आधारभूतबाट अब विशेषज्ञ स्वास्थ्य सेवा : स्वास्थ्य प्रमुख न्यौपाने

पछिल्लो समयमा नेपालको स्वास्थ्य क्षेत्रलाई संघीयतासँगै तीन तहमा अधिकार दिएको छ । ३ वटै सरकारले अहिले केही साझा त केही एकल निर्णयानुसार जनतालाई स्वास्थ्य सेवा दिएका छन् । संघीय, प्रदेश र स्थानीय तहलाई अधिकार दिएर ती निकायहरुले अहिले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् ।

नेपालको संविधान २०७२ अनुसार आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक हक छ । स्थानीय निकायहरुले पनि केही प्रदेश तथा केही एकल अधिकारबाट आधारभूत स्वास्थ्य सेवाहरु दिएका छन् । स्वास्थ्यमा पहुँच नभएकाहरुलाई सहज पहुँच पु¥याउन तुलसीपुर उपमहानगरपालिकाले पनि नगरको निर्णयानुसार सबै वडाहरुका आधारभूत स्वास्थ्य सेवा दिइरहेको छ ।

पछिल्लो समयमा स्वास्थ्य सर्वसाधारण जनताको लागि महँगो सावित भएको अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले दिइरहेको स्वास्थ्य सेवा, हालसम्मका उपलब्धि, आगमी रणनीति र समग्र नगरको स्वास्थ्यको अवस्थाको विषयमा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रबद्र्धन महाशाखाका प्रमुख ओमपी न्यौपानेसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।

 नगरमा स्वास्थ्य सेवा के–कसरी प्रवाह गरिरहनुभएको छ ?

 पछिल्लो समयमा नेपालको संविधान अनुसार तीन तहमा स्वास्थ्य अधिकारहरू दिइएको छ । स्वास्थ्यमा ३ वटै सरकारले साझा अधिकारका रूप लिएर संघीय, प्रदेश र स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाह भइरहेका छन् । जसअन्तर्गत हामीले स्थानीय सरकारले दिने आधारभूत स्वास्थ्य सेवा हो । जनताको मौलिक अधिकारअन्तर्गत आधारभूत स्वास्थ्य सेवा हामीले दिएका छौँ ।

जसअन्तर्गत् २०७५ सालदेखि स्वास्थ्य सेवामा जनताको पहुँच वृद्धिका लागि नगरको निर्णयानुसार हामीले सबै वडाहरूमा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरेका छौँ । सो केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा दिइरहेको छौँ । संघीय सरकारको क्षेत्रभित्र रहेका साविक सेवाहरू ८ वटा स्वास्थ्य केन्द्र हामीसँग छन् । ती ८ वटा केन्द्र हामीलाई संघिय सरकारले हस्तान्तरण गरिसकेको छ भने अन्य ११ वटा वडाहरूमा हामीले स्वास्थ्य केन्द्र स्थानपना गरिसकेका छौँ ।

त्योसँगै जनतालाई सहज सेवा प्रवाहका लागि २ वटा सामुदायिक स्वास्थ्य इकाई पनि हामीले स्थापना गरेका छौँ भने एउटा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र गरी हाल हामीले १९ वटा स्वास्थ्य केन्द्र, दुईवटा सामुदायिक स्वास्थ्य इकाई र एउटा सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र गरी २२ वटा स्वास्थ्य संस्थाहरूबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह गरेका छौँ । त्यसका साथसाथै ५६ वटा खोप किल्नीक सेवा, ३७ स्थानमा गाउँघर किल्नीकको माध्यबाट नगरमा स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौँ । अब हाम्रा पाइला भनेका आधारभूत स्वास्थ्य सेवाबाट विशेषज्ञ स्वास्थ्य सेवातर्फ उक्लने छन् ।

 जनशक्ति र भौतिक अवस्था के–कस्तो रहेको छ ?

