Goraksha

National Daily

समाज सेवा रत्न विभूषण …

1 min read

उमेरले ६ दशक पार गरिसकेका भरतमणि पाण्डेय संक्रियताका हिसावले युवाजस्तै छन् । न उनमा थकाई छ न जीवनमा कुनै निराशा । लामो समय सरकारी जागिरेका रूपमा जीवन बिताएका उनी सडक, शिक्षा, खानेपानीलगायतका सामाजिक क्षेत्रमा उनले ठूलो योगदान दिएका छन् । ६ दशक बढी लामो जीवनमा उनका अनेकौँ खुसीका क्षणहरू छन् । त्यहीमध्येका केही खुसीका क्षणहरू उनले यो पंक्तिकारसँग साटेका छन् । जुन खुसी स्तम्भको लागि खुसीको क्षण भएर आएको छ ।

सरकारी क्षेत्र र सामाजिक क्षेत्रमा गरेको योगदानका कारण उनी विभिन्न समयमा पुरस्कृत एवं सम्मानित समेत भएका छन् । घोराही उपमहानगरपालिका–१५ उत्साह टोल निवासी उनै पाण्डेयलाई गोरक्ष दैनिकको साप्ताहिक खुसी स्तम्भका लागि आफ्नो खुसीको पलहरू सुनाउन आग्रह गर्दा पहिलो खुसीका पलका रूपमा गत आइतवार राष्ट्रपतिबाट समाज सेवा रत्न विभूषणबाट सम्मानित गर्दाको क्षणलाई आफ्नो जीवनको सबैभन्दा खुसीको क्षणको रूपमा लिएको बताए ।

‘म आफ्नो व्यक्तिगत काममै थिए, त्यही बेला मलाई काठमाडौं बस्ने सानीमाको छोरी क्रान्ति पन्तले फोन गर्दै भनिन्–‘सरकारले तपाईंलाई ‘समाज सेवा रत्न विभूषण’बाट समाजसेवीका माध्यमबाट सम्मान गर्दैछ । बधाई छ दाजु !’ उनले मेरो नाम गोरखापत्रमा पढेकी रहेछिन् । ‘दिदीको त्यो फोनले मेरो खुसीको सीमा नै रहेन’, पाण्डेयले भने, ‘त्यो नै मेरो जीवनमा सबैभन्दा खुसीको क्षण हो, विभूषण विशेष सुशोभित समारोहकाबीच राष्ट्रपतिबाट पदक प्रदान गरिने कार्यक्रम रहेको बुझेको छु ।’

त्यस्तै पाण्डेयले अर्काे खुसीको क्षणका रूपमा २०७० सालमा शिक्षा मन्त्रालयले प्रशंसापत्र दिएर गरेको सम्मानलाई लिन्छन् । पाण्डेय त्यो समय घोराहीमा रहेको शान्ति सुधा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए । विद्यालयको अध्यक्षमा रहँदा उनले विद्यालयको भौतिक विकाससँगै बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधारका लागि योगदान पु¥याएका थिए । त्यही योगदानको मूल्याङ्कन गर्दै २०७० सालमा राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेको भन्दै प्रशंसापत्र प्रदान गरेको थियो, त्यो पनि मेरो जीवनको खुसीको अर्को क्षण हो ।

‘म सडक कार्यालयमा ल्याव असिस्टेन्टका रूपमा लामो समय काम गरेको भए पनि शिक्षाका क्षेत्रमा समेत योगदान दिएको छु, त्यही योगदानको मूल्याङ्कन गरेर शिक्षा मन्त्रालयले मलाई प्रशंसापत्रले समान गरेको थियो’–उनले भने–‘त्यो क्षण मेरो जीवनको अर्काे खुसी हो । जुन क्षणलाई म कहिल्यै भुल्न ससक्दै ।’ मन्त्रालयले सम्मानित गरे पनि तत्कालीन जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले घोराहीको भरतपुरमा रहेको नारायण सल्यानी स्मृति भवनमा विशेष समारोह आयोजना गरेर शिक्षाविद् विद्यानाथ कोइराालाको हातबाट समानित गराएका थिए । यी सम्मान र प्रशंसापत्रहरूले आपूmलाई सानो भए पनि जनता र देशका लागि केही सेवाको कार्य गरेको रहेछु भन्ने लाग्ने गरेको उनले बताए ।

