भूवन पोख्रेल
अन्तर्राष्ट्रिय शन्ति दिवस, संयुक्त राष्ट्रसंघद्वारा सेप्टेम्बर २१ को दिन स्वीकृत एक छुट्टीको दिन हो । जुन वार्षिक रुपमा मनाउने गरिन्छ । यो दिन विश्वशान्तिका लागि समर्पित छ । विशेष गरी युद्ध र हिंसाको अनुपस्थिति र विश्वव्यापी रुपमा शान्तिको उपस्थितिका लागि पनि यो दिन समर्पित छ । शान्तिमा युद्ध नै सबैभन्दा ठूलो अवरोध हो । नेपालमा यो दिन वि.सं. २०६५ सालदेखि मात्र मनाउन थालिएको हो । यसैले यो हाम्रो देश नेपालका लागि अझै पनि एक नयाँ अभ्यास हो भने विश्वशान्तिको उद्देश्यका लागि यो दिन प्रत्येक वर्ष विश्वभर मनाइन्छ ।
विश्वभर विभाजनका विभिन्न नयाँ शक्तिहरु देखापर्दै छन्, तथा घृणा र असहिष्णुता फैलाउने कार्यहरु गर्दैछन् । आतंकवादले हिंसालाई बढावा दिइरहेको छ । यी हिंस्रक चरमपन्थीहरुले विश्वको सबैभन्दा कम विकसित र गरिब देशका युवाहरुका दिमागमा विष घोल्ने जस्तो जघन्य अपराध कार्य गर्ने कोशिस गरिरहेका छन् । शान्तिमा अवरोधक धेरै जटिल र ठाडो उकालोझँै छन् । केही एक व्यक्तिले वा केवल एक देश वा राष्ट्रले मात्र यी अवरोधहरुको समाधान गर्न सक्ने सम्भावना कमै देखिन्छ । यो धर्मदेखि देशका सीमाजस्ता यावत कुराहरुसम्ममा व्याप्त यो युद्धको पागलपनलाई अन्त्य गर्न एकता र संयुक्त कार्यले एक नयाँ रुप, यो पनि छिटोभन्दा छिटो सुरु गर्नुपर्ने आवश्यकता देखिन्छ ।
दोस्रो विश्वयुद्ध पछि सन् १९४५ मा जारी गरिएको संयुक्त राष्ट्र वडापत्रको मुख्य उद्देश्य भनेको युद्ध रोक्दै ‘शान्ति स्थापना गर्नु’ हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको प्रस्तावना, सन् १९४८ ले अधिकारको मान्यता न्याय र शान्ति स्थापनामा जोड दिएको छ । वि.सं. २०६५ सालदेखि मात्र यो दिन मनाउने नेपालको सन्दर्भमा १२ वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य र नागरिकले भोग्नुपरेको भिषण अशान्तिको स्मरणार्थ अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ । जब नेपालले हजारौा बहुमूल्य मानव जीवन गुमायो । वर्षौँको क्रान्ति र अशान्तिपछि देशले शान्ति प्रक्रियालाई संस्थागत गर्न थाल्यो । दशक लामो अशान्तिलाई सदाको लागि समाप्त गरियो । त्यस ऐतिहासिक दिनलाई मनाउन नेपालमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ ।
कुनै पनि देशको विकासको जग स्थायी आन्तरिक र वाह्य शान्ति निर्भर हुन्छ । त्यस कारण शान्ति बिना देशको विकास सम्भव छैन । त्यसैले शन्तिप्रति प्रतिबद्ध नेपाल सरकारले देशका सबै जिल्लाहरुमा ‘शान्ति मन्त्रालय” र शान्ति समितिका सचिवालय गठन गरी काम गरिरहेको छ । देशको विकासको आधार जहाँसुकै जुनै देशमा पनि शान्ति नै हो । शान्ति विकासको आधार मात्र होइन, यो त यस ग्रहमा रहेका सम्पूर्ण मानव जातिको अमूल्य अधिकार पनि हो । व्यक्तिको शान्तिको अधिकार भनेको युद्ध, हिंसा, दङ्गाहरुबाट स्वतन्त्र हुहु हो । यी सबै प्रकारको अशान्तिबाट स्वतन्त्र भएर दैनिक जीवन गुजारा गर्न पाउन हरेक व्यक्तिको अधिकार हो ।
