उमेरसँगै निम्तिएको मीठो चिन्तन

विनोद पोख्रेल

२०७७ साउन २३ गते

हिजोको दिन राम्ररी नै बित्यो । बजार गएँ । साथीभाइहरु अझ भनौँ अलि अपेक्षित साथीभाइहरु भेट भए । साना–ठूला स्तरका कुरा भए । त्यसैले घर फर्कन पनि अलि ढिलो भयो । यति दिनकोभन्दा एक घण्टा त्यही ढिलो गरेँ । घर आउँदा पनि कमै आउने आफ्नो पारिवारिक सम्बन्धले नजिककाहरु आएका । उनीहरुसँग पनि प्रशस्तै समय बिताइयो । पारिवारिक कुराहरु भए । जसमा नयाँ पुराना सबै प्रकारका सबै समयको विषयहरु उठे ।

समय गएको पत्तै भएन । एकैपल्ट ६ बजेर तीस मिनेट गएपछि सधैँझैँ सडकमा निस्कियौँ । एक प्रकारले रमाइलो व्यवस्ततामै बित्यो । यसरी दिन बिताउन पाए समय गएको पत्तै हुँदैन । सधैँ यस्तै भए हुन्थ्यो जस्तो लाग्छ । तर व्यवहारमा सधैँ यस्तो हुँदैन भन्ने पनि थाहा छ । आज कसरी बित्ने हो थाहा छैन । पहिलो कुरो त आज घोराही नजाने विचारमा छु । अझै आफू पनि नियमित हुन मन छैन । त्यस्तै अरुलाई पनि नियमित हुन वाध्य बनाउन पनि मन छैन । केही दिन जाने केही दिन नजानेमै दिन बिताउने मन छ ।

त्यसै गरिरहेको छु । घरमा कोही आएर अलि लामो समयसम्म बसेको हिजो पहिलो दिन यो लकडाउनपछिको । म पनि कतै गएको छैन । मेरो कुरा गर्ने हो भने लकडाउन नभएको बेला पनि अलि कमै अरुको घरमा जाने गर्छु । यो त एउटा थप निहुँ मात्रै हो । एउटा अघोषित नियमितता बनेको छ । बुधवार र शनिवार ४ या ५ जनाको छुट्टै समूह जुट्छ । पहिले शनिवार मात्रै जुट्ने समूह लकडाउनको अलि पछिल्लो समयबाट अथवा भनौँ भर्खरैबाट बुधवार पनि जुट्न थालेको छ । त्यो समूहले पनि दिन सजिलरी कटाउँछ । गनगन गर्ने स्वभाव उमेरले पनि थप्दै जान्छ जस्तो लाग्छ । समय कटाउन मुस्किल भए मैले पनि केही उपाय खोज्थेँ ।

मुख्य उपाय भनेको हिड्ने नै हो । कसैको घरमा नपसेर खोलैखोला अलि लामो समय हिंडेर अथवा गाउँमै पनि अलि परसम्म पुगेर दिन कटाएको पनि अनुभव छ । तर विभिन्न कारणले मुख्य कारण उमेरले थाकेर नै होला, त्यस्तो हिड्ने जागिर पनि छैन । अनि यस्ता समस्याको विकल्प भनेकै आफैसँगको गनगन नै हो । कतिपल्ट अरुलाई सुनाउने पनि गरिन्छ । कतिपल्ट एकलै मनमनै पनि गरिन्छ । फेरि यस्ता विषयका गनगनलाई कसैले वास्ता गर्दैन भन्ने पनि थाहा छ । तर यी गनगन आम कुरा हुने र मेरो परिस्थितिमा भएको सबैको गनगनमा छन् । समयलाई मेरो गनगनसँग वास्ता हुँदैन । उसको आफ्नो गति छ ।

त्यो पनि मलाई थाहा छ । मैले आफै पनि एकछिन् के गरेँ र फेरि अर्को क्षण केही अरु गरेर समय कटाएको छु । तर पनि समय कटाउन मुस्किल हुन्छ भन्ने सोच यथावत छ । केही त मनोविज्ञानको असर पनि हो । सधैँ समय एकै प्रकारले कुद्दैन । यत्ति मात्रै हो । यसमा आत्तिनुपर्ने कुरा नहुनुपर्ने हो । तर तथ्याड्ढ त छैन तै पनि धेरै मानिसको चिन्ता हुन्छ समय कसरी कटाउने भन्ने । यो एउटा अपेक्षा मात्रै हो । समय सजिलरी वा राम्ररी कटोस् भन्ने अपेक्षा । यस्तो अपेक्षा स्वाभाविक पनि हो ।

यहाँ आत्तिनु वा पाट्टिनु पर्दैन । तर पनि कहिलेकाहीँ यस्तो स्थिति पनि भोग्नुपर्छ । अनपेक्षित स्थिति धेरै कुरामा धेरै पल्ट भोग्नु त पर्छ । तर मानिसले यस्तो भोग्न नपरे हुन्थ्यो भने अपेक्षा गर्छ । यदि द्वन्द्वको परिणाम हो सायद समय कटाउने चिन्ता । मैले धेरैपल्ट आफ्ना यस्तै सोचलाई समेत बेकारका विषय भन्ने मान्छु । त्यसैले आफ्नो लेखाइसँग समेत धेरै पटक असन्तुष्ट पनि भएको हुँ । तर विषय नछानेर मनमा जे छ त्यही लेख्ने प्रतिबद्धता पूरा गर्न सकेकोमा त्यो पनि जस्ताको त्यस्तै अभिव्यक्ति गर्न सकेकोमा भने एक प्रकारको सफलता प्राप्त गरेको जस्तो लाग्छ र सन्तुष्ट हुन्छु ।

