घोराहीमा मिडिया बहस : गुनासा पोख्दै भाग्दै

खेमराज रिजाल
दाङ, १७ असोज । पत्रकार महासंघ दाङ शाखाको समन्वयमा शनिवार घोराहीमा प्रतिनिधिमूलक सहभागिताबीच दाङका विभिन्न मिडियाका सम्पादकहरू, नागरिक अगुवा तथा कानुन व्यवसायीबीच मिडिया बहस कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष, निवर्तमान अध्यक्ष, प्रेस काउन्सिलका केन्द्रीय सदस्य सहित २८ जनाको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

कोरोना भाइरसको संक्रमणका कारण मिडियामा परेको असर र यहाँका मिडियाहरूमा समावेशीताको सवालमा आयोजित बहसमा सहभागी अधिकांशले आफ्ना गुनासा व्यक्त गर्दै कार्यक्रमबाट बाहिरिएपछि अन्ततः जम्मा ८ जना सहभागीकैबीच कार्यक्रम समापन गरियो । गुनासा पोख्ने र जिज्ञासा राख्नेहरूका जवाफ पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, निवर्तमान अध्यक्ष र प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारीले दिइरहँदा अधिकांश जिज्ञासा र गुनासा पोख्नेहरू कार्यक्रम स्थलबाट बाहिरिइसकेका थिए । बिहान ११ बजे तय भएको कार्यक्रम १२ बजे सुरु भएको थियो । सहभागीहरू भने आफ्ना गुनासाका जवाफको प्रतीक्षा समेत गर्न नसकेपछि कार्यक्रमको सान्दिर्भिकता नै खल्लो हुने अवस्था देखियो ।

सहभागीहरूमध्ये अधिकांशले दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण सञ्चार माध्यमहरू पनि धरासायी बनेको अभिव्यक्ति दिए । यद्यपि संक्रमणका कारण दाङ जिल्लाका कुनै पनि मिडियाका सञ्चारकर्मीहरू पेसाबाट विस्थापित हुनुपर्ने अवस्था भने आएन । सहभागीहरूले संक्रमणको समयमा आफू सम्बद्ध सञ्चार माध्यमहरूमा विज्ञापनकै समस्या रहेको बताउँदै मिडियालाई बचाउन स्थानीय पालिकाहरूले अर्थपूर्ण रूपमा सहयोग नगरेको अभिव्यक्ति दिएका थिए । साथै महिला सहभागिताका सवालमा पनि सहभागीहरूले आफू सक्षम भएको र केही गर्छु भन्ने अठोटका साथ सञ्चार क्षेत्रमा लागेको अवस्थामा सफल हुन सकिने अभिव्यक्ति दिए ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी मसालले निजी सञ्चार माध्यमहरूमा टिक्ने पारिश्रमिक नै उपलब्ध हुन नसक्दा केही कठिनाइ भएको बताउँदै यसमा मिडिया सञ्चालकहरू थप गम्भीर हुनुपर्ने अभिव्यक्ति दिए । कोरोना भाइरसको संक्रमणको प्रभाव सबैतिर परेको अवस्थामा मिडिया क्षेत्र पनि प्रत्यक्ष रूपमा प्रभावित भएको भन्दै अब सञ्चालकहरू आफैले मिडियालाई कसरी चलाउने भन्ने सवालमा गम्भीर हुनुपर्ने उनको सुझाव थियो । पत्रकार तथा रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले मिडिया सञ्चालकहरूले यस्तो विषम परिस्थितिमा आफूले लगानी गरेको मिडियालाई व्याकप दिनुको सट्टा मुनाफा खोज्ने प्रवृत्ति हाबी भएको बताए ।

पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियसनले संक्रमणको समयमा मिडियाहरू नरूकेको अभिव्यक्ति दिँदै विज्ञापनमा ८० प्रतिसत कटौती भए पनि स्टाफ कटौतीको अवस्था भने नआएको बताए । प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्टराईले आफ्नो पत्रिका निरन्तर चार वर्षदेखि प्रकाशित भइरहँदा मिडिया वर्गीकरणमा समेत पर्न नसक्नु दुखद् भएको उल्लेख गर्दैै यसमा पहल गर्न नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको ध्यानाकर्षण गराए ।

कानुन व्यवसायी मौसम आचार्यले अहिले पनि सञ्चार माध्यममा न्यूनतम पारिश्रमिकको मात्रै बहस भइरहेकाले अब श्रमविजी पत्रकारहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने सवालमा लाग्न सुझाव दिए । रेडियो मध्यपश्चिमका सञ्चालक मधुसूदन बैद्धले कोरोना संक्रमणले जहातहीँ छोएको अवस्थामा मिडिया पनि अछूतो नरहेको बताउँदै अब आवश्यक परेको अवस्थामा रेडियो तथा पत्रिका पनि मर्ज हुनेतर्फ अभ्यास सुरु गर्नुपर्ने बताए । पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदीप शर्माले पत्रकार र नागरिकबीचको दूरी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यो सम्बन्धलाई बढाउनका लागि सञ्चार जगत गम्भीर हुनुपर्ने सुझाव दिए । पत्रकार सुदीप गौतमले महिलाहरूलाई अझै पनि स्रोतका रूपमा स्वीकार गर्न केही समस्या रहेको उल्लेख गर्दै यसको सहजीकरण गर्न आवश्यक रहेको टिप्पणी गरे ।

मिडिया बहस कार्यक्रममा पत्रकार तथा अध्यापक सुदर्शन रिजाल, नागरिक समाजका निवर्तमान अध्यक्ष चन्द्रराज पन्त, अधिकारकर्मी विनोद केसी, रेडियो हाम्रो पहुँचका सम्पादक जितसागर जिएम, मेचीकाली अनलाइनका सम्पादक टीका बस्नेत, पत्रकार रञ्जिता शर्मा, गिरिराज नेपालीलगायतले जिज्ञाशा राखेका थिए ।

अभ्यासलाई अभिलेखीकरण गर्न बहस : अध्यक्ष पोख्रेल

यसै बहस कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले हरेक मिडिया तथा यस क्षेत्रमा भई आएका अभ्यासहरूलाई अभिलेखीकरण गर्नका लागि यो बहस तथा छलफल कार्यक्रमको आयोजना गरिएको बताएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत् नै यो कार्यक्रम सबै जिल्लाहरूमा हुने पनि उनको अभिव्यक्ति थियो ।

‘यो अनौपचारिक बहस मात्रै होइन, अभ्यासलाई अभिलेखीकरण गर्दै नीति निर्माणमा समेत सहयोग पुगोस् भनेर यो छलफलको आयोजना गरिएको हो’—अध्यक्ष पोख्रेलले भने । सबै क्षेत्रका बहसहरूलाई लिपिबद्ध गर्दै नेपाल पत्रकार महासंघले आवश्यक स्थानमा नीति निर्माण हुँदा यी विषयहरू समावेश गर्ने पनि आश्वासन दिएका छन् । सञ्चार जगतको बोली नै समाजको बोली हुनुपर्ने बताउँदै अध्यक्ष पोख्रेलले हरेक पत्रकार नागरिकप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पाठकको विश्वास गुमाए त्यस्तो मिडिया मिडिया नै नहुने बताउँदै पाठकहरूलाई विश्वासमा ल्याउने उपयुक्त माध्यमको खोजीमा लाग्न सञ्चारकर्मीहरूलाई सुझाव दिए । ‘हामीले केही गरेका पनि छौँ, दुइ वर्ष अघि औद्योगिक ऐनलाई संशोधन गरेर मिडियालाई सेवामूलक उद्योगका रूपमा स्थापित गर्न पनि सफल भएका हौँ’, निवर्तमान अध्यक्ष आचार्यले भने ।

कानुन संशोधनसँगै अब मिडियाले पनि ४ करोडसम्म लोन पाउनसक्ने भएको उनको अभिव्यक्ति थियो । सो कार्यक्रममा राप्तीपोष्ट दैनिकका प्रकाशक÷सम्पादक तथा प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारीले पत्रिका वर्गीकरणको काम अघि बढेको बताउँदै केही महिनामा यसको नतिजा आउने अभिव्यक्ति दिए । पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बसुन्धरा गौतमले गरेकी थिइन् । सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।