दाङ । चैत्र १० गते
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले एक हप्तासम्म देशभर लक डाउनको घोषणा गरेको हो । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिको निर्णयपछि अब सरकारले सर्वसाधारणलाई एक सातासम्म घर बाहिर निस्कन रोक लगाएको छ।
आजमात्रै सरकारले फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोनाभाइरस देखिएको जानकारी गराएको थियो। यो जानकारीसंगै सरकार लक डाउनको निर्णय गर्न पुगेको हो ।
यो निर्णयसंगै अब औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् ।
यसैगरी, सरकारले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रोक लागउने निर्णय गरेको छ। सरकारले आन्तरिक व्यवसायिक उडान समेत बन्द गरेको छ।
स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीमात्र सरकारी कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ।
साथै, सरकारले आवश्यकता परे अन्य कर्मचारीलाई तत्काल उपस्थित हुने गरी कार्यालय प्रमुखले बिदा दिन सक्ने व्यवस्था गरेको छ।
सरकारले निजी क्षेत्रका उद्योग, कलकारखानाका कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ।
सिंहदरबारमा बसेको समिति बैठकले सरकारको आदेशको अवहेलना गरे संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको छ।