‘म’को पहिचान

नारायणप्रसाद श्रेष्ठ

यस अघि हामीले ‘म र मेरो पहिचान’ शीर्षकको लेखमा आत्माको बारेमा थोरै जानकारीमूलक प्रसंग उठाएका थियौँ । आध्यात्मिक सत्यलाई भुली भौतिकवादी चिन्तनभित्र अल्झिने हाम्रो स्वभावबारे केही जानकारी प्रस्तुत गर्ने जमर्को गरेका थियौँ । आज पनि हामी त्यही आत्माको बारेमा थप जानकारी गराउने चेष्टा गर्दै छौँ । हुन त यस बारेमा पाठकका आ–आफ्ना विचार हुनसक्छन् । विचार नमिल्न पनि सक्छ ।

तर, सूर्यको रोशनीले सधैँ उज्यालो दिने सत्य जसरी सत्य साबित भएको छ, त्यसरी नै आत्माको स्वरुप र यसको गतिशीलता सूर्यको रोशनीझैँ उज्यालो भएकोले यो विचार प्रस्तुत गर्न खोजिएको हो । म को हूँ ? मेरो पहिचान के हो ? म कुन तत्वबाट परिचालित छु ? मैले गर्ने प्रत्येक कार्य कसबाट निर्देशित छ ? म शरीर हो वा आत्मा हो ? त्यसबारे जानकारी हुन जरुरी छ । मानव अन्तरनिहित सोच र चिन्तनको मूलआधार के हो ? मानिसले किन सुख र दुःखको अनुभूति गर्दछ, पीडाबोध गर्दछ ? विचारमा किन भिन्नता छ ? शारीरिक वा मानसिक रुपले उर्जा र शिथिलता, छटपटी र उत्साह कसरी भइरहेको छ ? यसको गुढ, रहस्य के हो ? यसको गहिरो अध्ययन र विश्लेषण हुन जरुरी छ ।

शरीर घर हो । आत्मा मालिक हो । यो अमर र अजर छ । यो आदिदेखि अन्त्यसम्म यसरी नै गतिशील भइरहन्छ । चैतन्य शक्ति ‘म’ आत्मा हो । यो अभिनाशी छ, यसमा द्विविधा हुनु हुँदैन । किनकि द्विविधा हुनु भनेको अविवेकी चिन्तनको जालमा फस्नु हो । जब यसको गुढ रहस्य थाहा हुन्छ तब मानिस स्वतः यसको वास्तविक धरातलमा आइपुग्छ । जति पनि भिन्नता छ, त्यो बाल, युवा, वृद्धमा देखिने शरीरको आवरणले गरेको कर्मबाट प्रभावित भएको हो । आत्मा सधैँ समान भएर रहेको हुन्छ । यही आत्माको तीन शक्ति मन, बुद्धि र संस्कारबाट शरीर परिचालन भएको हुन्छ ।

मनको काम लागिरहने हो । ऊ विभिन्न वातावरण, विचार र सोचबाट प्रभावित भई शरीरमा लागिरहन्छ । मनले एकछिनमा संसार भ्रमण गर्न सक्छ । हुने नहुने जुनसुकै कर्म र व्यवहार गर्न मनले उक्साइरहन्छ । यो बिनालगाम दौडिरहने आत्माको शक्ति हो । मनको काम चञ्चल भएर दौडिरहने हो । तसर्थ, यो मनलाई छटनी गर्ने काम बुद्धिले गरेको हुन्छ र बुद्धिले इन्द्रीयलाई भनी कर्म र व्यवहार गरिरहेको हुन्छ । यही निर्णयले गरिने कर्म संस्कार भएर आएको हुन्छ । जसले मानव जातिलाई कर्म र व्यवहार गर्न सिकाइरहेको हुन्छ ।

अर्को अर्थमा भन्ने हो भने आत्मालाई शरीरको माध्यम सञ्चालन गर्ने मन बुद्धि र संस्कार आत्माका मन्त्री हुुन्, आत्मा प्रधानमन्त्री हो । यसरी मन, बुद्धि र संस्कार चैतन्य शक्ति अविनाशी आत्माको विनाशी शरीरको मालिक हो । तसर्थ, हामीभित्र सोच र चिन्तन कस्तो छ ? हामी रावण प्रवृत्ति उन्मुख हुने हो कि राम प्रवृत्ति उन्मुख हुने हो ? यो हामै्र व्यवहारले प्रष्ट्याइरहन्छ । त्यसैले दूरगामी चिन्तन बढाउन र आफू र आफ्नो परिवेशको पहिचान गर्न आफूले आफैलाई बुझ्न जरुरी छ । सोच र चिन्तन बढाइ विचारशक्तिमा सकारात्मक संकल्प राख्नु परेको छ ।

