जनताले संरक्षण गरे, उपभोग गर्न पाएनन्

गोरक्ष समाचारदाता

तुलसीपुर, ९ असोज । संरक्षण गर्दै आएको सामुदायिक वनलाई जनताले नै उपयोग गर्न पाउनुपर्ने सहभागीहरूले माग राखेका छन् । अधिकारका लागि सामुदायिक वनका उपभोक्ताहरू सडकमा आउनुपर्ने बेला आएको वक्ताहरूले बताए । तुलसीपुरमा सुरु भएको वन अधिकार सम्मेल तथा छैठौँ राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै उनीहरूले संघीय सरकारले विभिन्न बहानामा जनताबाट वन खोस्न लागेको बताए ।

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक बेञ्जुले प्राकृतिक स्रोतको प्रयोग बिना देश समृद्ध हुन नसक्ने बताए । उनले वनमा काम नलाग्ने काठहरूलाई बजारमा ल्याउनु पर्ने भन्दै आफूले रोपेका रूखहरू आफैले उपयोग गर्न पाउनुपर्ने बताए । ‘तीन तहको सरकारले वनलाई आयआर्जनको माध्यम बनाउनुपर्छ’ उनले भने । कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघका सल्लाहकार घनश्याम पाण्डेले वनलाई उद्यमशीलतासँग जोड्नुपर्ने भन्दै उपभोक्ताले संरक्षण गरेको वनलाई उपभोक्ताहरूले प्रयोग गर्न नपाउने अवस्था आएको बताए ।

उनले विभिन्न बहानामा सामुदायिक वनलाई राष्ट्रियकरण गर्ने काम भएको बताए । ‘जनताले संरक्षण गरेका वन जनताले प्रयोग गर्न पाउनुपर्छ, संघीयता आए पनि वनमा भने त्यो संघीयता आउन सकेको छैन’ –पाण्डेले भने । सामुदायिक वन उभपोक्ता महासंघका अध्यक्ष भारती पाठकले जनताले संरक्षण गरेको वन जनताले नै उपयोग र उनीहरूको अधिकार हुनुपर्ने बताइन् । उनले जुनै पार्टीको सरकार आए पनि पहिलो प्रहार वनमा हुने गरेका बताइन् । ‘वनका मालिक जनता हुन यो गरिबी जनतामाथिको प्रहार हो उनले भनिन् ।

पाठकले आरक्ष, ताल, मध्यवर्ती, निकुञ्ज, संरक्षीत क्षेत्र घोषणा गरेर मान्छेलाई केही फाइदा भएको छ’ उनले भनिन् । पारिवारिक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले वनबाट हरित रोजगारी सिर्जना गर्नुपर्ने भन्दै सरकार उपभोक्ताको मर्मविपरित गएको बताए । कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्काले देशको जंगल बचाउने हाम्रो काम भएको बताए । सामुदायिक वनभित्र धेरै विकृति भएको भन्दै जनताले मागेको अधिकार सरकारले दिनुपर्ने र त्यसको निगरानी पनि सरकारले गर्नुपर्ने बताए । नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले आफ्ना अधिकारका लागि उपभोक्ताहरू सडकमा जाने बेला भएको बताए । उनले सयौँ वर्षदेखि सुकेर ढलेका रूखहरु उठाउन नपाएको बताए ।

कार्यक्रममा बबई गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेल, कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेन, वन महासंघका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्का, वन महासंघ नेपालका न्यायिक समिति सदस्य सावित्रा विश्वकर्मा, द्रोण केसीलगायतले बोलेका थिए । स्थानीय वन महासंघका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला वन महासंघका कोषाध्यक्ष कमलराज पोख्रेलले गरेका थिए ।