 हामीसँग७ वटा पुराना मापदण्ड अनुसार बनेको स्वास्थ्य केन्द्रका भवनहरू छन् । त्योसँगै अहिले तुलसीपुर–४ को हलवारमा संघीय सरकारको सहयोगबाट भवन बनेको छ । त्यस्तै वडा नं. २, ८ मा नगर स्वास्थ्य केन्द्रको भवन वनिसकेको छ । वडा नं. ७, ३ मा निर्माण सम्पन्नको अवस्थामा छन् ।

त्यस्तै वडा नं. ९, १६ मा भवन निर्माणका लागि ठेक्का गएको छ, अन्य बाँकी वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्रको जग्गाको व्यवस्थापन र भौतिक निर्माणको लागि पहल भइरहेको छ । भौतिक अवस्था विस्तारै सुधार हुँदै गएको छ, केही समस्याहरू भने पक्कै पनि छन् । त्यस्तै जनशिक्तको हिसाबले भन्ने हो भने सबै दरबन्दी पूर्ति भएको छ । हामीसँग आवश्यक जनशक्तिभन्दा १५ जना कर्मचारी बढी हुनुहुन्छ । समायोजन भएर आएका १५ जना कर्मचारी अहिले बढि रहेको अवस्था हो ।

 स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाईबाट के–कस्ता सेवाहरू दिनुभएको छ ?

 हामीले हाम्रा स्वास्थ्य संस्थाहरूबाट विभिन्न सेवाहरू दिइरहेका छौँ । मैले पहिले पनि भने, हामीले दिने सेवा भनेको आधारभूत स्वास्थ्य सेवा हो । अन्य विशेषज्ञ, विशिष्टिकृत सेवा भने संघीय, प्रदेशअन्तर्गत् सञ्चालित स्वास्थ्य सेवामार्फत् हुने हो । हामीले अहिले स्वास्थ्य संस्थाहरूबाट खोप, गाउँघर स्वास्थ्य किल्नीक, निःशुल्क औषधी वितरण, मातृशिशु सेवा, आपतकालीन आधारभूत प्रसुती सेवा, पोषण, सरुवा रोग नियन्त्रण, परिवार नियोजन सेवा र साधारणा स्वास्थ्य जाँच र औषधी वितरण हो ।

त्यससँगै पछिल्लो समयमा यहाँ नगरमा जनसंख्या वृद्धि र बिरामीको चापलाई मध्यनजर गरी हामीले कोरोना महामारीको समयमा कोरोना आइसोलेशन अस्पताल स्थापना गरेर सेवा दिएका छौँ । तुलसीपुर–८ को अश्वारामा रहेको मेट्रो अस्पताललाई हामीले अहिले ओपिडी सेवाको रूपमा पनि सञ्चालन गरेका छौँ । त्यो अस्पताललाई अब ओपिडीदेखि फिजिसिएन, सर्जन र ल्याव एक्स–रेदेखि भिडियो एक्स–रे समेतका सेवा दिने गरी व्यवस्थापन गर्नमा लागेका छौँ ।

अब सामान्य चिरफार र उपचारका लागि बाहिर जानु नपर्ने वातावरण बनाउँछौँ । त्यस्तै अब कोभिडको तेस्रो भेरियन्टलाई मध्यनजर गरी बालबालिकालाई बाल बचाउ अन्तर्गत् एनआइसियु, आइसियू सेवाको व्यवस्थापन निकट भविषमै गर्ने योजना बनाएका छौँ । त्यस्तै जनरल सर्जिकल सेवा सञ्चालन गर्ने हाम्रो योजना छ । त्यस्तै आपतकालीन प्रसुती सेवा केन्द्र पनि सञ्चालन गर्ने छौँ ।

 स्वास्थ्य केन्द्रमा जनशक्ति पर्याप्त छ भनुभयो तर आधारभूत सेवा लिन पनि सेवाग्राही निजी क्लिनीकमा धाउने गरेका छन्, किन ?

 हो, तपाईंले राम्रो प्रश्न उठाउनुभयो । यो समस्या हामीमा छ । त्यो के हो भने मानिसले अहिले छिटो र छरितो सेवा खोजेका हुन्छन् । त्यो अलि हुन सकेको छैन । अर्को कुरा के हो भने सेवाग्राही अहिले लाइन लाग्नु नपरोस्, रिपोर्टका लागि समय नलागोस् भन्ने चाहनुहुन्छ । हामीले सबै प्रक्रिया पु¥याउनु पर्छ । त्यसमा पनि निजी क्लिनीकमा चिनेजानेका, परिचित हुन्छन् ।

अझ सेवाग्राहीले सरकारी सेवामा विश्वास गर्ने वातावरण पनि त छैन । त्यसैले अब हामी पनि जनतामैत्री सेवा उपलब्ध गराउने छौँ । उदाहरणका लागि मैले डा. भोला जस्तै सबै चिकित्सक हुनुपर्छ भनेँ । हामीले पनि अब स्थानीय सरकारले सञ्चालन गरेका स्वास्थ्य केन्द्रहरूमा जनतालाई विश्वास दिनेखाले काम गर्नुपर्छ र जनताको आकर्षण बढानुपर्छ ।

 स्वास्थ्यमा बजेटको अवस्था कस्तो छ, बजेट भए पनि काम नभएरै फ्रिज हुन्छ भन्छन नि ?

 हाम्रो पालिकामा बजेट प्रशस्त छ । बजेट भएर पनि काम नहुने र फ्रिज हुने भन्ने छैन । यो वर्ष संघीय सरकारको ८० प्रतिसत र स्थानीय सरकारको ९० प्रतिशत बजेट कार्यान्वयन भएको छ । नगरसभाले पनि हामीलाई पर्याप्त बजेट छुट्याएको अवस्था छ । बजेटकै अभावले स्वास्थ्य सेवामा असर परेको छैन् । हामीले आवश्यक बजेट पाएका छौँ र वार्षिक कार्यक्रमअन्तर्गत् प्रगति विवरण पनि राम्रो नै छ ।

 तुलसीपुर क्षेत्रका सरकारी अस्पतालहरू रिफर सेण्टर मात्र भए, सेवा पाउन गाह्रो भएको भन्ने गुनासो छ नि ?

 हो, यो गुनासो छ नै भन्नु पर्छ । प्रमुख समस्या भनेको यहाँ आइसियु, एनआइसियु सेवा छैन । विशेषज्ञ डाक्टहरू हुँदाहुँदै पनि मेसिन, औजारको अभावले यो समस्या देखिएको हो । मैले पहिले पनि भने हामीले मेट्रो अस्पतालमा सामान्य सेवा र चिरफारको लागि त्यहाँ व्यवस्थापन गदै छौँ । अब राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा र विशिष्टिकृत सेवा दिने अस्पताल बनाउनु पर्छ ।

त्यसमा स्थानीय सरकारले पनि सहयोग गर्छ, हामी भनेका आधारभूत सेवा प्रावह गर्ने निकाय हौँ तर अब हामी सबै मिलेर अस्पताललाई सुविधा सम्पन्न बनाउन र सबै उपचार सेवा यहीँबाट प्रवाह गर्ने गराउने वातावरण बनाउनु पर्छ । तर, सामान्य सेवाका लागि पनि सेवाग्राहीले निजी क्लिनीक तथा बाहिर पठाउने विषय भने खेदजनक छ ।

सम्भव भएसम्म यहीँ उपचार पाउनुपर्छ । अब यसमा अस्पताल विकास समिति, सरोकारवाला र स्थानीय सरकार बसेर संयुक्त कार्ययोजना बनाएर यसको समाधान खोज्न जरुरी छ । यसमा विशेष गरी तपाईंजस्तै पत्रकारहरूले निगरानी तथा स्वास्थ्य क्षेत्रमा तकलम चालाउनु पर्छ ।

 तपाईंहरूले भर्खरै स्वास्थ्य समीक्षा पनि राख्नुभयो, मुख्य समस्या के–के रहेछन् त ?

 हो, हामीले भर्खरै नगरको स्वास्थ्य समीक्षा सकेका छौँ । त्यसमा धेरै कुराहरू आएका छन् । अब हामीले धेरै कुराहरू गर्नुपर्ने पनि छ । पहिलो कुरा त तुलसीपुरमा विशिष्टिकृत स्वास्थ्य सेवा आवश्यक छ ।

त्यससँगै किशोरकिशोरीहरूलाई विशिष्टिकृत सेवा, पोषण, बालबालिकामा नियमित तौल जाँच, सुत्केरी भएपछि तेस्रो र सातौ दिनमा अनिवार्य जाँच नभएको देखियो । त्यस्तै अब दक्ष अनमीलाई घर भेटभघाट गराउनुपर्ने, युवा तथा किशोरीका लागि विशेषज्ञ सेवा दिनुपर्ने, थप वर्थिङ सेण्टर स्थापना गर्नुपर्ने, ज्येष्ठ नागरिलाई सामाजिक स्याहार केन्द्र स्थापना गर्नुपर्छ । तुलसीपुर क्षेत्रमा खोप सञ्चितका लागि उचित व्यवस्था छैन ।

