नविनतम् कांग्रेस निर्माणको शपथ
बालाराम खड्का
तुलसीपुर, १५ असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण तथा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पदभार ग्रहण तथा शपथग्रहण कार्यक्रममा कांग्रेस नेताहरुले समृद्धताको साम्राज्यवाद नेपाली कांग्रेसको लक्ष्य हुनुपर्ने बताएका छन् भने नवनिर्वाचित नेतृत्वले नविनतम् कांग्रेस निर्माणको शपथ खाएका छन् ।
सबै तहका नेता कार्यकर्ता र नवनिर्वाचित पदाधिकारीहरुको उपस्थितिमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टीलाई मजबुत र बलियो बनाउने बेला आएको बताएका थिए । निर्वाचन समितिका उपसंयोजक कुमारराज श्रेष्ठको अध्यक्षता तथा कांग्रेसका निवर्तमान सभापति घनश्याम रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी नेताहरुले १४औं महाधिवेशनअन्तर्गत पार्टीको आन्तरिक चुनावमा एकअर्काबीच प्रतिस्पर्धा भए पनि अब भने संगठन निर्माणमा एकताबद्ध हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेसका निवर्तमान सभापति घनश्याम रेग्मीले समृद्धताको साम्राज्यबाद नेपाली कांग्रेसको लक्ष्य भएको बताउँदै त्यसलाई पूरा गर्न सत्तामा जानुपर्ने बताए । यो अभियानमा तलैदेखि पार्टी सच्चिएर जानका लागि आवश्यक वातावरण निर्माण गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई उनको आग्रह थियो । महाधिवेशनको मुख्य पाटो भनेकै वडा र गाउँनगर अधिवेशन भएको बताउँदै अब कांग्रेसलाई चलायमान र गुटरहित बनाउन माथिभन्दा यिनै तल्लो तहका नेतृत्वहरुको अहम् भूमिका हुने पनि प्रमुख अतिथि रेग्मीको अभिव्यक्ति थियो ।
‘हामीहरु ७ सय सक्रिय सदस्य रहेको स्थानमा पनि अघिल्ला निर्वाचनमा ६ सय मतमात्रै पाएको तथ्य हामीसँग छ, यसलाई सुधार गर्न अब हरेक पालिकाका नेतृत्वको काँधमा जिम्मेवारी आएको छ’, प्रमुख अतिथि रेग्मीले भने । एकजना सक्रिय सदस्यले कम्तीमा पनि ४ मत तान्न सके नेपाली कांग्रेस आगामी हरेक निर्वाचनमा विजयी बन्नसक्ने बताउँदै तल्लो तहका नेता कार्यकर्ता गम्भीर भएर आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई सत्तामा पु¥याउन लाग्नुपर्ने पनि उनको सुझाव थियो । हारको कारण आफ्ना क्रियाकलाप र आफ्ना गतिविधिहरु नै रहने भन्दै त्यसमा पनि एक पटक समीक्षा गर्नुपर्ने उनको अभिव्यक्ति थियो । ‘एउटै सिद्धान्त, एउटै उद्देश्य, एउटै आदर्श हुँदाहुँदै पनि हामी केहीले हारेका छौं, हारको कारण हामी आफै हौं भन्नेमा पनि आत्मसमीक्षा गर्न जरुरी छ’, रेग्मीले भने ।
सोही अवसरमा नवनिर्वाचित नेतृत्वलाई बधाइ तथा शुभकामना दिँदै संविधान सभाका सदस्य बुद्धिराम भण्डारीले पार्टीको आन्तरिक निर्वाचनमा हार–जित स्वाभाविक भएको भन्दै अब एक भएर जानुपर्ने बताए । उनले चुनावी प्रतिस्पर्धामा हार–जित स्वाभाविक भएको भन्दै कसैको जित र हार नहुने बताए । ‘म धेरै चुनावमा हारेको छु, जितेको छु, हार–जित प्राविधिक कारण हो’, उनले भने । उनले जितेका, हारेका सबैलाई शुभकामना दिए ।
त्यसैगरी कार्यक्रममा कांग्रेस नेता तथा प्रदेशसभा सदस्य शंकर गिरीले लोकतन्त्रको बिउटी पक्ष निर्वाचन भएको भन्दै सहमति हुन नसके एकअर्काबीच चुनाव हुने प्रक्रियाअन्तर्गत नै नगर कार्यसमितिको निर्वाचन भएको भन्दै राजनीतिमा हारेर पनि कोही नसकिने बताए । ‘म पनि धेरै पटक चुनाव लडे तर म हारेर कहिले रुकिनँ, म पहिले हारे पनि अहिले पार्टीबाटै प्रदेशसभा सदस्य भए’, उनले भने । उनले चुनाव हारे भनेर कुण्ठा र संकीर्णता कोही कसैले पनि लिन नहुने बताए । उनले युवाको सोच र जाँगरबाट नयाँ कांग्रेस बलियो कांग्रेस गराउनुपर्ने बताए ।
