दाङ, १५ असोज । बहिराका समस्याका बारेमा स्थानीय सरकारसँग छलफल गरिएको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा राप्ती बहिरा संघ दाङको समन्वयमा बहिराको समस्या समाधानमा स्थानीय सरकारको भूमिका विषय अन्तत्र्रिmया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्ने सहभागी बहिराहरुले आफूहरुले आफ्ना समस्या राख्ने गरे पनि भाषा नबुझ्दा समस्या हुने गरेको बताएका थिए । ‘आफ्ना समस्या लिएर सम्बन्धित कार्यालयमा जान्छौँ तर त्यहाँ न हामी हाम्रो कुरा बुझाउन सक्छौ, न उहाँहरुले हाम्रो कुरा बुझ्न सक्नुहुन्छ । आफ्ना कुराहरु प्रष्टसँग राख्न नसक्नु नै पहिलो समस्या हो’, बहिरा संघका सचिव डम्बर वलीले भने ।
बिरामी हुँदा हस्पिटलमा गयो त्यही समस्या हुन्छ, आफ्नो कुरा बुझाउन सकिँदैन । ‘हामीसँग क्षमता नभएको होइन तर क्षमता अनुसारको काम पाउन मुस्किल छ’, टीकाराम कुँवरले भने । हामीसँग भएको क्षमताको पहिचान गर्दै रोजगारी र रोजगारी अनुसारको आयआर्जनको पाटोलाई बलियो बनाउन पाए हुने भन्ने उनले अपेक्षा व्यक्त गरे । घोराहीकी सरस्वती चौधरीले सीप भएकाहरुलाई कामको व्यवस्थापन तथा सीप नै नहुनेहरुका लागि सीपको व्यवस्थापन गर्न आवश्यक भएको बताइन् । हामी छरिएर काम गर्दा असफल हुन सक्छौँ, तर एकीकृतरुपमा सामूहिक तरिकाले काम गर्दा सफल हुने उनको भनाइ रहेको छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सबैले आफ्नो क्षमता वृद्धि गर्नुपर्ने बताए । आफूलाई कमजोर ठान्ने प्रवृत्ति हटाउनुपर्ने उनको भनाइ रहेको छ । आत्मनिर्भर बन्नका लागि अगाडि बढ्नुपर्ने उनको भनाइ रहेको छ । बहिराहरुलाई सीप तथा क्षमताको लागि स्थानीय सरकारले तयार रहेको बताए । यसका लागि काम गरिराखेको र आउँदा दिनमा पनि निरन्तरता दिने उनको भनाइ रहेको छ ।
यसका लागि दस्तावेज बनाएर अगाडि बढ्न समेत उनले आग्रह गरे । ‘आफूहरुलाई आवश्यक पर्ने योजनाका बारेमा दस्तावेज बनाएर समयमा नै पेश गर्नुपर्दछ जसले कार्यान्वयनमा ल्याउन समेत सहज हुनेछ’, प्रमुख केसीले भने । बहिराहरुको बारेमा स्थानीय सरकार हिजो पनि सकारात्मक भएको भन्दै भोलिका दिनमा पनि सकारात्मक रहने समेत उनले बताए । घोराही उपमहानगरपालिकाका महिला तथा बालबालिका विकास तथा सामाजिक शाखाका अधिकृत गुप्ता अधिकारीले घोराहीले तथ्यांक संकलन गर्ने काम गरिरहेको बताइन् ।
यसमा सहयोग गर्न समेत उनले आग्रह गरिन् । आफूलाई परेका समस्याका बिषयमा स्थानीय सरकारलाई जानकारी दिन उनले बताइन् । कार्यक्रम राप्ती बहिरा संघकी अध्यक्ष रिता चौधरीको अध्यक्षतामा भएको थियो । संघका उपाध्यक्ष रुपा विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण छवि पुरीले गरेका थिए ।