सरकारी सेवाका रूपमा सडक डिभिजन कार्यालय घोराहीमा कार्यरत रहँदाको एउटा क्षणलाई उनले खुसीका रूपमा लिएका छन् । पाण्डेय डिभिजन सडक कार्यालयबाट कामको सिलसिलामा काठमाडौं पुग्दा काठमाडौं सडक विभागमा पुगेका थिए । आफ्नो जीवनको खुसीका पलहरू सुनाउने क्रममा पाण्डेय भन्छन्, ‘संयोगले कार्यालयको कामको सिलसिलामा उपसचिव कहाँ पुगेँ । त्यहाँ दाङको घोराहीमा रहेको शान्ति सुधा माध्यमिक विद्यालयमा अध्ययन गरेका उपसचिव जीवेन्द्र मिश्र त्यो शाखा प्रमुखको रूपमा रहेछन्, कार्यालयमा फाइल बोकेर पुगेको मलाई नमस्कार सर भनेर उनले मेरो फाइल पास गर्नका लागि सम्पूर्ण काम गरेर सहयोग गरिदिए । त्यो मेरो जीवनको शिक्षामा पु¥याएको योगदानको क्षण हो ।’

करिब तीन वर्ष अघि घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपाध्यक्षमा निर्वाचित भएका पाण्डेय घोराहीबासीलाई सहज रूपमा खानेपानी पु¥याउनका लागि संक्रिय छन् । संस्थाका अध्यक्ष, पदाधिकारी, सल्लाहकार र कर्मचारी सबैको साथ र सहयोगबाट घोराही खानेपानी सरसफाई संस्थाका उपभोक्तालाई गुणस्तरीय शुद्ध खानेपानी पु¥याउन लागिपरेको उनले बताए । ‘उपभोक्ताहरूको घरमा खानेपानी पुग्नु भनेकै मेरो खुसीको क्षण हो । निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएदेखि घोराहीमा उपभोक्ताहरूलाई सहज रूपमा खानेपानीको सुविधा पु¥याउनका लागि लागिपरेको छु’, उनले भने, ‘यसमा सबै क्षेत्रको सहयोग र सहकार्य छ ।’ उभोक्ताहरूको घर–घरमा २४ घण्टा गुणस्तरीय खानेपानी पुग्ने अवस्था केही समयमै आइपुग्ने कुरामा सुनिश्चितता भएको उनले बताए । ‘वृहत बबई लिफ्टिङ खानेपानी आयोजनाको कार्य प्रारम्भ भइराखेको छ । यसले उपभोक्तालाई २४ घण्टा नै खानेपानी उपलब्ध हुनेछ । यो पनि मेरो लागि खुसीको क्षण रहनेछ’–उनले भने ।

२०१७ साल माघको ५ गते स्व. बुबा चित्रकान्त पाण्डेय र स्व.आमा यमकुमारी पाण्डेयको कान्छो शन्तानको रूपमा उनको साविक रामपुर गाविस वडा नं. ३ र हाल घोराही उपमहानगरपालिका २ साइपुरमा जन्मिएका थिए । उनका दुई दाजु र तीन दिदीहरू छन् । पाण्डेय हाल घोराही उपमहानगरपालिका–१५ उत्साह नगर टोलमा बस्दै आएका छन् । लामो समय सरकारी जागिरमा बिताएका पाण्डेय सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय छन् । त्यस क्रममा पाण्डेयले विभिन्न पुरस्कार तथा सम्मान समेत प्राप्त गरेका छन् ।

कर्मचारी मिलन केन्द्रको सदस्यका रूपमा काम गर्दा उनी दुई पटक मिलन केन्द्रबाट सम्मानित भएका थिए । त्यसैगरी २०७० सालमा राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेवाफत प्रशंसापत्र प्रदान गरेको थियो । संविधानसभा निर्वाचन २०६४ का क्रममा राष्ट्रिय निर्वाचन प्रर्यवेक्षण समिति नेपाल (नियोक नेपाल)द्वारा कदर–पत्र प्रदानलगायतका विभिन्न क्षेत्रमा उल्लेख्यनीय कार्य गरेवाफत सम्मान र पुरस्कृत भएका छन् ।

२०४३ सालमा कर्जाही–पर्चुका निवासी कमला अधिकारीसँग वैवाहिक सम्बन्धमा बाँधिएका पाण्डेयका चार छोरीहरू र एक छोरा छन् । पाण्डेय घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष, नेपाल परिवार नियोजन संघको आजीवन सदस्य, नागरिक समाज दाङको आजीवन सदस्य, सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आजीवन सस्दय, नेपाल निवृत्त राष्ट्र सेवा समाजको आजीवन सदस्य, नेपाल मानवअधिकार संगठनको सक्रिय सदस्य, नेपाल स्तम्भकार समाजको आजीवन सदस्य, नेपाल निजामति कर्मचारी युनियनको केन्द्रीय सभा सदस्य, कर्मचारी मिलन केन्द्रको कार्यकारिणी सदस्य, राप्ती साहित्य परिषदको आजीवन सदस्य, घोराहीमा रहेको शान्ति सुधा माध्यमिक विद्यालयको अभिभावक समितिको अध्यक्ष (२०६८)लगातका संघससस्थामा आवद्ध रहेका छन् ।

प्रस्तुती : लिलाधर वली