भूवन पोख्रेल
पर्यटन नेपालमा सबैभन्दा ठूलो उद्योग हो र यो विदेशी मुद्रा र राजस्वको सबैभन्दा प्रमुख स्रोत हो । संसारका दश उच्चतम हिमाल नेपालमा छ । पर्वतारोहणका लागि प्रमुख गन्तव्य हो । विविध धार्मिक स्थलहरु, सांस्कृतिक तथा भौगोलिक र वातावरणीय विविधता महत्वपूर्ण आकर्षणहरु हुन् । व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ ।
विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउँदै आएको छ ।
देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पु¥याउन संस्कृति र पर्यटन क्षेत्रको विविधिकरण, विस्तार र प्रबद्र्धन गरिनु आवश्यक छ । पर्यटन क्षेत्रको विकास र विस्तार सहित आन्तरिक र बाह्य हवाइ यातायात विकास गरी, विस्तार गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन आवश्यक छ ।
नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्व बढ्दै गए अनुरुप यसलाई प्रमुख प्राथमिकताको क्षेत्रमा राखिएको छ । नेपालको सांस्कृतिक विविधता अनुपम रहेकाले यसलाई संरक्षण, विकास र प्रबद्र्धन गर्दै यसको आर्थिक उपयोग एवं पर्यटनको मुख्य उत्पादन र गन्तव्यको रुपमा विकास गर्न आवश्यक हुनुका साथै हवाई सेवाले भोगोलिक विषमतामा यातायात सेवा उपलब्ध गराउनुको अतिरिक्त वाह्य र आन्तरिक रुपमा पहुँच विस्तार भई पर्यटन सेवामा समेत पर्याप्त योगदान पु¥याउने भएकाले यी तीनवटै क्षेत्रलाई एकीकृत रुपमा अगाडि बढाउन एउटै मन्त्रालयको कार्यक्षेत्रमा राखेको पाइन्छ ।
नेपाल सुन्दर, शान्त, विशाल, दक्षिण एसियामा पर्ने आफैमा सानो र विविधताले भरिपूर्ण राष्ट्र नेपाल हो । नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण, सांस्कृतिक सम्पदा र कलाकृतिको खानी, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हो । यो अनेकतामा एकता भएको देश हो । नेपाल आफैमा रोचक, अनौठो र चाखलाग्दा रीतिरिवाज, चालचलन रहेको देश हो । यहाँका रीतिरिवाज, चालचलन, संस्कृति, परम्परा, भेषभुषा, संस्कार, जैविक र भौगोलिक विविधताले सारा संसारलाई नै चकित तुल्याएको छ ।
संसारको सबैभन्दा होचो कालीगण्डकी नदीमा रहेको अन्ध गल्छी, सबैभन्दा अग्लो हिमाल सगरमाथा (८८४८ मि), संसारको सबैभन्दा अग्लो पास थ्रोइ पास (५४१६ मि) र संसारमा शान्तिको ज्योति छर्ने शान्तिको अग्रदूत महामानव गौतम बुद्धले पनि नेपाल र नेपालीको गौरवलाई संसारभरि चिनाएका छन् । नेपालमा समुद्र सतहबाट ६१ मिटरदेखि संसारकै सबैभन्दा अग्लो उचाइ ८४ मिटरसम्मको भूभाग पर्दछ । यसको उत्तरमा अटुट शृंखलाबद्ध रुपमा रहेको अग्ला होचा हिमालहरुको लहरबीच पहाडी क्षेत्रमा अग्ला होचा हरिया पहाड, डाँडाकाँडा, भिरपाखा, लेखबेसी, खोच र कुनाकन्दराहरु रहेका छन् भने दक्षिणी तराईमा चारकोषे झाडी, हरिया जंगल, अन्नभण्डारको स्रोत समथर फाँटहरु रहेका छन् ।
नेपालका विविध सम्भावनाहरुमध्ये पर्यटन व्यवसाय पनि अति नै सम्भावना भएको राष्ट्रको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने व्यवसाय हो । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय विश्व पर्यटन संगठनको आह्वानमा विश्वभरि सेप्टेम्बर २७ का दिन विभिन्न कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइन्छ । हालसम्म १५८ देशहरु सदस्य रहेको यो अन्तर्राष्ट्रिय संस्थाले सन् १९८० देखि नै यो दिवस मनाउँदै आएको छ ।
उक्त संस्थाको सदस्य भएकाले नेपालले पनि प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी नेपालका पर्यटन गन्तव्य स्थलहरुको प्रबद्र्धन र व्यवस्थापनमा सहयोग पुग्ने गरी पर्यटन दिवस मनाउने रहेको छ । यस वर्ष संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय विश्व पर्यटन संगठनले विविध कार्यक्रमको तयारी गरेको छ ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०३० हासिल गर्नको लागि सो लक्ष्यको बुँदा नं. ८९ मा उल्लेख भए अनुसार पनि लक्ष्य अनुरुप नीति तर्जुमा गरी दिगो पर्यटन विकासका मध्यमबाट उल्लेख्य संख्यामा रोजगारीको सिर्जना हुनुका साथै स्थानीय उत्पादन वृद्धि र संस्कृतिको जगेर्ना हुनसक्ने बताइएको छ । तसर्थ, पर्यटनले दिगो विकसा अर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपालको प्रशंग जोड्दा नेपाल वास्तवमै विश्वकै एक नमुना पर्यटन गन्तव्य स्थलका रुपमा परिचित भइसकेको छ ।
तथापि, पर्यटन विकासका न्यूनतम पूर्वाधारहरुको कमी, पर्यटन गन्तव्य स्थलको उचित संरक्षण, विकास, व्यवस्थापन, आवास, सुविधा र प्रबद्र्धन गर्न नसकिएकाले अन्य पर्यटन गन्तव्य मुलुकहरुको तुलनामा ज्यादै पछाडि परेको छ । विश्वव्यापी तथ्यांकसँग दाँजेर हेर्दा पर्यटन आगमन तथा नेपालको हिस्सा शून्य दशमलव एक प्रतिशत र दक्षिण एसिया क्षेत्रका मुलुकहरुमध्ये नेपालको हिस्सा शून्य दशमलव ५ प्रतिशत मात्र छ । त्यसैगरी आम्दानीतर्फ पनि विश्वको कूल कारोबारमध्ये शून्य दशमलव ७ प्रतिशत र दक्षिण एसिया क्षेत्रको कारोबारमा एक दशमलव ४ प्रतिशत आम्दानीको हिस्सा प्रापत गरेको छ । नेपालको मनोरम पर्यटन गन्तव्यको तुलनात्मक क्षमताको हिसाबले यो ज्यादै नगन्य हो ।
वास्तवमा भन्ने हो भने नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नै पर्यटन विकासको सुरुवात भएको हो । प्रथम पञ्चवर्षीय योजनादेखि नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना भएको कुरालाई महसुस गरी कार्यक्रम तर्जुमा पनि भएको हो । सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हरजोग र ल्याचनेले ८०९२ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गरेपछि अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रा र मनाङ हुँदै मुस्ताङ पार गर्ने थोराङपासको पदयात्रा विश्व पर्यटनमा नै लोकप्रिय पदयात्रा मार्ग बन्न पुगेका थिए ।
पर्यटन उद्योगमा देखिएका चुनौतीहरुको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्र समेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ । पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्डका रुपमा रहिआएको छ । यो उद्योगको माध्यमद्वारा देश विकासको गतिलाई तीव्रता दिने महत्वपूर्ण औजारका रुपमा रहेको छ । पर्यटन क्षेत्रमा भएको अध्ययनले समेत आर्थिक वृद्धि र पर्यटन उद्योगबीचमा सकारात्मक सहसमबन्ध रहेको देखाएको सन्दर्भमा नेपालले पनि यस उद्योगको विकास र विस्तारले आर्थिक बृद्धि हुने पाइएको छ ।
पर्यटन नेपालका लागि लाभको क्षेत्र हो तर यस क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुनसकेको छैन । जसको कारणले यो क्षेत्रबाट आशातीत रुपमा उपलब्धि हासिल भएको छैन । नेपालको परम्परागत सांस्कृतिक, ट्रेकिङ र पर्वतीय पर्यटनलाई कसरी दिगो र थप आकर्षक बनाउने भन्ने चुनौती थपिएको छ । नेपालको पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका शृंखलाबद्ध हिमालहरु, विभिन्न किसिमका झरनाहरु, पाखा पखेरा, टार, हरिया जंगल, झाडी, यहाँ रहेका नागबेली नदीनालाहरु, खोच, कुनाकन्दारहरु, सांस्कृतिक विविधता, कला, भेषभुषा, संस्कृति आदि कुराहरुले पर्यटन व्यवसायमा विकासका विभिन्न सम्भावनाहरु बढाएका छन् ।
नेपालमा लगभग १२५ जातजातिहरु बसोवास गर्दछन भने १२३ भाषाको प्रयोग हुन्छ । जसको आ–आफ्नै चालचलन, रीतिरिवाज, भेषभुषा, संस्कार र चाडवाड रहेका छन् । त्इसैले भनिन्छ वर्षमा हुने दिनहरुभन्दा नेपालीले मनाउने विभिन्न चाडपर्वहरु एवं संस्कारजन्य क्रियाकलापहरु धेरै छन् । संसारमा पाइने २ लाख ४८ हजार ४ सय २८ वनस्पतिमध्ये ७ हजार वनस्पति नेपालमा नै पाइन्छन् । नेपालमा रहेका विभिन्न राष्ट्रिय निकुञ्जहरुमध्ये चितवन र सगरमाथा राष्ट्रि निकुञ्ज विश्वसम्पदा सूचीमा रहेका छन् ।