आजकल शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानुनको पनि एक हिस्सा भएको छ । शान्तिको अधिकार कुनै पनि अन्य मौलिक अधिकारभन्दा बढी महत्वपूर्ण छ । सबै प्रकारका अधिकार र मानवअधिकारहरु केवल शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न सकिन्छ । शान्ति र हिंसा भनेको दुई विपरित ध्रुव हुन् । शान्ति राम्रो शक्ति हो भने हिंसा खराब शक्ति । आजको संसारमा पनि एकतर्फ शान्तिको चाहना छ भने अर्कोतर्फ हिंसाको चाहना छ तर विश्व शािन्तको शक्ति प्रबद्र्धन गरेर हिंसाको शक्ति घटाउन प्रतिबद्ध रहेको छ, जुन एक सुखद पक्ष हो ।
नेपालजस्तो विकासोन्मुख देश जहाँ लामो समयसम्म र कडा द्वन्द्व भएको थियो । यहाँ त्यसकारण पनि सम्बन्धित निकाय, आधिकारीहरुबीच अझ बढी शान्ति हस गर्नु एकदमै जरुरी छ । ता कि भविष्यमा कुनै द्वन्द्व नहोस् र शान्ति सदाका लागि बहाल हुन सकोस् । मानिसहरु एकातिर शान्ति चाहन्छन् भने हिंसा चाहने समूह पनि हुन्छ । शान्ति र हिंसा एक सिंकाका दुई पाटा हुन् र सारा विश्व हिंसाको संकटमा छ । विश्व समुदायको भाषा, रंग, संस्कृति, धर्म, नागरिकता, विचार, सिद्धान्त, खानपान, रहनसहन, चाहना फरक हुन सक्छन् तर शान्तिको विषय विश्वकल्याणको विषयमा भने साझा हुनुपर्छ । शान्ति कुनै पनि समुदाय वा उनीहरुको विचारमा आधारित हुनु हुँदैन । शान्ति खोज्न कतै दौड्नु पर्दैन, शान्ति आफैमा हुन्छ यो मानव मस्तिष्कमा भएको कुरा हो ।
महत्वपूर्ण कुरा भनेको यसलाई आफैले महसुस गर्नु पर्दछ । त्यस कारण प्रत्येक व्यक्तिले मस्तिष्कबाट हिंसा हटाउने र हिंसाको सट्टा शान्तिलाई स्थान दिन सकेको अवस्थामा मात्र समाजमा शान्ति स्थापना गर्न सकिन्छ । राज्यले पनि जनताको मनमस्तिष्कमा शान्तिको बिउ रोपने जिम्मेवारी बहन गर्नु पर्दछ । मानव मस्तिष्कमा यो वातावरण सिर्जना गर्नु राज्यको दायित्व पनि हो । अन्तर्राष्ट्रिय शान्ति दिवस केवल ओपचारिकतामा सीमित बन्नु हुँदैन । यसको शान्ति स्थापना भई हिंसा र हित समाजको परिकल्पना साकार पार्न सकिन्छ ।
मन्त्रालयले राजधानीको शान्ति बाटिकामा दीप, जुलुस निकालेर, विभिन्न कायृक्रम आयोजना गरेर, सभा, गोष्ठी, भेला गरेर मात्र मुलुकका जनतामा शान्ति नभएसम्म यसले कुनै महत्व राख्दैन । जबसम्म त्यसले शान्ति बढाउन र हिंसा कम गर्न मद्दत गर्ने कार्यहरु राज्य र सम्बन्धित क्षेत्रबाट प्रशस्त मात्रामा हुँदैनन् । मुलुकका कुनाकन्दरामा शिक्षाको उज्यालो किरण पुग्दैन तबसम्म राजधानी केन्द्रित यस्ता कर्याक्रमको कुनै महव र अर्थ हुन सक्दैन । संसार नै अहिले हिंसा र शान्तिको दोसाँधमा छ । एकातिर शान्तिको चाहना छ र अर्कोतिर हिंसाको स्थान छ ।
विश्वमा शानितको सनदेश प्रवाह गर्नुहुने शानितका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भएकाले पनि विश्व शान्तिका लागि नेपाल अघि सर्नुपर्छ । मानवअधिकारको सम्मान र सामाजिक न्यायबाट शान्ति स्थापना हुन्छ । युद्ध शान्तिका लागि सबैभन्दा ठूलो शत्रु हो र अवरोध हो । हिंसाको आरम्भ नहुनु र अन्त्य हुनुबाट शान्तिको सुरुवात हुन्छ । न्यायको उपस्थिति र सामाजिक न्यायको प्रत्याभूति शान्तिका लागि आवश्यक छ । शान्ति कुनै अलौकिक शक्तिको उपहार होयन । अनि यो धनी मुलुकको गरब मुलुकमाथि दिने सहायता पनि होइन । न त विदेशी सहायताका नाममा आएका पैसाले शान्ति किन्न पाइने हो । शान्ति खोज्न कतै जानु पर्दैन, शान्ति हाम्रो मनमस्तिष्कमा बसेको छ । यसलाई आफैले महशुस मात्र गर्नुपर्छ ।