उनले पार्टीभित्रको चुनावलाई स्वाभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताए । निर्वाचितहरुले अलिकति झुकेर पराजित भएकालाई माथि उठाउने र पराजितहरु अलिकति माथि उठेर पार्टीसँगको सम्बन्धलाई अझै बलियो र प्रगाढ बनाउन पनि उनको सुझाव थियो । एकआपसका तिक्तताका कारण कांग्रेस कमजोर भएको बताउँदै उनले आपसी तिक्ततालाई हटाएर अघि बढ्न पनि नयाँ नेतृत्वलाई सुझाव दिए ।
त्यस्तै कार्यक्रममा कांग्रेस नेता महादेव शाहले नवनिर्वाचित टिमलाई बधाइ दिँदै कांग्रेसलाई संगठित बनाउन लाग्नुपर्ने बताए । उनले कांग्रेसमा प्रशिक्षणको कमी रहेको भन्दै सबै क्रियाशील सदस्यहरुलाई प्रतिशिक्षित गराउनतर्फ लाग्न सुझाव दिए । ‘अहिले क्रियाशील सदस्यता लिएकाले यो क्रियाशील केसका लागि हो भन्ने थाहा छैन, गलत प्रयोग भएको छ यसलाई बुझाउन जरुरी छ’, उनले भने ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले चुनाव लोकतान्त्रिक अभ्यास भएको भन्दै अब कांग्रेस एकढिक्का गराउनुपर्ने बताए । उनले कांग्रेसलाई बलियो र एकताबद्ध गराउन सबै लाग्नुपर्ने भन्दै सबै निर्वाचित पदाधिकारीलाई बधाई दिए । त्यसैगरी कार्यक्रममा महिला नेतृ सुष्मा गिरी, देबीका नेपालीले चुनावमा एकअर्काबीच प्रतिस्पर्धा भए पनि अब एक हुनुपर्ने बताए । उनीहरुले पार्टीमा सबैलाई मिलाएर संगठन निर्माणमा लाग्न सुझाव दिए । कार्यक्रममा कांग्रेस नेता कृष्णकुमार गिरीले नवनिर्वाचित पदाधिकारीलाई बधाइ ज्ञापन गर्दै सबैलाई एक बनाएर लैजान सुझाव दिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर सभापति सुरेश हमालले पार्टीको आन्तरिक चुनावमा आफूहरु प्रतिस्पर्धामा गएको भन्दै जित–हारको रुपमा यसलाई नलिएको बताए । उनले आफूसँग प्रतिस्पर्धा गरेकोहरुले पनि चुनाव हारेर निराश हुनुनपर्ने भन्दै सबैलाई मिलाएर लैजाने बताए । ‘हामीहरुले सिष्टम र विधिलाई मानेर चुनावमा गएको हो एउटा टिमको नेतृत्व मैले गरे अर्कोको अनिल भाइले, अब नेताहरुले पनि सबैलाई समेटेर लैजाने वातावरण गराउनुपर्छ’, सभापति हमालले भने । उनले अब सबै पक्षलाई समेटेर कांग्रेसलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबै लाग्नुपर्ने बताए ।
उनले आफूहरु सधै पुलको काम गर्ने भन्दै गलत संस्कृतिलाई सच्याउँदै पार्टीको हकहितका लागि आफूहरु लाग्ने बताए । उनले कांग्रेसको संगठनलाई सुदृढीकरण गर्दै कांग्रेसलाई चलायमान गराउने बताए । उनले नगरको कार्यालय स्थापनाका साथै क्षेत्रीय पार्टी कार्यालयमा भौतिक विकासमा आफूहरु लाग्ने भन्दै त्यसमा सबैले सहयोग गर्नुपर्ने बताए । ‘संगठन निर्माणसँगै कांग्रेसको भौतिक अवस्थामा पनि सुधार ल्याउने हाम्रो प्रयास हुनेछ’, उनले भने ।
शपथ ग्रहण कार्यक्रममा हमालले प्रत्येक वडामाहरुमा स्वास्थ्य शिविर, सीप विकासका कार्यक्रम सञ्चालन गर्ने र संगठनलाई बलियो बनाउने आफूहरुको पहिलो अभियान हुने बताए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, नगर कार्यवाहक सभापति भीमप्रसाद भण्डारी, पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मीलगायतले शुभकामना दिएका थिए ।