२०७७ साउन २४ गते

किन बीचमा मन थोरै डरायो । खाना खान त्यति मन नलाग्ने र अलि थाकेको अनुभव गरेँ । कारण मलाई अहिले पनि थाहा छैन । उमेरले गलामा वा केही समस्याको संकेत हो भन्न सक्दैन । समस्याभन्दा मेरो आशय आन्तरिक रुपमा बढ्नसक्ने स्वास्थ्यको समस्या हो । त्यसैले केही प्रिभेन्टिभ औषधीहरु किन्न पठाएको छु । आजबाट त्यो सुरु गर्ने हो । अहिलेकै कुरा गर्दा त त्यति साह्रो अप्ठेरो मानेको छैन । तर हिजो अलि अलि अप्ठेरो नै लागेको थियो ।

सायद वर्तमान महामारीले मेरो मानसिकतामा असर ग¥यो । अरु केही कारण भए पनि इम्युनिटी पावर घटेर कोरोनाले असर गर्छ कि भन्ने शंका कतै मनमा छ कि ? मलाई मर्नुको चिन्ता पटक्कै छैन तर पनि अरुको लाग आफूले पाउने दुःखको कल्पनाले भने बिरामी वा यस्ता समस्या केही हुन नपरे हुन्थ्यो जस्तो लाग्छ । त्यो अब पछिल्ला दिनहरुमा बढी लागेको अनुभव गरेको छु । नत्र यसरी ममा कमजोरी आउनुसक्छ भने औषधी नै खाने गरेको थिएन । यसपल्टदेखि कमजोरी आउन नदिन पनि औषधी खाने निर्णय गरेँ । यो निर्णय नै नौलो हो

। मैले मेरो कमजोरीलाई जस्ताको त्यस्तै अभिव्यक्त गरेँ । आज मनमा भएको कुरो त खुसी हो । हिजो नातिहरुलाई घरमै ट्रिमर लगाएर कपाल सानो गराउन पठाएँ । कस्तो मलाई थाहा छैन । सबैले ठिक छ भनेकोले म सहमत छु । त्योभन्दा पनि नातिले गरेको काम भएर बढी खुसी अनुभव गरेको छु जस्तो लाग्छ । आफ्ना छोराछोरी वा नातिनातिनी भनौँ आफ्नो सन्ताले केही सानो काम पनि अलि राम्ररी ग¥यो भने मैले व्यक्त नगरे पनि अलि बढी खुसी महशुस गर्छु । मलाई लाग्छ यो नियम सबैमा लागू हुन्छ ।

त्यस्तै यिनैले केही गल्ती गरे भने पनि पीडा अलि बढी नै हुन्छ । भनौ आफ्नाले सधैँ राम्रो मात्रै गरुन्, गर्न नसक्ने भए पनि नराम्रो नगरुन् भन्ने अपेक्षा हुन्छ । यो कति व्यावहारिक हो ? त्यो छलफलको विषय हो । गलती गर्दै नगर्ने मानिस पनि हन्छन् र ? मलाई नै त्यो विश्वास छैन । तर मेरो आफ्ना सन्तानले गल्ती नगरुन् भन्ने चाहन्छु । मेरो सोच कति ठिक र कति व्यावहारिक ? मेरो आशय राम्रोको मात्रै अपेक्षा गर्ने हो भने पनि जीवन त्यति व्यावहारिक हुँदैन । नराम्रोको अपेक्षा गरिँदैन र गर्नु पनि हुँदैन । त्यसकारण जीवन आफैमा एउटा सम्झौताको परिणाम हो कि ?

म जन्मनुदेखि मेले जन्माउन, हुर्किन, हुर्काउन, जीवन अगाडि बढाउन र बिताउन सबै सम्झौताका परिणाम त हुन् नि । सम्झौता कतिबेला व्यक्तिसँग कतिबेला समाजसँग, कति बेला प्रकृतिसँग कतिबेला परिवेशसँग गर्नु पर्छ । तर कस्तो समझदारी गर्नुपर्छ त्यो समयले निर्णय गर्ने हो । जसले त्यो निर्णय अनुसार समझदारी गर्नसक्छ सायद उसको जीवन अलि सहज हुन्छ । जसले सक्दैन उसको असहज हुन्छ । कहिलेकाहीँ त आफ्नै महत्वाकांक्षाहरु, आफ्नै अपेक्षाहरु, आफ्नै स्वार्थहरुसँग समेत आफै मध्यस्थ भएर सम्झौता गर्नुपर्छ ।

अझ अलि बढी यस्तै सम्झौता गर्नुपर्छ, सायद । त्यसपछि बल्ल अरु प्रकारका सम्झौताहरु अरु विषयहरु, अरु पक्षहरुको पालो आउँछ । मैले जेजति आज अभिव्यक्त गरेको छु त्यो नयाँ हो जस्तो त लाग्दैन । भाषा केही फरक होला । तर पनि जीवन पूरै अनेकौँ सम्झौताको भरमा बित्ने प्रक्रिया हो भन्ने मन लागेको छ । सम्झौतामा आफू बलियो हुने मौका पनि आउँछ होला । त्यस्तै आफू कमजोर हुने मौका पनि आउँछ होला । सबैलाई सहज रुपमा लिएर जीवन बिताउनुपर्छ । त्यसैले त जीवनमा हाम्रोको जति महत्व वा आकर्षण छ आँसुको पनि त्यत्तिकै महत्व र आकर्षण छ ।