खेमराज रिजाल
तुलसीपुर, १२ असोज । निर्माण सम्पन्न नहुँदै सेवा सुरु गरेको तुलसीपुरको अश्वारास्थित तुलसीपुर मेट्रो अस्पतालले सोमवारदेखि विधिवतरुपमा सेवा सुरु गरेको छ । कोरोना भाइरसको अधिक संक्रमणको समयमा हतार–हतारमा कोरोनाका विरामीको उपचारका लागि तयार गरिएको यो अस्पताललाई मास नपुगेको शिशुका रुपमा समेत लिइने गरिन्छ । कोरोनाको संक्रमण त्यति धेरै व्यापक नभएको भए सम्भवतः यो अस्पताललाई सञ्चालनमा ल्याउन अझै केही महिना कुर्नुपर्ने अवस्था थियो ।
निर्माणाधीन अस्पताल भवनमा बिरामीका लागि पर्याप्त बेड थिएनन्, पानी तताउने हिटरदेखि हिटर र अक्सिजन सिलिण्डरसमेत दाताहरुबाट सहयोग प्राप्त भएपछि अस्पताल एक सातामै सञ्चालनमा आएको थियो । गएको बैशाख अन्तिम सातादेखि जेठ पहिलो सातामा जिल्लामा कोरोना भाइरसको संक्रमण अचाक्ली भएपछि अस्थायी कोरोना विशेष अस्पतालसमेत बिरामीले खचाखच भरिएपछि तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुरमा क्रियाशील सामाजिक संघसंस्था तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुको समेत थोपा थोपा सहयोगले अस्पताल सञ्चालनमा आएको हो ।
सोमवार तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा एउटा बृहत् निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरी कोभिडका बिरामीको मात्रै उपचार गर्दै आएको मेट्रो अस्पताललाई जनरल अस्पतालका रुपमा रुपान्तरण गरिएको छ । ओपिडी सेवासमेत शुभारम्भ भएको छ । अस्पतालमा ओपिडी सेवाको उद्घाटन मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मेट्रो अस्पतालको सञ्चालन आफैमा स्वास्थ्य क्षेत्रको क्रान्ति भएको अभिव्यक्ति दिएका छन् । आफ्नो चुनावी प्रतिवद्धता, दाताको जग्गा सहयोग तथा अन्य संघसंस्था तथा व्यक्ति विशेषको सहयोगले अस्पताल निर्माण सम्पन्न नहुँदै सञ्चालनमा आएको पनि उनको अभिव्यक्ति थियो ।
‘अस्पतालमा अझै पनि अत्यावश्यक भौतिक पूर्वाधारहरु तयार गर्नका लागि हामीलाई कम्तीमा १० करोड रुपैयाँ चाहिएको छ, यो रकमको जोहो गर्न हामीले दाताहरुसँग सहयोगको याचना गर्दै एक सय दिने अभियान सञ्चालन गरेका छौं’, उद्घाटन मन्तव्य दिँदै नगर प्रमुख पाण्डेले भने । आफ्ना पितृहरुको आत्मा शान्ति तथा चिरस्मरणका लागि स्व. भीमसेन शाहको स्मृतिमा उनका सन्तान अभिषेकप्रताप शाहले अमूल्य जग्गा दान गरेकोमा प्रसंशा गर्दै नगर प्रमुख पाण्डेले आफूले पनि स्व. बुवाआमाको स्मृतिमा सोही अस्पताललाई १ लाख ११ हजार रुपैयाँ सहयोग कार्यक्रमस्थलमै उद्घोष गरे । साथै सोह्रश्राद्ध सुरु भएसँगै विभिन्न सांस्कृतिक पर्वहरु पनि सुरु भएकाले सबैले पर्वको खर्च कटाएर पनि अस्पताललाई सहयोग गर्न आम नगरबासीहरुलाई अपिल समेत गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, नेकपा एमालेका अध्यक्ष टिकाराम खड्का, माओवादी केन्द्रका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी, एमालेका नगर अध्यक्ष केशव सापकोटा, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य जानका रेग्मी, तुलसीपुर–६ का वडाध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोजक नवराज लामिछाने, जग्गादाता अभिषेकप्रताप शाह, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओम प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तुलसीपुर मेट्रो अस्पतालका प्रमुख डा. प्रकाश शाहुले गरेका थिए भने कार्यक्रमको सहजीकरण तुलसीपुर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विमल केसीले गरेका थिए । जेठ पहिलो सातादेखि कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन हुँदै आएको सो अस्पतालमा हालसम्म कम्तीमा ५ हजार नागरिकहरुले स्वास्थ्य सेवा लिइसकेका छन् भने सोमवारदेखि सो अस्पतालमा कोभिडसँगै सबै रोगका बिरामीहरुको स्वास्थ्य परीक्षण पनि गरिने छ ।
ओपिडी सेवा सञ्चालनसँगै सोमवार आयोजना गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा कम्तीमा ३ सय जनाले स्वास्थ्य उपचारसेवा लिएको जनस्वास्थ्य अधिकृत विमल केसीले जानकारी दिएका छन् । शिविरमा बालरोग विशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग उपचार सेवा, फिजिसियन सेवा, स्त्री तथा प्रसूति रोग उपचार सेवा, अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला सेवा उपलव्ध गराइएको थियो । सो अवसरमा हाडजोर्नी सर्जन डा. प्रकाश साहु, फिजिसियन डा. ज्ञानेन्द्र पाण्डे, डा. देवराज केसी, डा. तिलक केसी, डा. दिवस न्यौपाने, डा. राकेश यादव, डा. प्रदीप अधिकारी, डा. खुमबहादुर डाँगी, स्त्रीरोग विशेषज्ञ डा. सृजना हमाललगायत प्यारामेडिक्स र स्टाफ नर्सहरुको टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेका थिए ।
संघीय सरकारले मुलुकभरका पालिकाहरुलाई कम्तीमा ५० बेडदेखि १०० बेडसम्मका अस्पतालहरु निर्माण गर्नका लागि आवश्यक बजेट समेत पठाइसकेको अवस्थामा जिल्लाका धेरै पालिकाहरुले अस्पताल भवन निर्माण गर्न सकेका छैनन् । शिलान्यासमा मात्रै अस्पताल निर्माणको कार्यक्रम अड्किएको अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले भने आफ्नै मातहतमा मेट्रो अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा ३ जना विशेषज्ञ चिकित्सकसहित ८ जना डाक्टर, ८ जना स्टाफ नर्स, प्यारामेडिक्स, प्रशासन तथा कार्यालय सहयोगी गरी जम्मा ४० जना कर्मचारीहरुले अस्पतालमा सेवा दिइरहेका छन् ।