विश्वव्यापीकरणले गर्दा एक ठाउँ वा देशको हिंसा असर विश्वमा नै पर्ने भएकाले पनि आज विश्वको ध्यान हिंसाको न्यूनीकरण र शान्ति स्थापनामा केन्द्रित छ । राष्ट्रसंघ, विश्व समुदाय, गैरसरकारी संस्थाहरु यसमा लागिपरेका छन् तर सम्पूर्ण विश्वले शान्ति स्थापनाको प्रयास गर्दागर्दै पनि विश्वमा अपेक्षाकृत शान्ति हुनसकेको छैन । प्रथम र दोस्रो विश्व युद्धको विभीष्किा पुनः नदोहोरियोस् भनी संयुक्त राष्ट्रसंघको स्थापना भए पनि अझै तेस्रो विश्वयुद्धको सम्भावना टरेको छैन । विश्वका महाशक्ति राष्ट्रबीच अहिले पनि अघोषित युद्ध जारी छ । सीमा विवाद कायम छन् । कतिपय मुलुकमा आन्तरिक सत्ता संघर्ष चलिरहेका छन् । आणविक अस्त्र परीक्षणको होडबाजीले विश्व शान्तिलाई आतंकित बनाइराखेको छ ।
नेपाल जस्तो सशस्त्र द्वन्द्व भइसकेको देशमा पुनः द्वन्द्व नदोहोरियोस्, शान्ति नखल्बलियोस् भन्नका लागि पनि शान्तिको बहस बढी औचित्यपूर्ण हुन्छ । नेपालको सशस्त्र द्वन्द्वका कारण, प्रकृति र प्रभावहरु तथा यसको समाधानका लागि अपनाइएका उपायहरु मौलिक प्रकृतिको रहेकाले द्वन्द्वपछिको शान्ति स्थापनामा नेपालको शान्ति प्रक्रिया विश्वकै लागि चासो, चर्चा, अनुसन्धान, अध्ययनको विषय बन्नुका साथै अनुकरणीय पनि छ ।
वर्तमान सन्दर्भमा नेपालले विश्व शान्तिको स्थापनामा समेत योगदान गर्नसक्ने अवस्था छ । किनभने नेपाल शान्तिका अग्रदूत गौतमबुद्ध जन्मेको बुद्धभूमि हो । यहाँ युद्धको विभीषिकाहरुलाई नष्ट गर्दै शान्तिपूर्ण समाजको निर्माणमा हातेमालो गर्नुपर्छ । हिंसा हुनुका कारणहरुलाई सम्बोधन गर्नुपर्छ । शान्ति चाहने तर व्यवहारमा हिंसा नगर्ने प्रवृत्ति पनि अन्त्य हुन सकेको छैन, “मुखमा राम राम बगलीमा छुरा” को व्यवहारले नै विश्वशान्तिमा चुनौती खडा गरेको छ । ‘सर्वे भवन्तु सखिनस्, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु, मा कश्चित दुःख भागभवेत, ॐ शान्तिस, शान्तिस, शाीन्तस ।’ अर्थात् सबै जनालाई सुख होस्, सबै शुभको पहिनान गर्न सकून्, सबै स्वस्थ होऊन्, कोही प्राणी पनि दुःखी नहोस् भन्ने शान्ति उपनिषधबाट साभार गरिएको हो । यसले विश्व शन्तिको कामना गर्दछ ।
शान्ति एउटा आध्यात्मिक शब्दावलिमात्र नभएर मानव सभ्यताको अनिवार्य आवश्यकता हो । शान्ति दिवसमै शान्तिको घाँटी निमोठिएका र गला रेटिएका प्रशस्त उदाहरण छन् र त न्यायको कठघरामा विश्व समुदाय उभिन विवश छ । आतंकवाद, आन्दोलन, हत्या, हिंसा, वैमनस्यताले विश्वमै अति सम्भ्रान्त देशका त्रसित करुणामाथि अशान्त नागरिकहरुसम्म आज शान्ति हराएको अवस्था छ । शान्ति गौतम बुद्धको वचन मात्र होइन, सबैको दायित्व पार्न हो । हृदयका सदाचार लिएर पाइला चालौँ, अत्मियता अनि माफीको पथमा हिडौँ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ । शान्ति दिवसमा बुद्धको देशबाट अन्तर्राष्ट्रिय समुदायलाई शान्ति सन्देश प्रवाह गर्नुपर्ने नेपाल र नेपालीको दायित्व हो । शान्ति दीप प्रज्ज्वलन गरेर मात्र शान्तिको लहर आउँदैन । विश्वको शान्ति र विकासका लागि गुणस्तरीय शिक्षामा जोड दिनु पर्दछ ।
