यम रेग्मी
२० बैशाख २०७८ । रातभरिको बेचैनीले होला । शरीरमा पीडाबोध छ । मनमा छटपटी नै छटपटी छ । दिउँसोपख एकछिन झपक्क आँखा लाग्छ । धेरैबेर सुत्न सक्दैन । मन ठेगानमा छैन । सुल्टो भन्दा उल्टो सोचिरहन्छ, मनले । बाको चर्को आवाजले एकैछिनमा आँखा खुलिहाल्छ । आज चार दिन भयो । ८५ वर्षका मेरा बालाई पखाला लागेको । खोकी छ । पखला छ । ज्वरो भने छैन । सुनपुरबाट पखला र खोकीको औषधी मगाए । खुवाएँ ।
अवस्था हेर्दा औषधीले खासै काम गर्लाजस्तो छैन । श्रीमती पनि स्याक–स्याक गरेको एक हप्ता भयो । उनमा पनि जाँगर छैन । भोक छैन । शरीरमा पहिलेजस्तो फुर्तिलोपन छैन । खोकी छ । शरीरमा हल्का ज्वरो छ । मनमा उत्साह छैन । उनको लागि पनि औषधी मगाएँ र खुवाएँ । ११ वर्षको छोरो युगीन रुघाले दुई दिनसम्म स्याक स्याक ग¥यो । दुई दिनपछि ऊ आफै निको भयो ।
७ वर्षकी छोरी योजना ठीक छे । ऊ आफ्नै धुनमा मस्त छे । आफ्नै संसारमा व्यस्त छे । उसको काम भनेकै खेल्ने हो । खाने हो । रमाउने हो । स्कूल बन्द छ । पढ्नु पर्दैन । घोक्नु पर्दैन । स्कूल बन्द छ । गृहकार्य गर्नुपर्दैन । आजबाट मेरी ७१ वर्षकी आमालाई पनि खोकी र पखलाले छोएको छ । छोरा र छोरी बाहेकका घरका चारै जना सदस्यहरू रोगले ग्रसित हुँदैछौँ ।
२१, बैशाख २०७८। बिहानै उठ्छु । पूर्वतिरको घरको पेटीमा जान्छु । बिहानी न्यानो घामले स्पर्ष गर्छ । धेरै दिनपछि आज आकाश खुलेको छ । कुर्सी लगेर केहीबेर पूर्वतिरको पेटीमा बस्छु । मायालु घामले शरीर न्यायो हुन्छ । मन शान्त हुन्छ । शरीरले आनन्दको भोक गरेर होला, झपक्क आँखा लाग्छ । कुर्सीमा भुसुक्क निदाएछु ।
जब साँझको मन लगाई नलाई खाना खान्छु । कोठामा छिर्छु । एकदिन अघिकै गतिमा । उही तरिकाले । उही प्रकारले । टाउकोको पछाडिको भाग दुख्न थाल्छ । यति बेस्सरी दुख्न थालेको छ कि म शब्दमा व्यक्त गर्न सक्दैन । पन्ध्र–पन्ध्र सेकेन्डको फरकमा चट्याङ पर्दा आकाशमा बिजुली मिल्किएझैँ मिल्किन्छ पछाडिको भाग । लगातार दुखिरहेको भए मर्थेँ होला । पन्ध्र–पन्ध्र सेकेन्डको दुखाइ बाच्न सकेको छु । रात छट्पटीमा बित्छ । सुत्न खोज्छु, सक्दैन । उठेर पलङमा बस्छु । दुखाइ अडिन सक्दैन । बाहिर आएर बस्दा केही सहज भएझैँ हुन्छ । जब भित्र जान्छु । उही पहिलेकै गतिमा दुख्न थाल्छ । एउटा रात पनि सयौँ रातजस्तो लामो लागिरहेको छ ।
२२, बैशाख २०७८। बिहानै मित्र दीपक शर्मा समीरलाई रातभरिको अवस्थाको बारेमा जानकारी गराउँछु । उनी साहित्यकार मात्र नभएर डाक्टरी काम पनि गर्छन् । उनको आफ्नै मेडिकल छ । एउटै बाइकमा बसेर कोइलाबास कार्यक्रममा गएका थियौँ, हामी । उनी कोभिडबाट संक्रमत भएका थिए । म जोगिएँ । उनीसँग कोभिड संक्रमणको पीडा र अनुभव पनि छ । उनको सल्लाह र श्रीमतीको दबाबले चेक गराउन बजार जाँदैछु ।