मनिसको हरेक कर्म र व्यवहारबाट परिस्कृत सोच र चिन्तनको आधार भनेको मन हो । मनको सम्बन्ध दिलसँग हुन्छ । जब मनमा पीडाबोध हुन्छ(चाहे त्यो आन्तरिक होस् या बाह्य) तब विचारहरु छियाछिया भएर प्रस्तुत हुने अवस्था सिर्जना हुन्छ । भित्र उकुसमुकुस भइ कहिले खुसीको आँसु र कहिले पीडाबोध भइ आँखाबाट आँसु बग्न थाल्छ । मुखबाट विरहका बाजा अथवा दुःखको अनुभूति प्रष्टिन सुरु हुन्छ । जब यस्तो अवस्था सुरु हुन्छ त्यसले बुद्धिमा असर पु¥याउँछ । दिमागमा पीडाबोध हुन पुग्छ ।

शरीरका प्रत्येक इन्द्रीयहरु आफै शिथिल हुने स्थितिमा पुग्दछन् । मानव चेतना के गर्ने के नगर्ने भनी छटपटिन थाल्छ । यही छटपटाहटले मानिसको मन, बुद्धि र विचार गलत मार्गतर्फ बढ्ने सम्भावना रहन्छ । यसरी आत्माको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ भने मस्टिष्कको सम्बन्ध शरीरसँग जोडिएको हुन्छ । शरीरको प्रत्येक अंग, प्रत्यंग, तन्तु क्रियासँग जोडिएको हुन्छ । त्यसपछि यहाँ जेजति क्रिया, प्रतिक्रिया हुन्छ त्यो आत्माले शान्ति, सुख, दुःख सबैको अनुभूति गर्न पुग्छ । यसरी मन, बुद्धि र कर्म आत्मासँग सम्बन्धित हुन पुग्छ ।

तर, हामी आत्माको त्यो स्वरुपलाई बिर्सेर केवल हाम्रो चर्मदृष्टिले देखेको स्त्री, पुरुष, बाल, युवा, बृद्धमा अल्मलिएर दुःखको कारक बनिरहेका छौँ । यो लोग्ने मानिस, यो स्वास्नी मानिस भनी शारीरिक लिङ्गप्रति हाम्रो ध्यान बढी केन्द्रित भइ उसको क्षमताको आँकलन गर्न पुग्छौँ । पुरुष र स्त्रीलिङ्ग भनी आत्मालाई वर्गीकृत गर्ने धृष्टता गर्दछौँ । वास्तवमा पुरुष न त लोग्ने मानिस हो न त स्वास्नी मानिस हो । पुरुष भनेको त आत्माको त्यो पुञ्ज हो जो जहाँ पनि प्रवेश गर्न सक्छ अथवा अर्को अर्थमा पुरुष प्राणीको स्वासप्रश्वास हो ।

जुन क्षण हामी स्वासप्रश्वासबाट अलग रहन्छौँ त्यस दिन पुरुषले मानव शरीरलाई छोर्दछ । त्यस बेलामा शरीर मृत अवस्थामा पुग्छ । शरीर पुरुष नारी दुवै हो । यही भेद छुट्याउन नसक्नाको कारण हामी भ्रमित छौँ । हाम्रा सोच र चिन्तन केवल वाह्य आवरणका कारण अल्मलिएको छ । हामी न त आध्यात्मिक सत्यको नजिक पुग्छ सफल भएका छौँ न त भौतिकवादी चिन्तनभित्र हामी खुसी नै छौँ । अहिले हाम्रो पाउ दुई नाऊमा रहेको छ । त्यसैले पहिले आफूलाई बुझौँ अनि त्यसपछि अरुलाई बुझौँ । यो सत्य कदापि भुल्नु हुँदैन ।

हाम्रो शरीर यो जन्मको पूर्व महिला पुरुष जे पनि भएको हुनसक्छ । पूर्व जन्ममा हामी के थियौँ त्यो हाम्रो ज्ञानमा हुँदैन । यस जन्मपछि पनि अर्को जन्म कस्तो हुने हो ? त्यो पनि हाम्रो ज्ञानमा छैन । अहिले जे छ त्यो पछि नहुनसक्छ । जसरी समयको गतिशीलतामा प्रत्येक क्षण अलग अनुभूति भइरहन्छ र फरक–फरक परिवेश झल्किरहन्छ त्यसरी नै शरीरधारी जीव पनि के हुन्छ थाहा हुँदैन । त्यसैले हामी लोग्ने मानिस वा स्वास्नी मानिस जेजस्तो वाह्य आवरणमा देखिएको छ, त्यो केवल शरीरको रुप हो ।

