सोह्र श्राद्धको कर्म, नबुझिएको मर्म

मधुसूदन सुवेदी

यही आविश्वन महिनाको ५ गतेदेखि सोह्र श्राद्धको पर्व चलेको छ । नेपालको पञ्चाङ्ग शस्त्रले आश्विनकृष्णपक्ष प्रतिपदा तिथिदेखि आश्विन कृष्णपक्षको आमावास्या (औसी) सम्मको तिथिलाई पितृ पक्ष भनिएको छ । अर्थात् यो २०७८ सालमा आश्विन ५ गतेदेखि आगामी आस्विन २० गतेसम्म सोह्र श्राद्ध चल्नेछ । श्राद्धको विषयमा विभिन्न खाले जनमानसमा भिन्नाभिन्नै सोच विचार, टीकाटिप्पणी र विवादको विषय छ ।

अधिकांशको मुखबाट निस्कने वाणी वा बोली भने के–के हो भने –‘दिउँदो हुँदासम्म पेटभरि आँटो खान दिएनन्, अहिले मरिसकेपछि खिरको डल्लो दिन्छन् ।” यो निनकै चलेको प्रचलित भनाइ हो । कतिपयलाई यो भाषाले निकै छोएको पनि छ । तर साचा अर्थ त्यसो होइन । पितृका नाममा श्राद्ध गर्नु भनेको मरेको लागि होइन । जसले श्राद्ध गर्दछ उसैका लागि हो । अर्थात्, जसले जे गर्छ त्यही फल पाउँछ । यदि आफ्ना दिवंगत परिवारजनका आत्माप्रति श्रद्धा गर्दछ भने उसले आफ्नो जीवनमा पनि मानसम्मान पाउँछ ।

यदि कोही कसैले आफ्ना दिवंगत पितृका नाममा जल, तर्पण आदि कर्म गर्छ भने उसलाई जीवनमा जल प्रकोपको सामना गर्नु पर्दैन र जलबाट प्राप्त हुने उर्जा मिल्दछ । यदि कोही कसैले आफ्ना दिवंगत पितृका नाममा बत्ती बालिदिन्छ भने उसको जीवनमा सबै दिशाका बाटा उज्याला हुन्छन् । उसको बल र बुद्धि बढ्छ । शत्रु तथा रोगलाई परास्त गर्ने शक्ति प्राप्त हुन्छ । अग्नि भय जीवनमा भोग्नु पर्दैन र उसको अनुहारमा समेत चमक र कान्ती छाउँछ । यदि कोही कसैले आफ्ना दिवंगत पितृका नाममा अन्न (सिदा) दान गर्छ भने उसको जीवनमा कहिल्यै भोकमरी खेप्नु पर्दैन ।

भोको पेटले काम गरी खानु पर्दैन । खानका लागि सबैथरि परिकार उसको जीवनमा प्राप्त हुँदै जानेछ । यदि कोही कसैले आफ्ना दिवंगत पितृका नाममा बालबालिका, युवायुवती, नरानारी, बृद्धबृद्धा वा योगी, सन्त, महन्त तथा महात्मजनलाई भोजन गराउँदछ भने सको जीवनमा सधैँ दशैँ, विवाह, भोज, भतेर समानका उत्सवमय वातावरण आइरहन्छन् र उसले जहिल्यै पनि उत्सवकै भोजन गर्न पाउँछ । उसको जीवनमा प्रत्येक दिन चाडपर्व समानका मनोरञ्जन सहितको भोजन गर्ने अवसर मिल्दछ । खानेमा र पचाउनेमा सबै शक्ति प्राप्त हुन थाल्दछ ।

