वि.सं २०७१ सालको दसैंताका होला, तिथि र मिति याद भएन । हामी चराहरूको अध्ययन अवलोकनको क्रममा रामपुरको चरिङ्गेदह आसपासको जंगलमा थियौँ । हामीले एउटा अनौठो चरा देख्यौँ, लाग्यो त्यो यहाँको रैथाने चरा थिएन । हामीले क्यामेरामा त्यो चरालाई कैद ग¥यौँ । उसको तस्वीर विभिन्न प्रजातिका चराहरूसँग दाँज्यौँ । त्यो चरा रहेछ, कालो गरुढ ।
म त्यो बेला नेपाल पक्षी संरक्षण संघसँग कुनै न कुनै हिसाबले आबद्ध थिएँ । नेपालले लोपोन्मुख चराहरूको सूचीमा राखेका १३ प्रजातिका चराहरूमध्ये एक रहेछ । नेपालमा हतपति नदेखिने चरा हामीले फेला पा¥यौँ, त्यो चरा साइवेरियाबाट विछुट्टिएर आएको रहेछ भन्ने थाहा भयो । त्यसलाई पंक्षी संरक्षण संघले प्रमाणित ग¥यो । लेखिदिनुहोला मेरो खुसी कालो गरुढ अर्थात् साइवेरियाबाट नेपाल छिरेर रामपुरमा बासस्थान बनाएको चरा …।
मलाई चराको मोह त्यो बेला जागेको थियो । त्यसबेलाको अविस्मरणीय क्षण तपाईंलाई स्मरण गराउन चाहन्छु । म प्रविणता प्रमाणपत्र तह अध्ययनका क्रममा भारतको नयाँ–दिल्लीमा थिएँ । त्यहाँ म मेरा मित्र डा. डिबी सिंह र स्याङ्जाका दामोदर पौडेललाई दिल्लीको प्रसिद्ध होटलमा एक जना दार्शनिक आरपी श्रावको प्रशिक्षण लिने अवसर मिलेको थियो । त्यो पाँचतारे होटलमा हामी ५ जना नेपाली थियौँ । प्रशिक्षण पर्यावरणको संरक्षणसँग जोडिएको थियो । प्रशिक्षकले अब हाम्रो सबैभन्दा ठूलो दुश्मन भनेकै खराब वातावरण हुनेछ । यदि यसरी वातावरणीय विनाश भइरहँदा त्यसको प्रत्यक्ष नोक्सानी विकासशील र अल्पविकसित गरिब र विपन्न मुलुकहरूले व्यहोर्ने छन् …।
मलाई त्यही दार्शनिकको प्रशिक्षणले वातावरण संरक्षणको मार्गमा डो¥यायो । पछि नेपाल फर्केपछि हामीले दाङमै पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र स्थापना गरी पर्यावरण संरक्षणको यात्रा सुरु ग¥यौँ । त्यही यात्राले मलाई अहिलेसम्म पनि डो¥याइरहेको छ । हो, मेरो अर्को खुसी आरपी श्रावको पर्यावरणीय प्रशिक्षण हो । अहिले पनि म पर्यावरण संरक्षणकै अभियानमा छु । नेपाल पशु संरक्षण संघलगायत केही अन्य संस्थाहरूले पनि सहयोग गरिरहेका छन् । चरा संरक्षण र अध्ययनकै सन्दर्भमा मैले एउटा शोधपत्र पनि नेपाल संस्कृत विश्वविद्यालयको सहयोगमा तयार पारिसकेको छु ।
त्यसपछि हामी विशेष गरी गिद्ध संरक्षणको अभियानमा जोडियौँ । प्रकृतिका कुचिकारका रूपमा रहेका विभिन्न प्रजातिका गिद्धहरू वर्षेनी लोपोन्मुख भइरहेका छन् । यसको प्रमुख कारण गिद्धहरूको आहारामा डाइक्लोफेनेकको मात्रा हुनु । अर्थात् पशुहरूको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक सेवनपछि आहाराका रूपमा गिद्धले सेवन गरेपछि गिद्धहरूको मृगौला खराब भएर गिद्धहरू मर्दै जाने समस्या हो । त्यसैले हामीले दाङ जिल्लामा डाइक्लोफेनेक मुक्त अभियान सञ्चालनमा ल्यायौँ ।
सम्भवतः हामीले वि.सं २०६७ सालमा दाङ जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गर्न सफल भयौँ । नेपाल पत्रकार महासंघ दाङको सभाहलबाट यो घोषणा गरिएको थियो । नेपालमै दाङ पहिलो डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा भएको थियो । त्यसपछि क्रमशः अन्य जिल्लाहरू सँगैसँगै सिङ्ग नेपाल डाइक्लोफेनेक मुक्त भएपछि अहिले गिद्धको संख्या तथा बासस्थानहरू पनि क्रमशः बढिरहेको हामीले पाएका छौँ । लेखिदिनुहोला मेरो अर्को खुसी डाइक्लोफेनेक मुक्त दाङ … ।