त्यसको निर्माणका लागि तत्काल पहल गर्नुपर्ने देखिएको छ । अब पालिका स्तरीय खोप भवन निर्माण गरी खोप सुरक्षित भण्डार गर्ने योजना बनाउनेमा छौँ । त्यस्तै वृद्ध, ज्येष्ठ नागरिक, असहाय, बेसहारालाई विशेष स्याहर केन्द्र, फिजियो थेरामी सेण्टर स्थापनालगायतका कुराहरू स्थापना र निर्माण गर्नुपर्ने छ र गर्नेछौँ ।

 स्वास्थ्य बिमा प्रभावकारी हुनसकेन भन्ने गुनासो पनि छ नि ?

 दाङमा २०७७÷०७८ बाट स्वास्थ्य बिमा लागू भएको हो । अहिले पनि सबैले यो सुविधा सबेले लिन सक्नुभएको छैन । हामीले वडा–वडामा स्वास्थ्य बिमाको लागि एजेन्टहरू भर्ना गरेर तालिम समेत दिएका छौँ । तर यो प्रभावकारी हुन भने सकेको छैन् । अहिले पनि सबै नागरिक यसको पहुँचमा आउन सकेका छैनन् । यसका लागि जनप्रतिनिधिहरू, सरोकारवालहरू नै अगाडि आउनुपर्छ र जनतालाई बुझाउनु पर्छ । त्यसका लागि सहयोगी भूमिकामा हामी त छँदैछौँ नि ।

 तपाईहरूका मुख्य उपलब्धिी के–के हुन् ?

 हामीले तुलसीपुरमा स्वास्थ्यमा धेरै उपलब्धिहरू हासिल गर्न सफल भएका छौँ । हामीले पहिलो कुरा त पहिलो पटक नगर स्वास्थ्य ऐन बनाएर लागू गरेका छौँ । अर्को कुरा स्मार्ट छोरी कार्यक्रम सञ्चालन गरेर कार्यान्वयन गरिरहेका छौँ । त्यस्तै तुलसीपुरमा मातृ मृत्युदर शून्य बनाएका छौँ । त्यस्तै सुत्केरी स्याहार पोषण प्रोत्साहन भत्ता वितरण व्यवस्थापनका कारण होम डेलिभरी शून्य रहेको छ ।

त्यस्तै हामीले जनतालाई अन्धोपनमा आर्थिक अभावका कारण बस्नु नपरोस् भनेर मोतियाविन्दुका बिरामीलाई आँखा अस्पतालको साझेदारीमा निःशुल्क सल्यक्रिया कार्यक्रम सञ्चालन गरेका छौँ । त्यस्तै तुलसीपुर क्षेत्रका जनतालाई सहज सेवा प्रवाहका लागि मेट्रो अस्पताल सञ्चालन गरेर सेवा प्रवाह गर्न सफल भएका छौँ ।

 अन्त्यमा केही भनु छ ?

 पहिले त सबैलाई धन्यवाद दिन चाहान्छु । यो कोरोनाको महामारीमा पनि सबै संघसंस्था, स्थानीय नागरिकले हामीलाई सहयोग गर्नुभयो । पब्लिक सपोर्ट हामीले पाएका छाँै । हामीले स्वास्थ्यमा उपलव्धि हासिल गर्नमा सबैको हात छ, चाहे त्यो कर्मचारी होस् वा जनप्रतिनिधि या स्थानीय नागरिक सबैलाई धन्यवाद दिन चाहन्छु ।

आगामी दिनमा पनि स्वास्थ्यमा सहज पहुँच र सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिनमा हामी लाग्ने छौँ । नगरका जनतालाई स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि हामी अहोरात्र खटिएका छौँ र आगामी दिनमा पनि खटिने प्रतिबद्धता जनाउँछु । अनि अर्को कुरा नागरिक सामू मिडियाबाट आप्mना कुराहरू राख्न दिएकोमा तपाईँ र तपार्इँको पत्रिकालााई पनि धन्यवाद ।