारा ‘सर्वे भवन्तु सुखिन’को आचरण गर्न सबैलाई यसले उत्प्रेरित र उत्साह जगाएको छ । यसको गरिमा र महत्व सबैले बुझ्न जरुरी छ । जीवनको पूर्वार्धदेखि उत्तरार्धसम्म मानव–मानवबीच हुनुपर्ने सम्बन्ध र सम्बन्धले ल्याउने सुखद क्षणको परिकल्पना गर्न यो पर्व सक्षम भएर सशक्त रुपले आएको छ ।
तसर्थ, सत्य अविनाशी र अपरिवर्तनीय हुने हुँदा यही सत्यभित्र रहेर सांस्कृतिक पर्वको महत्वलाई स्वीकार्न सिकौँ, यसको महिमा र गरिमालाई बुझी आफ्नो मर्यादा र क्षमताअनुभूल पर्वलाई मनाऔँ । तब मात्र त्यहाँ आनन्दको लहर उत्पन्न हुनसक्छ । जहाँ मानवीय इच्छा र आकांक्षाको आपूर्ति हुन्छ, आत्मा साटासट हुन्छ त्यहीँ पवित्रताको उजागर हुन्छ ।
त्यसैले पर्वलाई देखासिकी र भड्किलो एवं विलाषीतर्फ नलगी शुद्ध आचरणयुक्त जीवनशैली प्रवाह हुने किसिमले यसले दिन खोजेको सन्देश ग्रहण गरी मनाऔँ । मानव अन्तरनिहित आदर्शलाई मानवोचित सेवा, सद्भाव तथा मित्रता कायम गर्दै मनाऔँ । श्रद्धा र अनुशासन कायम गरी आत्मीय साटासाट गरौँ । समयले यही खोजिरहेको छ ।