त्यो भन्दा अघि चैतन्य आत्मा हो । जो कुनै बेला नारी र कुनै बेला पुरुषको रुपमा प्रस्तुत भएको हुन्छ । शरीर घर हो, आत्मा मालिक हो । यसभित्र सत्यता लुकेको छ । केवल स्वच्छ र पवित्र चिन्तन गरी यसको गहिरो अध्ययन विश्लेषण गर्नु जरुरी छ । मनिसले परिचय दिँदा पद, मान, प्रतिष्ठा, व्यापारी विविध नाम, उपनामजस्ता शब्दले सम्बोधन गरेको देखिन्छ । वास्तवमा यो वाह्य आवरणभित्रको अभिमान मात्र हो । “द्ययमथ + क्यग ि= ज्गmबलदष्लन” चैतन्य शक्ति आत्मा हो म आत्मा हूँ ।

रातमा आकाशमा धेरै तार चम्किएको हामी प्रत्यक्ष देख्छौँ र अनुभूति पनि गर्छौैँ । तर दिनमा सूर्यको रोशनीले ती ताराहरुलाई देख्न सक्दैनौँ । के तारा नभएर नदेखेका हौँ र ? त्यसो पक्कै होइन । सूर्यको रोशनीले त्यसलाई अदृश्य बनाएको मात्र हो । त्यसैगरी आत्माको गहिराइलाई नबुझी हामीले हामीभित्रको सौर्यशक्ति आत्मालाई चिन्न सकेका छैनौँ, पहिचान गर्न सकेका छैनौँ । वास्तवमा आकाशमा तारा चम्किएझैँ सूक्ष्ममा अतिसूक्ष्म चम्किलो ज्योतिबिन्दु आत्मा हो । जब यसले शरीरलाई छोड्छ तब शरीर मृत अवस्थामा पुग्छ, माटोमा बिलय हुनपुग्छ ।

शरीर त केवल प्रकृतिभित्र रहेको पृथ्वी, आकाश, जल, वायु, अग्नि यी तत्वबाट बनेको हो । जब आत्माले छोड्छ तब शरीर त्यसैमा विलय हुन्छ । यही सत्य हामीले जबसम्म बुझ्न सक्दैनौँ तबसम्म हामीले हाम्रो आफ्नो पहिचान गर्न सक्दैनौँ । आध्यात्मिक ज्ञानको अकाट्य सत्य भनौँ वा ईश्वरीय ज्ञानको प्रथम सत्य हामी आत्मा हौँ । मन, बुद्धि र संस्कार शरीरधारी आत्माको अङ्ग हो । मनमा प्रतिदिन बीसदेखि बत्तीस हजार विचारहरु उत्पन्न भएका हुन्छन् । मनले एकैछिनमा हजारौँ विचार सोच्न सक्छ ।

मन हावासरी दौडिरहन्छ । जबसम्म शरीर नष्ट हुँदैन यो दौडिरहन्छ । बुद्धि यसको लगाम हो । बुद्धिले मनमा तरंगिएको विचार छटनी गर्दै मनलाई शुद्धिकरण, सशक्तिकरण र दिव्यकरण गर्दै कर्म गर्न उत्प्रेरित गर्दछ । यही कर्म संस्कार भएर आउँछ । त्यसैले विचारमा शरलता र व्यवहारमा नम्रता प्रदर्शन गर्न जान्नु पर्छ । विचार नै कर्मको जीव हो । त्यसैले प्रत्येक आत्मातत्वले आफ्नो पहिचानसँगै आफूबाट उत्पादित चिन्तनलाई परिस्कृत गर्न सक्नुपर्छ ।

अरुलाई दोष देखाउने मनभन्दा आफूलाई चिन्ने मन उत्तम हुन्छ । शरीर आत्माद्वारा परिचालित साधन हो । हामी नाटकका पात्र हौँ । त्यसैले शान्ति वाह्य आवरणमा होइन अन्तरआत्माभित्र रहेको सत्यलाई बुझी कर्म र व्यवहारमा आफूलाई समर्पण गर्नु पर्दछ । समयले यही खोजिरहेको छ ।