विभूषित गिरीलाई ज्ञापन

तुलसीपुर, १२ असोज । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजनामा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य, दाङ शाखा सभापति एवं आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी आँखा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिबाट ‘प्रवल जनसेवा’ पदकबाट विभूषित भएकोमा अस्पतालले बधाई ज्ञापन गरेको हो ।

राप्ती आँखा अस्पतालका मेसु नेत्र विशेषज्ञ डा. सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गिरीले स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा खेलेको भूमिकाको योगदानको कदर गदै सम्मानित भएको भन्दै बधाइ ज्ञापन गरेका थिए । सहभागीहरुले यो पुरस्कारले संस्थाको गरिमा बढाएको भन्दै सबै गौरवान्वित भएको बताएका थिए । कार्यक्रममा विभूषित गिरीले सबैको साथ र सहयोगले गर्दा आफूले यो पुरस्कार पाएको भन्दै सधै साथ र सहयोगको अपेक्षा गरे ।

उनले आफूले सामाजिक कार्यमा लामो समयसम्म योगदान गरेवाफत मूल्याङन गरेर राज्यले पुरस्कृत गरेको भन्दै सामाजिक क्षेत्रमा लाग्न थप प्रेरणा प्रदान गरेको बताए । तीन दशकदेखि सामाजिक सेवामा समर्पित गिरीले आफूले कहिलेपनि लाभको पद ग्रहण नगरेको भन्दै अनवरतरुपमा सामाजिक सेवामा लागेको बताएका थिए । ‘मैले कहिले पनि लाभको पद खोजिनँ त्यसस्वरुप आज मलाई सबैको साथ र सहयोगले विभूषित भएको छु, यसमा साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन्छु’, गिरीले भने ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापा, नेत्रविशेषज्ञ डा. ज्योति सापकोटा, एकाडेमिक चिफ डा. सुरेश रसाइली, आँखा अस्पतालका प्रशासक किरण पौडेल, छन्द कालेबावु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्मा, नेत्र अधिकृत शालिकराम गौतम, नेत्र अधिकृत, दृष्टि विशेषज्ञ, नेसहायक तथा कर्मचारी, नेत्रसहायक कक्षाका विद्यार्थीहरुले बधाई ज्ञापन गरेका थिए ।