प्रतिष्ठानको तेस्रो बार्षिकोत्सव

गोरक्ष समाचारदाता

दाङ, १२ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलवार तेस्रो बार्षिकोत्सव मनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास भएको प्रतिष्ठानले तीन बर्ष पूरा भएको अवसरमा मंगलवार बार्षिकोत्सव मनाउन थालेको हो ।

प्रतिष्ठानले बार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु गरी मनाउने प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञासिंह बस्नेतले बताइन् । उनका अनुसार बार्षिकोत्सवका अवसरमा मंगलवार विहान प्रतिष्ठानमा प्राईभेट वार्डको उद्घाटन गरिने भएको छ । उक्त वार्डलाई कोभिडको तेस्रो लहर आएमा बिरामीको उपचार गर्न एचडियुको रुपमा प्रयोग गरिने भएको उनले बताइन् ।

प्रतिष्ठानले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७७ ०७८ मा प्रतिष्ठानले दिएका स्वास्थ्य सेवा तथा बार्षिकोत्सवको बारेमा जानकारी गराएको हो । प्रतिष्ठानले तीन बर्षका अवधिमा भौतिक पूर्वाधार विकाससँगै स्वास्थ्यका लागि सिटीस्क्यान, एमआरआई, आइसियु, अक्सिजन प्लान्टलगायतका धेरै पूर्वाधारहरुको विकास गरेको जनाएको छ । त्यस्तै प्रतिष्ठानबाट आर्थिक बर्ष २०७७÷०७८ मा २४१७ जनाले शल्यक्रिया, ओपिडी सेवा ६६ हजार १ सय ८३ जनाले, प्रयोगशाला सेवा २,४५,०७१, एक्सरे सेवा १ लाख १२ हजार ४ सय ६० जनाले लिएको प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी सिटीस्क्यान सेवा ७ सय ६४, इमर्जेन्सी उपचार सेवा १२ हजार ७ सय १२ जना, पिसिआर परीक्षण सेवा २३ हजार ६ सय २१ जना, ननकोभिड सेवा ३७ जना, कोभिड आइसियु सेवा २२ जना र कोभिड एचडियु सेवा २ सय २ जनाले लिएको प्रतिष्ठानले जनाएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानको भौतिक पूर्वाधारसहित अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक ल्याउनेदेखि अस्पतालमा अत्याधुनिक उपकरण ल्याई सेवा प्रवाहलाई थप चुस्त–दुरुस्त बनाउन महत्वपूर्ण भूमिका निर्बाह गरेको छ ।

अस्पतालको स्वास्थ्य सेवा सुधारदेखि दक्ष जनशक्तिको उचित व्यवस्थापन गरेर सेवा प्रभावकारी बनाउने तीन बर्षको अवधिमा गरिएको छ ।प्रतिष्ठानले जनतालाई स्वास्थ्य सेवा दिनका लागि स्लाइसको सिटीस्क्यान जडान गरिएको छ भने १.५ को एमआरआई मेसिन ल्याउने तयारीमा रहेको बस्नेतले बताइन् । उनका अनुसार कोभिडको पहिलो लहर अक्सिजन प्लान्टको अभावमा आईसियु सञ्चालन हुन नसक्दा प्रतिष्ठानलाई ठूलो चुनौती रहेकाले हाल प्रतिष्ठानमा २० बेडको आईसियु, १० बेडको पिआईसियु, ५० बेडको एचडियु बेडको व्यवस्थापन गरेको छ । त्यसका लागि दैनिक तीन सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने दुई वटा अक्सिजन प्लान्ट रहेको समेत जानकारी दिइन् ।

प्रतिष्ठानलाई आत्मनिर्भररुपमा सञ्चालन हुनका लागि अस्पताल सेवाको ठूलो भूमिका रहने भएकाले प्रतिष्ठानभित्र रहेको निजी फार्मेसीहरु र ल्याव हटाई आफ्नै गुणस्तरीय फार्मेसी र ल्याव सञ्चालनमा ल्याएको छ । त्यसैगरी २०७७ माघ १ गतेदेखि विशेषज्ञ चिकित्सकसहितको नेत्र विज्ञान विभाग स्थापना गरी आँखा उपचार सेवा सञ्चलानमा ल्याएको भन्दै निकट भविष्यमा आँखाको शल्यक्रिया पनि सञ्चालन गर्ने भएको छ । प्रष्तिष्ठानको अध्ययन अनुसन्धानसँगै शैक्षिक कार्यक्रमसहित अस्पतालको थप भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ ।