कहालीलाग्दा ती दिनहरू–१

यम रेग्मी÷संस्मरण

१७, वैशाख २०७८ । सदाझैँ बिहानै उठेँ । आफ्नो मन आफूसँग छैन अचेल । न मस्त निद्रा पर्छ रातमा । न चङ्ग मन हुन्छ दिनमा । लकडाउने विद्यालय बन्द भएको एक हप्ता भइसकेको छ । विद्यालय मान्छे मरेको घरझैँ रुग्न छ । स्कूल जानु छैन मलाई । घरमै छु । बाउ बाजेको छालामा उब्जेको नै खाएको छ ।

मलाई साँझ बिहानको नुन तेलको दुःख छैन । तर मेरो जस्तो सहज सबैको कहाँ छ र ? सोच्छु । एकातिर कोभिडको महामारी । अर्कोतिर भोकको आतंक । काम गरेर खाने मानिसले जीवन कसरी काटेका होलान् ? राज्य मूर्दा छ । माटो बोल्ला, बोल्दैन । राज्य अन्धो छ । पत्थरले लेख्ला, देख्दैन । राज्यको कानै छैन । भोक र रोगको महाचित्कार अरु प्राणी सुन्छन्, ऊ सुन्दैन । ऊ आफ्नै राजनीतिक भागबण्डामा मस्त छ । प्रतिपक्षसँग कुस्ती खेल्न व्यस्त छ ।

बैंक बन्द छ, अचेल । पत्रपत्रिका बन्द छन् । किराना पसल बिहान एक घण्टा खुल्छ । फेरि बन्द । मानिस भेला भएर साँझ–बिहान चिया पिउने चिया पसल बन्द । खेलकुद कार्यक्रमहरू बन्द । साहित्यिक कार्यक्रमहरू बन्द । अरु सब व्यवसाय बन्द । भेला, सम्मेलन, गोष्ठी, उत्सव सब बन्द छ । काम गरेर खानेहरुका पेट पनि बन्द छन् अचेल । कोभिडको डर छ । वल्लो घरको मान्छे पल्लो घरमा जाँदैन । पल्लो घरको मान्छे वल्लो घरमा आउँदैन । बाटोघाटो रातको बाह्र बजेको मूर्दा घरझैँ छ । मन्दिर देवता पहिलो महिनाबारी भएर भित्र लुकेका छन् । कोही आउँदैन उनको सामु । मान्छे देखेर मान्छे अनौठो जीव देखेझैँ तर्सन्छ । अरुको त के कुरा गरौँ र ? बाआमासँग छोरा छोरी डराउँछन् । छोराछोरीसँग बाआमा डराउँछन् । पति पत्नी छुन हिच्किचाउँछ । पत्ती पतिलाई छुन हात कमाउँछे ।

मलाई थाहा छ । यो लकडाउन केही महिना चलिरहने छ । म ढुक्क छु । भोेैतिकरूपमा मेरो विद्यालय अझै चार÷छ महिना खुल्दैन । यो चार÷छ महिना मैलै लेख्दा लेख्दै छोडेका केही साहित्यतिक कृतिहरूलाई पूरा गर्नुछ । फेरि यो लकडाउनको समयमा पढ्न र लेख्न बाहेक अरु के काम नै गर्न सक्छु र ? बिहानको ७ः२५ बजेको छ । हातमा चियाको कप समाएर बिबिसी सुनिरहेको छु । बिबिसीमा कोभिडका विज्ञहरू चार हप्तासम्म यो बृद्धिदर बढिरहन्छ भनिरहेका छन् । सोचमग्न छु । भोलिका दिन झन कस्ता होलान् ? एक सुरमा पिउँदा पिउँदै थाहै नपाई कपबाट चिया सकिएछ ।

चिया मुखमा पर्न छोडे पछि मात्र थाहा पाए । कप नजिकैको टेबुलमा राख्छु । घ¥याक पारेर पूर्वतिरको झ्याल खोल्छु । झ्यालको नजिक गएर उभिन्छु । धेरै बेर टोलाएर बाहिर परिवेश हेर्छु । धेरै समय भयो । मौसम रोगी छ । रोगले थलिएको बाइलर कुखुराझैँ झुङ्ग परेर झौक्राइरहेको छ । न पानी बनेर रुन सक्छ मौसम । न घाम बनेर खुलेर हाँस्न हाँस्न नै सक्छ मौसम । मौसम जस्तै मन पनि उदास छ । उराठ छ । रातदिन छट्पिटिरहन्छ ।

