दाङ, १७ असोज । घोराही उपमहानगरपालिका कार्यपालिकाले गरेको निर्णयको घोराही १४ का वडाबासीहरु विरोध गरेका छन् । घोराही उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले घोराही–१४ मा रहेको कल्पु धर्मशाला कुनै एउटा समुदायको मात्र बनाउन खोजेको भन्दै यसको विरोध गरेका हुन् । सबैको साझा सम्पत्तिको रुपमा रहेको कल्पु धर्मशालालाई सबैको अपनत्व हुनुपर्ने स्थानीय बासिन्दाहरुको माग रहेको छ ।
घोराही उपमहानगरपालिकाका स्थानीय बासिन्दाहरुको भावनाविपरीत अगाडि बढ्न खोजेको समेत स्थानीयहरुको भनाइ रहेको छ । समुदायमा सबैको सहभागितामा सञ्चालन गरिँदै आएको धर्मशालालाई कुनै समुदाय विशेषको बनाउन नहुने उनीहरुको माग छ । नगर कार्यपालिकाले निर्णय गरिसकेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतवार घोराही–१४ मा सर्बदलीय सर्बपक्षीय भेलाको समेत आयोजना गरिएको छ । भेलाले अर्को समिति निर्माण नहुँदासम्म नारायण गुप्ता अध्यक्ष रहेको समितिलाई निरन्तरता दिने निर्णयसमेत गरिएको बताइएको छ । त्यसैगरेर बैठकले विवाद समाधानका लागि अर्को बैठक गर्ने निर्णय गरेको घोराही उपमहानगरपालिकाका वडा नं. १४ का वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।
घोराही उपमहानगरपालिकाको कार्यपालिकाको यही असोज ६ गते बुधवार बसेको बैठकले कल्पु धर्मशाला व्यवस्थापनको जिम्मेवारी कौशधन विरादरी समाजलाई दिने निर्णय गरेको थियो ।
कसौधन विरादरी समाज दाङको २०७८ भदौ २३ गते कल्पु धर्मशाला समेत सञ्चालन लागि अनुमति पाऊ भनी घोराही उपमहानगरपालिकामा पेश गरेको निवेदनका साथ संलग्न कागजपत्र हेर्दा कल्पु धर्मशालासमेत (घोराही १४) रामजानकी मन्दिर घोराही–१५, शिव मन्दिर १४ र शिव सन्तोषी माता मन्दिर वडा नं. १४ समेतको हेरचाह, रेखदेख, संरक्षणसहित हरिकृतन भजन सञ्चालन व्यवस्थापन गर्ने जिम्मा कसौधन विरादरी समाजले गर्ने दाता (कल्पु बानियाले) २०२१ माघ ११ गते इच्छापत्र समेत प्रदान गरेको र सो सम्बन्धमा कल्पु धर्मशाला समेतको सञ्चालन व्यवस्थापनको जिम्मा कसौधन विरादरी समाजको रहने तत्कालीन समयमा विभिन्न संस्थागत निर्णय (जिल्ला प्रशासन कार्यालय दाङ २०५२÷०३÷२१ द. नं. १२५÷०५१÷०५२ स्थानीय विकास मन्त्रालय नगरपालिका व्यवस्थापन शाखा पं सं . ४७÷०६६÷०६७ मिति २०६६÷०४÷११) समेत भएको देखिएकाले उपर्युक्त सबै संस्थाहरु नगरस्तरीय संस्थाहरुको रुपमा नगरपालिका मातहत रहने गरी सञ्चालनको अनुमति कसौधन विरादरी सेवा समाजलाई दिने निर्णय गरेको उप महानगरपालिकाले जनाएको छ ।
यस प्रकारको निर्णय गरेपछि स्थानीय बासिन्दाहरुले विरोध गर्दै आएका छन् । यस प्रकारको निर्णय सच्चाउनसमेत स्थानीय बासिन्दाहरुले माग गरेका छन् । कार्यक्रममा नागरिक समाज दाङका अध्यक्ष केबी मसाल, घोराही उपमहानगरपालिका पूर्व उपमेयर दामोदर अधिकारी, कल्पु धर्मशालाका सचिव बसन्त गुप्ता, नागरिक समाज दाङका पूर्व अध्यक्ष चन्द्रराज पन्त, थम्मन चौधरी, घोराही खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष देबीबहादुर डि.सी.लगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण नारायण विवशले गरेका थिए ।