त्यससँगै हामीले हाम्रो पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रमार्फत् दाङ जिल्लाभरि गिद्ध संरक्षणको अभियान सक्रिय बनायौँ । देउखुरीको सिसहिनिया र दाङ उपत्यकाको बिजौरी स्याउलापानीमा गिद्ध रेष्टुरेण्ट पनि सञ्चालनमा ल्याएका छौँ । अहिले विभिन्न प्रजातिका चराहरूको अध्ययन गर्न नेपाल मात्र नभएर विदेशी अनुसन्धानकर्ताहरू तथा चरा विज्ञ पनि यस छिल्लीकोट क्षेत्रमा आइरहेका छन् । युरोपका विभिन्न विश्वविद्यालयमा वातावरण विषयमा अध्ययनरत विद्यार्थीहरूको अध्ययन थलो पनि भएको छ, दाङ ।
मैले अरु जागिर र व्यापार व्यवसाय गरिनँ । तर चरा संरक्षण र अनुसन्धानको पाटोमा भने अहोरात्र खटिइरहेको छु । हाम्रो यो अभियानमा भरथेग सहयोग स्थानीय सामुदायिक वन उपभोक्ता तथा जिल्ला वन कार्यालय र अन्य केही स्थानीय सरकारबाट पनि हुँदै आएको छ । यो हिसाबले पनि मलाई मेरो अभियानमा आत्मसन्तुष्टि हुने गरेको छ । मलाई चराहरूजस्तै भावनामा उड्ने मन लाग्छ, चराहरूजस्तै सिमारहित हुन मन लाग्छ । चराजस्तै स्वच्छन्द भएर फिर्ने मन लाग्छ । अर्थात् चरा मेरो खुसी, चरा मेरा मित्र …।
चरा संरक्षणसँगै पर्यावरणका अन्य क्षेत्रमा पनि मैले निरन्तर एक दशकदेखि काम गर्दै आएको छु । यही मेरो अभियानका कारण मैले वि.सं २०७५ सालमा नेपाल सरकारबाट पुरस्कार समेत प्राप्त गरेँ । तात्कालीन प्रधानमन्त्री केपी ओलीको हातबाट वि.सं २०७५ सालमा म वातावरण पुरस्कारबाट सम्मानित भएको छु । यो पनि एउटा अविस्मरणीय क्षण हो । यो राष्ट्रिय पुरस्कारले मलाई वातावरण संरक्षणमा अझै पनि उत्साहित बनाएको छ ।
हो, अहिले मलाई वातावराणसम्बन्धी विभिन्न जिज्ञासु विद्यार्थीहरू तथा अध्यताहरूले पनि बेलाबेलामा चराहरूका विषयमा सोधिरहन्छन् । आफूले कालो गरुढ, गिद्धलगायत अन्य चराहरूका विषयमा जानकारी दिन पाउँदा आत्मैदेखि खुसी लाग्छ । अर्थात्, वातावरण मेरो खुसी …। सडकमा सर्पदेख्दा मलाई खुसी लाग्छ, वनमा जुरेली देख्दा खुसी अनि रूखमुनिको जुका पनि मेरो खुसी । अर्थात्, वातावरणीय सन्तुलनमा यहाँ उत्पन्न भएका हरेक बोटविरूवा, पशुपक्षी तथा जनावरहरूको भूमिका उत्तिकै अतुलनीय छ । यी सबैका कारण नै वातावरणीय चक्र सन्तुलन भएको छ ।
माथि उल्लिखित खुसीका क्षणहरू हुन्, पर्यावरणीय दिगो विकास तथा संरक्षण मञ्च दाङका अध्यक्ष डिल्लीबहादुर रावतका । तुलसीपुर उपमहानगरपालिका—१८ हेमन्तपुरमा जन्मिएका रावतको प्राथमिक तहको शिक्षा स्थानीय प्रावि बेलझुण्डीमै भए पनि हाई स्कूल र प्रमाणपत्र तहको अध्ययन भने उनले भारतको नयाँ दिल्लीबाट पूरा गरे । केही समय उनी विद्यार्थी राजनीतिक आन्दोलनमा पनि जोडिन पुगे । करिब एक महिनाभन्दा बढी काराबास जीवन समेत बिताए ।
वि.सं २०४३ सालतिर पञ्चायतकालमा पनि उनी साविक बिजौरी गाउपञ्चायतका उपप्रधानपञ्च पदमा जनपक्षीय उम्मेद्वार बनेर विजयी बने । वि.सं २०४६ सालमा त्यहीबेलाको जिल्ला सभामा वहुदलको विषयमा वकालत गर्दा उनी फेरि कारागार चलान भए । वहुदल आएपछि मात्रै उनी कारागारमुक्त भएका थिए । तर पछिल्लो समयमा भने उनी राजनीति संरक्षणमा भन्दा बढी वातावरण संरक्षणमा जोडिएका छन् । वातावरणका सन्दर्भमा उनका थुप्रै आलेखहरू विभिन्न पत्रपत्रिकामा समेत प्रकाशित हुँंदै आएका छन् ।
प्रस्तुती : खेमराज रिजाल