व्यक्तिको पाचन शक्तिमा बृद्धि आउँछ । जलराग्नीको कमी हुँदैन । यदि कोही कसैले आफ्ना विदंगत पितृका नाममा (पिण्ड) खिरको डल्लो दान गर्दैन भने उसले प्रकृतिको सिंगो शक्ति प्राप्त गर्दछ । खिरको डल्लो भनेको मरेको पितृलाई खान दिएको डल्लो होइन । यो त केवल पितृको भौतिक देह र शरीर हो । जब हाम्रा कुनै सदस्य दिवंगत भए तब उनको शरीरमा भएको सास फेर्ने हावा, वायुमण्डलमा मिल्यो । उनको पिसाव तथा पानीजन्य कुराहरु जलमा मिल्यो । उनको शरीरको मासु माटोमा मिल्यो । हड्डीहरु ढुङ्गा तथा चट्टानमा मिल्यो ।

शरीरको तापमान सूर्यमा मिल्यो । शरीरको चिसोपना चन्द्रमामा मिल्यो । शरीरका इन्द्रीयहरु वा कान, आँखा, नाक, मुख, मल–मुत्रका ढोकाहरु आकाशमा मिल्यो । जसरी पृथ्वी पञ्चतत्वले बन्यो मानव शरीर पनि त्यसरी नै पञ्चतत्वले बनेको छ । त्यसैले पञ्चतत्वले बनेको शरीर पञ्चतत्वमा नै मिल्न गइसकेपछि पितृलाई सिङ्गो पृथ्वी, सिङ्गो प्रकृति, सिङ्गो गजत, सिङ्गो संसार, सिङ्गो धर्ती र सिङ्गो ब्रह्माण्ड पनि र पृथ्वीको आकार समान गालो डल्लो पारेर आफ्ना पितृलाई प्रकृति मानेर, जानेर पूजा गरिएको हो ।

यसो गर्नाले पितृले खिर खाने र खवाउने काम नभएर जसले पिण्डको दान गर्दछ स्वतः उसले सिङ्गो ब्रह्माण्डको शक्ति उपभोग गर्न पाउँदछ । उसलाई प्राकृतिक प्रकोपको कुनै भय हुँदैन । सृष्टिमा उसको अकाल मृत्यु हुँदैन । पृथ्वीले उसलाई आफ्ना पितृसमानको माया ममता र स्नेह प्राप्त गराउँछिन् । धर्तीको बोझ भएर बाँच्नु पर्दैन । पितृ कर्ममा पिण्ड दानको असंख्य फल छ । यो बताएर सकिँदैन । विश्व–ब्रह्माण्डमा नभएको कुरा के होला? हो त्यस्तै ब्रह्माण्ड समानको फल प्राप्त हुन्छ । पिण्डको अर्थ सबैलाई सहजै थाहै छैन र हुँदैन पनि ।

यो धार्मिक दृष्टिकोणले मात्र होइन यो वैज्ञानिक दृष्टिकोणले पनि निकै पुष्टियोग्य, निकै प्रमाणित योग्य र निकै सत्य, तथ्य रुपमा व्याख्या, विश्लेषण गर्न सकिन्छ । पृथ्वी डल्लो छ भनेर त विज्ञानले नै भनेको हो नि । उसैको आधारमा पनि यो खिर वा अन्य परिकारको डल्लो पारेर पृथ्वीको आकारमा ढालेर अर्पण गर्दा पितृको भोजन हुन्छ कि कर्ताको रोजन हुन्छ ? कलिकति पराकिलो दिमागले सोच्ने कि नसोच्ने ? जसले जे गर्छ उसले त्यही फल पाउँछ ।

अमिलोको विउ रोपेर स्याउको चाहना गर्नेहरु यहाँ धेरै छन् । आफूले गरेको कर्म र धर्मको हेक्का राख्दैनन ् तर फल भने निकै राम्रो खोज्छन् । हामीले पितृका नाममा जति भाँती गरे पनि त्यो हाम्रो लागि प्राप्त हुने नै हो । पितृका लागि केवल श्रद्धाभक्ति र आस्था एवं विश्वास मात्र हो ।