रातभरिको दुखाइ, बिरामी शरीर, दुःखी मन । जसले गर्दा बिहान मुखमा पानी पनि छिरेन । बाइक टिपेर बजार लाग्छु । जब घरबाट बाहिर पाइला राख्छु, पानी पर्न थाल्छ । पानीको प्रवाह नगरी बिहानै ६ः०० बजे नै बजारतिर लाग्छु ।
९ः०० बजेदेखि चेक हुन्छ, कोभिड । बाइकमा घरबाट दश मिनेटमा बजार पुग्छु । चाँडो पालो आउने आशाले गएको छु, यति बिहानै । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर नाम लेखाउँछु । २९ नम्बरमा दर्ज हुन्छ, मेरो नाम ।
शरीर ठीक छैन । शरीरमा तागत छैन । धेरै कमजोर भएको अनुभव भएको छ । सकी–नसकी कहिले तल गर्छु त कहिले माथि । कहिले यता गर्छु त कहिले उता । तर पनि समय बित्दैन । एक मनले चेक नगराई घर जाउँ भन्छ । अर्को मनले फेरि आइसकेपछि चेक गराएर मात्र जा भन्छ । सास फेर्न पनि गाह्रो भइरहेको छ । माक्स खोल्छु । माक्स खोल्दा एक्कासी लगाएको माक्सको डोरी चुडिन्छ ।
नजिकै मेडिकल छ । जाँगर नलाई–नलाई मेडिकलमा छिर्छु । एक प्याकेट माक्स किन्छु । केही मेडिसियनहरू किन्छु । फेरि पहिलेकै ठाउँमा आउँछु । उभिन्छु । उभिन गाह्रो भइरहेको छ । दुवै गोडा फत्रक्क गलेका छन् । बाइकमा अडेस लागेर उभिन्छु । क्रमिक रूपमा कोभिड चेक गर्ने मान्छेहरूको सङ्ख्या बढ्दैछ । हेर्दाहेर्दै डाँडा मानिसहरूको हुलले डाकिँदै गयो ।
कोही कोहीसँग छोइएको छैन । सबै एकअर्कासँग डराइरहेका छन् । आकाशबाट एक्कासी पानी दर्कन थाल्छ । छाता बोकेकाहरू छाता खोल्छन् । छाता नहुनेहरू कोही रूखको मुनि दर्गुछन् । कोही घरको सटरको पेटीतिर दगुर्छन् । म पनि पानीबाट टाउको जोगाउनु हेल्मेट लगाउँछु । सरासर रूखमुनि लाग्छु ।
केहीछिन पछि कोभिड चेक गर्न सुरु हुन्छ । एकपटकमा पाँच जनाको नाम आउँछ । पाँचौ पटक पालोमा मेरो पनि नाम आउँछ । म पनि गेटबाट भित्र छिर्छु । चार÷पाँच जना कर्मचारी तथा नर्सहरू मात्र छन् । धेरैले पिपी लगाएका छन् । सबै आफ्नो काममा व्यस्त छन् ।
म गेटभित्रको लाइनमा छु । सिमसिम पानी परिरहेको छ । आकाशभरि गमक्क बादल छ । पूर्वतिर हेर्दा बिहानै रात पर्ला जस्तो छ । लाइनमा उभिएको पनि २० मिनेट जति भयो । बिस मिनेटमा बिस औँला जति पनि लाइन सर्दैन । कहिले उभिन्छु, कहिले बस्छु । कहिले अडिन नसकेर नजिकैको डोरीको सहारामा उभिन्छु ।
आकाशबाट पानी परेकोप¥यै छ । थकाइ हो वा भोकले हो, कमजोरीले हो वा बिरामीले हो ? शरीरबाट खल्लखली पसिना आइरहेको छ । कपडा निथु्रक्क भिजेको छ, पानीले । शरीर निथ्रुक्क भिजेको छ, पसिनाले । कालको भन्दा पनि ठूलो मनमा कोभिडको डर छ । जब शरीरका थकान देख्छु । छिट्टै पालो आए कति हुँदो हो जस्तो लाग्छ । जब मनभित्र डरको महासागर भेट्छ । कहिले पालो नहाए पनि हुँदो हो जस्तो लाग्छ ।
