डा. जनार्दन पन्थीको पहलमा प्रादेशिक अस्पताल र प्रतिष्ठानलाई पिपिई वितरण

दाङ,१० चैत्र । नेपाल चिकित्सक संघ दाङ शाखाका अध्यक्ष डा. जनार्दन पन्थीको पहलमा जिल्लाका दुई स्वास्थ्य निकायहरुमा पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट (पिपिई) वितरण गरिएको छ ।

अमेरिका नेपाल मेडिकल फाउण्डेसनले नेपाल मेडिकल एशोसियसन केन्द्रीय कार्यालय काठमाण्डौलाई उपलब्ध गराएको पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट (पिपिई) नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. अनिक कार्कीको सक्रियतामा दाङमा २० थान पठाईएको थियो ।

दाङमा ल्याएको पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट (पिपिई) प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई १० थान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १० थान वितरण गर्नुभएको छ । राप्ती प्रादेशिक अस्पतालले आफुलाई प्राप्त भएको १० थान पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट (पिपिई) मध्य २ थान जिल्ला प्रहरी कार्यालय दाङलाई उपलब्ध गराएको छ ।

नेपाल चिकित्सक संघ दाङ शाखाका अध्यक्ष तथा राप्ती प्रादेशिक अस्पतालका बरिष्ठ कन्सल्टेन्स सर्जन डा. जनार्दन पन्थीले प्रमुख जिल्ला अधिकारी रिजाल मार्फत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराईलाई हस्तान्तरण गर्नुभयो । अमेरिका नेपाल मेडिकल फाउण्डेसन अमेरिकाका लागि अध्यक्ष डा. सन्तोष साप्कोटा र नेपालका लागि अध्यक्ष डा. भुपेन्द्र बस्नेत हुनुहुन्छ ।

अहिले विश्वलाई नै आक्रान्त बनाई रहेको कोरोना भाईरसको संक्रमण भएका ब्यक्तिहरुको उपचारका लागि स्वास्थ्यकर्मीलाई सहज बनाउन पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट (पिपिई) सहयोग गरेको नेपाल चिकित्सक संघले बताएको छ । पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट (पिपिई) प्राप्त भएपछि जिल्लामा स्वास्थ्यकर्मीहरुलाई कोरोना भाईरसबाट संकाश्पद विरामीहरुको जाँच गर्नमा आत्मबल बढ्ने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।