त्यस्तै विभिन्न धार्मिक स्थल एवं सांस्कृतिक सम्पदाहरुमध्ये पशुपतिनाथको मन्दिर, चाँगुनारायण, लुम्बिनी, स्वयम्भू, बौद्ध, काठमाडौं, भक्तपुर र ललितपुर दरबार स्क्वायर विश्व सम्पदा सुचीमा पर्दछन् । संसारभरमा रहेको चौधवटा आठ हजार मिटरभन्दा अग्ला हिमालहरु मध्ये आठवटा हिमाल नेपालमै रहेका छन् । नेपालमा भएका यी अथाह प्राकृतिक स्रोत साधन, सांस्कृतिक सम्पदाहरु फरक भौगोलिक बनोटबाट रीतिरिवाज, चालचलन, सांस्कृतिक कलाशैली आदिले गर्दा नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य स्थल बन्न पुगेको छ ।
नेपालजस्तो भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्रका लागि पर्यटन विकासको आवश्यकता छ । पर्यटन क्षेत्रको राम्रो विकास हुनसकेमा नेपालको आर्थिक वृद्धि भई नेपालीको जीवन स्तर उकासिन्छ । नेपाल र नेपालीले विश्वभरि प्रसिद्धि पाउँछन् । जति बढी पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न सकिन्छ त्यति नै बढी रोजगारीका अवसरहरुको सिर्जना हुन्छ, विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
पर्यटकको संख्यामा वृद्धि गर्न सकिएमा यससँग सम्बन्धित होटल, रेष्टुरेण्ट, ट्राभल एजेन्सी, ट्रेकिङ, ¥याफ्टिङ, पर्वतारोहण संघ, हस्तकला उत्पादक उद्योग, पथ प्रदर्शक, भरिया आदि सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारीका अवसर प्राप्त गर्दछन् । जसले गर्दा नेपाल र नेपालीको चौतर्फी विकासमा सहयोग पुग्दछ । नेपाली रोजगारीका लागि विदेश पलायन हुनु पर्दैन । यसका लागि नेपाल सरकारले स्पष्ट कार्यनीति तथा रणनीति बनाई त्यसको कडाइका साथ कार्यान्वयन गर्नु पर्दछ ।
कोरोना भाइरस महामारीले विश्वभरि नै सबैभन्दा मारमा परेको भनेको पर्यटन क्ष्ँेत्र नै हो । कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष औपचारिक रुपमा स्थगित भयो । कोरोना भाइरसकै कारण विदेशमा गरिने भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम रोकिए । नेपालमा जो पर्यटक भएर यहाँ आउँथे ती मानिस नै बेरोजगार हुने अवस्था छ । यो क्षेत्रमा ठूलै खति हुने देखिन्छ । एक त जीवन र जीविका नै खतरामा परेपछि बाहिर डुल्न निस्किन सक्नेको संख्यामा ठूलो कटौती भएको देखिन्छ भने अर्कोतिर चाहना नै भए पनि लकडाउन र सामाजिक दूरी कायम राख्नुपर्ने समयमा मानिस घुमफिरमा उत्सुक हुँदैनन् ।
कोरोना भाइरस महामारीका कारण देशको दोस्रो सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धरासायी भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउन अगाडि नै अन्तर्राष्ट्रिय उडान ठप्प थिए । सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाएर २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको नेपालले वर्षको सुरुदेखि नै कोरोना भाइरस संक्रमणका कारण क्षति बेहोर्नुपरेको थियो । बायुसेवा, होटल क्षेत्र, यातायात, रेष्टुरेण्टजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरु शिथिल भएका छन् ।
नेपालमा पर्यटनले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, साढेतीन लाखलाई मौसमी रोजगारी दिएको अनि पत्यक्ष समेत गरी ११ लाख मानिस आश्रित रहेको देखिन्छ । पर्यटकलाई घुमाएर प्राप्त हुने सेवा शुल्कबाट गुजारा गर्ने पर्यटक गाइडहरु अहिले कामविहीन भएका छन् । धरासायी पर्यटनलाई उठाउने क्रममा सबैभन्दा पहिले आन्तरिक पर्यटनलाई दिनुपर्ने देखिन्छ । त्यसपछि दोस्रो चरणमा भारत र चीनजस्ता छिमेकी देशका पर्यटक भिœयाउनु पर्छ । महामारी पछिको अवस्थामा मानिसहरु धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमा आकर्षित हुने विश्वभरका पर्यटनविदहरुले बताएका छन् । यसको लाभ लिने रणनीति नेपालले बनाउनु पर्छ ।