धेरै समयपछि पालो आउदै छ । म अलि–अलि गर्दै नजिक जाँदैछु । नजिकै दुईवटा टेबुल छन् । एउटा टेबुलबाट नाम दर्ता हँुदैछ । अर्को टेबुलबाट शुल्क जम्मा गरिँदैछ । पहिलो टेबुलमा नाम दर्ता गर्छु । पर्चा हातमा लिन्छु । सरासर दोस्रो टेबुलतिर लाग्छु । म भन्दा अगाडि एक जना लेडिस छिन् । उनी पैसा जम्मा गर्दै छिन् । म उनको पछि छु । एउटा हातमा पर्चा छ । अर्को हातमा पैसा छ । लाइनमा बाँधेको डोरीको सहाराले उभिएको छु ।
एक्कासी मलाई खै के हुन्छ कुन्नि ? सारा संसार अँध्यारो हुन्छ । जताततै केही देख्दैन । म बेहोस भएर भुईमा पो ढलेछु । वरपरको परिवेश हेर्दा लाग्छ, आधा मिनेट जति बेहोस भएछु । जब होसमा आउँछु । आँखा खोल्छु । आफूले भूइँमा पल्टिएको अवस्थामा पाउँछु । सबै मानिसहरू मलाई परपरबाट घेरेका छन् । मेरो नजिक कोही छैन ।
मलाई छुने कोही छैन । पल्टेको ठाउँबाट थरर्र काप्दै जुरुक्क उठ्छु । हात दुखेको पाउँछु । हात हेर्छु । दुवै हातका डोरीले काटेर रगताम्य छन् । दायाँ गोडा बजारिएर होला राम्ररी टेक्न सक्दैन । टाउकामा लगाएको हेलमेट टाउकोमा छैन । उछुट्टिएर केही पर पुगेको छ । हेलमेट हातपाउ टेकर बल्ल बल्ल पुग्छु । टाउकोमा लगाउँछु ।
एक जना सिपाही मतिर परैबाट हेर्दै बोल्छन्, ‘ए भाइ ! भाइ !! अहिले कस्तो छ ? ठीक छ । यस्तो बिरामी मान्छे कोही आफन्त लिएर आउनुपर्छ नि ? यहाँ कोही चिनेका छन् तपाईंका ? उनी प्रश्नमाथि प्रश्न गर्छन् ।
आजसम्म नचिनेको मान्छे भनेर सम्बोधन गरेको रेकर्ड छैन । सायद मेरो दयनीय अवस्था देखेर होला । उसले भाइ भनेर सम्बोधन गरेको । उत्तरतिरको चौर हेर्छु । दुई जना चिनेको मान्छे देख्छु । फेरि तलतिरको लाइनमा हेर्छु । एक जना छिमेकी भेट्छु । सधैँ भेट्दा टाढैबाट बोलाउने उनीहरू आज देखेर पनि नदेखेझैँ गरेका छन् । नभेटेर पनि नभेटेझैँ गरेका छन् । उनीहरूको चाल देखेर टाउको दायाँ–बायाँ पारेर कोही छैन भन्दै इसारा गर्छु ।
एक जना सिपाही लाइनमा लागेका सबैलाई पछाडि सार्दै बोल्छन्, ‘यहाँलाई मस्तै धौ भा‘छ । पहिले यहाँलाई पालो दिउँ अनि तपाईंको चेक गरौँला ।’
उनको भनाई कसैले विरोध गरेनन् । सबैले मलाई पहिले नै पालो दिए । पुलिसको यस कार्यले म झनै कमजोर भएँ । अब बाच्दैन होला जस्तो लाग्यो । मैले इटलीमा बाटोमा हिड्दा हिड्दै पल्टेर मरेको मान्छे इन्टेरनेटमा देखेको थिएँ । आफूलाई अब मर्छुझैँ लाग्यो । आजभोलि विश्वमा मर्नेको संख्या ३÷४ प्रतिसत छ ।
यहाँ चेक गर्न आएकाहरू तीन सयभन्दा कम छैनन् । कोही पनि यहाँ म भन्दा कमजोर देखिन्नन् । कोही पनि बेहोस भएर ढलेका छैनन् । म मात्र ढलेँ । आँखाबाट एक्कासी तरर्र आँसु खस्यो । यस्तो लाग्यो अब म धेरै समय बाँच्दैन । कति चाँडै मर्ने दिन आइपुगेछ !