बढ्दो अनुगमन, नसुध्रेको बजार

लिलाधर वली
दाङ, १८ असोज । घरेलु तथा साना उद्योग कार्यालयको एकथरी अनुगमन, स्थानीय पालिकाहरुको अर्को अनुगमन, आन्तरिक राजश्व कार्यालयको पटके अनुगमन, औषधि व्यवस्था विभागको अर्को अनि वाणिज्य तथा आपूर्ति विभागको समेत अनुगमन पटक–पटक हुने गरेको छ । स्थानीय पालिकाहरुले शहरी क्षेत्रमा मात्र नभएर ग्रामीण बस्तीमा रहेका साना बजारसम्म अनुगमनलाई विस्तार गरेका छन् । तर जति अनुगमन गरे पनि बजार सुध्रन भने सकेको छैन ।

विशेषगरी पर्व लक्षित तथा अन्य पटके अनुगमनका क्रममा जहिले पनि बजारमा भेटिने त्रुटिहरु रोकिन सकेका छैनन् । उही म्याद गुज्रेका सामान, उही उपभोग मिति र उत्पादन मितिसमेत नलेखिएका दैनिक उपभोग्य खाद्य सामग्री बजारमा व्यापक रुपमा देखिन छाडेका छैनन् । पालिका तथा घरेलुका अनुगमनले जहिले पनि एक पटकलाई चेतावनी भन्दै त्यही स्थानको दोहो¥याएर अनुगमन र कारबाही प्रक्रिया अघि नबढाउनुले अनुगमनले अपेक्षितरुपमा बजारलाई सुधार्न नसकेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् ।

यही गुमनाम कारबाहीका कारण चिया पसलहरुमा खुलेआम घरेलु मदिरा बिक्री भइरहेको छ । डाक्टरको प्रिस्किप्सनविना बेच्नै नपाइने मानसिक रोगीका औषधिहरु मेडिकलहरुबाट दुव्र्यसनीहरुलाई गोप्यरुपमा बिक्री वितरण हुँदै आएको छ । दर्ताविनाका पसल त अनगिन्ती रहेको अनुगमनका क्रममा पाइएको छ ।

सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा सञ्चालित पसलहरुबाट पनि उपभोक्ताहरु ठगिने गरेको गुनासो बढेपछि घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले अनुगमनलाई गाउँ–गाउँसम्म पु¥याएको हो । ग्रामीण क्षेत्रमा दर्ताबिना सञ्चालन भएका पसलहरुलाई राज्यको दायरामा ल्याउने र उपभोक्ताहरुलाई ठगिनबाट जोगाउने उद्देश्यले अनुगमनलाई सहरसँगै ग्रामीण क्षेत्रहरुमा पनि गरिएको घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले बताएका छन् ।

घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको अगुुवाईमा जिल्ला प्रशासन कार्यालय, दाङ उद्योग बाणिज्य संघ, जनप्रतिनिधि, प्रहरी, पत्रकारलगायतको उपस्थितिमा नियमित अनुगमनअन्तर्गत आइतवार घोराही उपमहानगरपालिका–१ अन्तर्गत सिमलतारा र ठुलीचौरालगायतका क्षेत्रहरुमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा सिमलतारा र ठुलीचौरमा सञ्चालित महरा किराना पसलहरुमा भेटिएको म्याद सकिएको १६ बोरा मैदा मिठो नष्ट गरिएको थियो । त्यस्तै अन्य होटल तथा पसलहरुमा उत्पादन मिति र सकिने मिति नराखेर प्याक गरिएको चाउमिन, डेट नराखिएको ससलगायतका सामग्री पसलबाट जफत गरेर नष्ट गरिएको थियो । त्यस्तै दिव्य खाने तेल प्रिन्टेड मूल्य १०८ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले बढी मूल्यमा बिक्री गर्ने पसलहरुलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको शाखा प्रमुख अधिकारीले बताए ।