शान्ति भनेको समाजको यस्तो अवस्था हो, जहाँ सशस्त्र द्वन्द्व हुँदैन । शान्तिको अवधारणा सामाजिक सद्भाव, मेलमिलाप, सहिष्णुता र एकतासँग जोडिएको हुन्छ । शान्ति समाजको संरचनासँग पनि जोडिएको हुन्छ । समाजमा अन्यायमा परेका समूहहरुको मानवअधिकारको सुनिश्चित गरिएको अवस्था पनि शान्तिको अवस्था हो । तसर्थ, शान्तिले समतामूलक, समावेशी, विभेदरहित, हिंसारहित, शोषणमुक्त, हिंसामुक्त तथा न्यायपूर्ण समाजको परिकल्पना गरेको हुन्छ । समाजमा गरिबी, रोगब्याधी, प्राकृतिक प्रकोप, भोकमरी आदिका कारण पनि अशान्ति उत्पादन हुने गर्दछ । तसर्थ, मानिसहरुको आवश्यकता पूरा गर्ने विकासले पनि शान्ति स्थापना गर्न सहयोग गर्दछ । शान्ति भएन भने पनि विकास हुन सक्तैन । तसर्थ, शान्ति र विकासको अन्योन्याश्रित सम्बन्ध छ ।
नेपाल विविधताले भरिएको देश हो । कुनै पनि नागरिक विभेदको शिकार बन्नु नपरोस् भननुको खातिर यहाँ शान्ति शिक्षाको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा शान्ति शिक्षाको अवस्था त्यति बलियो छैन । शान्ति शिक्षा नै भनेर तोकिएको पाठ्यक्रम निर्माण हुनसकेको छैन तर सामाजिक अध्ययनका विषयमा शान्तिसम्बन्धी अवधारणा भने नभएका भने होयनन् । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको छ । विद्यालय शान्ति क्षेत्रले बालबालिकालाई सैनिक गतिविधिमा प्रयोग नगर्ने, उनीहरुलाई डर, धम्की र त्रासको अवस्थामा नराख्ने, शोषण, दमन, उत्पीडन, विभेद र हिंसा गरिनु हुँदैन भन्ने कुरामा जोड दिन्छ । शान्ति शिक्षाले काटमार, झगडा, विवाद, मनमुटाव आदि द्वन्द्वका स्वरुपहरु पहिचान गरी समाधानका उपायहरु सुझाउन सहयोग गर्दछ ।
विकास र शान्तिको घनिष्ठ सम्बन्ध छ । शान्तिबिनाको विकास सम्भव छैन । शान्ति शिक्षा सामाजिक विकास, आर्थिक विकास, वातावरणीय विकास, मानव विकासका लागि अपरिहार्य छ । शान्ति शिक्षाले युद्ध द्वन्द्वबाट सिर्जना हुने खतराहरुको महशुस गर्ने क्षमता भएका नागरिक तयार पार्छ । सशस्त्र द्वन्द्वका कारण हुने विध्वंश, विभेद, पीडा, दमन, शोषण, उत्पीडनहरुलाई बुझ्ने र युद्धका कारण उत्पन्न हुने शारीरिक, मानसिक, भौतिक सांस्कृतिक तथा वातावरणीय क्षतिलाई आँकलन गर्नसक्ने र सोही अनुसार व्यवहार गर्ने जनशक्ति तयार पर्छ ।
शान्तिको अर्को पाटो आत्मिक शान्ति हो । यो व्यक्तिको आफ्नो मनमस्तिष्कमा हुने शान्ति हो । यो आन्तरिक द्वन्द्वरहितको अवस्था हो । यो व्यक्ति आफै शान्त रहने पक्ष हो । व्यक्तिमा रिस, राग, इष्र्या, लोभ आदि भयो भने उसमा शान्ति नहुनसक्छ । मानिसमा भय, डर, त्रासको अवस्था भयो भने उसमा शान्ति हुँदैन । गौतम बुद्धका अनुसार मोक्ष प्राप्त गर्न शानितको अवस्था हो । दुःखको अन्त्यलाई निर्वाण भएिको छ । निर्वाण प्राप्त गरेपछि मनुष्य दुःखको भट्टीमा जल्नबाट जोगिन्छ । अलौकीक शान्ति प्राप्त हुन्छ । दुःखको अन्त्यका लागि जीवनको अन्त्य हुनु आवश्यक छैन । यस जीवनमा दुःख अन्त्य गर्न सांसारिक वस्तुको मोह वा तृष्णा हटाउन सक्नुपर्छ ।