उपचारका लागि आर्थिक सहयोगको अपिल

गोरक्ष समाचारदाता
तुलसीपुर, १५ असोज । तुलसीपुर–७ गणेशपुर निवासी सुशीला रानाले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेकी छन् । टाउकाको नशासम्बन्धी उपचारका लागि आर्थिक समस्या भएकाले उनले सहयोग गरिदिन अनुरोध गरेकी हुन् । टाउकामा नशा सुन्निएर फुट्ने अवस्थामा रहेपछि काठमाडौँ स्थित न्यूरो अस्पतालमा शल्यक्रियाका लागि २० लाख रुपैयाँ आवश्यक पर्ने भएपछि आर्थिक अवस्था कमजोर भएका कारण सहयोगको लागि सबैमा आग्रह गरिएको श्रीमान् प्रेम रानाले जानकारी दिए । यसैबीच तुलसीपुर–७ स्थित जानकी टोल विकास संस्थाले बिहीवार एक कार्यक्रमको आयोजना गरी सुशीला बचाऊ समिति गठन गरी आर्थिक रकम संकलन गर्ने निर्णय गरेको छ ।

बैठकमा वडाध्यक्ष टोपबहादुर केसीले आर्थिक समस्याका कारण उपचार गर्न समस्यामा परेकी रानाको उपचारका लागि वडा तथा अन्य तहबाट सहयोग गर्ने भन्दै सबैलाई सहयोगको लागि आग्रह गरे । उनले आ–आफ्नो तर्फबाट सबैले सक्दो सहयोग गर्न अपिलसमेत गरे । त्यस्तै समाजसेवी कृष्णकुमार गिरीले रानाको जीवनरक्षाका लागि आफूहरुले पनि सहयोग गर्ने भन्दै आर्थिक रकम संकलन गरी उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरे । उनले विभिन्न संघसंस्था, राजनीतिक दलका नेताहरुसँग समन्वय गरी सहयोगका लागि आग्रह गर्ने बताए । गिरीले यस्ता समस्याहरु सबैलाई आइपर्ने भन्दै थोरै धेरै सहयोगको लागि अपिल गरे ।

कार्यक्रममा समाजसेवी विश्वराज गौतम, टोल विकास संस्थाका अध्यक्ष गिरिराज भण्डारी, कार्यपालिका सदस्य चित्रा मल्लले पनि रानाको उपचारमा सहयोग गरिदिन सबैमा अपिल गरेकी थिएन् । वडाध्यक्षको उपस्थितिमा भएको भेलाले गिरिराज भण्डारीको संयोजकत्वमा ५ सदस्यीय सुशीला बचाऊ समिति गठन गरी सहयोग संकलन गर्ने निर्णय गरेको टोल समितिका सचिव दण्डबहादुर मल्लले जानकारी दिए । रानाको समयमै उपचार नभए सुन्निएको टाउकाको नशा फुट्ने भएकाले उनको उपचारमा सहयोग गरी जीवन बचाइदिन अपिल गरिएको छ । उनलाई सहयोग गर्न चाहनेले ९८६६५१७९०१ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।