‘अनुगमनका क्रममा एक पसलहरुमा म्याद सकिएको मैदा पिठो, उपभोग्य बस्तुमा उत्पादन मिति र सकिने मिति नराखेर सामग्री बिक्री गरेको पाइएको छ । त्यस्ता सामग्री जफत गरेर नष्ट गरेका छौ’, शाखा प्रमुख अधिकारीले भने– ‘पसल सञ्चालकहरुलाई आगामी दिनहरुमा त्यसरी सामग्री नराख्न समेत सचेत गराउने काम गरेका छौँ ।’ उनका अनुसार अनुगमनका क्रममा किराना पसलहरुमा तौल नमिलाएर राखिएका तीनवटा तराजु जफत गरिएको थियो ।

अनुगमनमा अधिकांश पसलहरु दर्ता नभई सञ्चालन भएको, पसलहरुको साइनबोर्ड, मूल्यसूची नराखेको, म्याद सकिएका वस्तुहरुसमेत बिक्री गर्ने गरेको पाइएको थियो । अनुगमन टोलीले भ्याद सकिएका बस्तुहरु जफत गरी सम्बन्ध्ीित पसलधनीको उपस्थितिमै नष्ट गरिएको शाखा प्रमुख अधिकारीले बताएका छन् ।

साथै दर्ता नभएर सञ्चालन भएका पसलहरुलाई प्रक्रिया पूरा गरेर सम्बन्धित ठाउँमा दर्ता गर्न निर्देशन दिइएको भन्दै अटेरी गर्ने पसलहरुलाई कानुनअनुसार कारबाही गर्ने घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख अधिकारीले बताए । उनले दर्ता नभएर सञ्चालन भएका पसलहरुलाई प्रक्रिया पूरा गरेर सम्बन्धित ठाउँमा दर्ता हुन समेत निर्देशन दिइएको भन्दै अटेरी गर्ने पसलहरुलाई कानुन अनुसार कारबाही गरिने बताए ।

‘साउनयता घोराहीमा एक सय बढी पसलहरुको अनुगमन गरिएको छ । त्यसक्रममा अद्याख बस्तु भेटिए नष्ट गर्ने गरेका छौँ र दर्ता भएका पसलहरुलाई प्रक्रिया आउन निर्देशन दिएका छौँ’, शाखा प्रमुख अधिकारीले भने– ‘निर्देशनमा गर्दा पनि अटेरी गर्ने पसल सञ्चालकलाई कारबाहीको प्रक्रियासमेत सुरु गरेका छौँ ।’ उनले अनुगमनका क्रममा पुनः दोषी देखिएका पसलहरुलाई छुट नदिइने समेत बताए । ‘पहिलोपटक गल्ती भेटिएकाले सचेत बनाउने मात्र काम गरेका छौँ’, उनले भने– ‘पुनः अनुगमनका क्रममा गल्ती भेटिए कानुनअनुसार कारबाही गर्ने गरेका छाँै ।

त्यस क्रममा धेरै व्यवसायीहरु कारबाही प्रक्रियामा आएका छन् ।’ घोराही उपमहानगरपालिकाले अनुगमनलाई प्रभावकारीरुपमा नियमित गर्न सके व्यवसायीहरु कानुनी दायरामा आउने र उपभोक्ताहरु ठगिनबाट बच्ने दाङ जिल्ला उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले बताए । उनले व्यवसायीहरुलाई तर्साउने गरी भन्दा पनि कानुनी दायरामा ल्याउने गरी अनुगमन प्रभावकारी र नियमित रुपमा सञ्चालन गर्नुपर्नेमा बताएका छन् ।

‘व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउन र उपभोक्ताहरुलाई गठिनबाट बचाउनका लागि अनुगमन नियमित हुन आवश्यक रहेको छ’, उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले भने– ‘नियमितरुपमा हुने अनुगमनले व्यवसायीलाई सचेत समेत गराउँछ ।’ अनुगमनमा जिल्ला प्रशासन कार्यालयका कृष्ण चौधरी, दाङ जिल्ला उद्योग बाणिज्य संघका वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, घोराही उपमहानगरपालिका वडा नं. १ का जनप्रतिनिधि, प्रहरीलगायतको सहभागिता रहेको थियो । यसअघि घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले घोराही बजारसँगै वडा नं. ५, वडा नं. ७, वडा नं. १७ लगायतका विभिन्न ग्रामीण क्षेत्रहरुमा सञ्चालित पसलहरुको अनुगमन गरेको थियो ।