प्रतिदिन कोभिडको सङ्ख्या बढ्दो छ । बढ्दो सङ्ख्यासँगै मृत्युदर पनि बढ्दो छ । न खुलेर हाँस्न सक्छु । न चिच्चाएर डाको छोडेर रुन सक्छु । आजभन्दा भोलि । भोलि भन्दा पर्सी । मौसम झन डरलाग्दो बन्दै गएको छ । यो भयाभह अबस्थामा जोगिनु पनि छ । परिवारलाई जोगाउनु पनि छ । घरको चौघेराभित्र रहँदा मन उकुस–मुकुस भएको छ । केही दिन भयो रातमा अबेरसम्म पनि निद्रा पर्न छोडेको छ । आजको रात १२ः०० बजेपछि मात्र सुते । टाउको पचास किलोको फलामको ढकझैँ गरुङ्गो छ । आँखा काचै छ । जिरे खुर्सानी परेझैँ पिरा भएका छन् ।

बिहानदेखि कोठामै टोलाई रहेको छु । कोठा छोड्न मन छैन । फेरि अरुको घरमा गएको कसले पो राम्रो मान्छ र ? छोरा युगीनले बाख्रो छ्यो भनेको आवाज कानमा आएर ठोक्कियो । खग्रिङ्ग भए छोराको आवाजले । यही चैतको १८ गते सृजनशील बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेको छु । यही कोभिडको खराब अबस्था देखेर फर्म दर्ता गरेको हुँ । छोटो समयमै फर्ममा अठार ओटा बाख्रा छन् । बारी बाँझै छ ।

खेत बाँझै छ । चारैतिर खुल्ला छ । खेतभरि गाउँभरिका भैँसी, बाख्रा, गाई चरिरहेका छन् । छोरो बाख्रासँग खेतमा रमाइरहेको छ । समय समयमा म पनि उनीहरुको हेरचाह गर्छु । समय काट्ने बाटो भएका छन् ती बाख्राहरू मेरा लागि अचेल । श्रीमती बा जत्तिकै बूढो घरको भान्सामा खाना पकाइरहेकी छिन् । उनले खान बोलाइन् । उनको आवाजले झसङ्ग भए । हेगरबाट कट्टु र बन्डी भिके । ब्रस गर्दै बाथरुम छिरे । नुहाएर केही बेरमै भान्सामा छिरे ।

खै किन हो ? सदाको झैँ खाना मीठो भएन आज । जिब्रोले पनि खासै स्वाद पाएन खानाका । तैपनि मन नलाई नलाई खाए । कसैलाई केही भनेन । श्रीमतीले खान नरुच्नुको धेरै कारण सोधिन् । केही नभएको बताए । खान खाएर वेड रुममा छिरे । का जानू र अन्त ? यो लकडाउनको महामारीमा । पलङमा ठूलो सालको रुख ढलेझैँ गलम्म पल्टिए । रातमा निद्रा नपरेर होला । थाहै पाइन । भुसुक्क निदाएछु ।

जब दुई घण्टा पनि आँखा खुल्छ मेरा । आफूले अर्कै भएको भान भएको छ । आफू अर्कै संसारमा छु जस्तो लागि रहेछ । शरीर पुरै भारी भएको छ । भित्ताको घडी हेर्छु । दिनको १ बजेको छ । उठेर घरलाई एक फन्का लगाउँछु । सुगरले गाजेको बिरामीझैँ आँखा तिर्मिराइरहेका छन् । बाहिरी मौसम उदास छ । बाटोघाटो, खेत, बारी कतै एकजना पनि मानिस देख्दैन । मन झनै उदास गराउँछ मौसमले ।

फरक्क फर्केर कोठामै छिर्छु । थचक्क बस्छु
पलङ माथि । भित्रभित्र छट्पटी भएको
छ ।शरीरबाट खलखली पसिना
आएको छ । माथि सिलिङ्गमा
फ्यान नाचिरहेको छ ।
तर त्यसको केही अर्थ छैन ।

केही सहज हुन्छ कि
भनेर पलङमा
पल्टिन्छु । सुत्न खोज्छु ।
सक्दैन । फेरि
जुरुक्क उठ्छु । लामो सास तानेर फ्याक्छु ।

छटपट्टी उस्तै छ । हेङ्गरबाट कट्टु बन्डी र टाबेर बोकेर फेरि बाथरुम छिर्छु । नुहाइले केही शीतलता दिन्छ । केही क्षण सहजको अनुभूति हुन्छ तनमा । पहिलेझैँ पलङमाथि पल्टन्छु । भुसुक्क निदाएछु ।जब आधा घण्टा पछि आँखा खुल्छ । म छट्पटिन्छु । शरीरको पछाडिको ढाड यति धेरै दुखेको छ कि म शब्दमा ब्यक्त गर्न सक्दैन । ढाड कट्कटी खाइरहेको छ । कहिले बाहिर गर्छु । कहिले भित्र गर्छु । तर केही सहज हुँदैन । छट्पटीमै दिन जान्छ । छट्पटीमै साँझ पर्छ । रात छट्पटीमै जान्छ । ब्रोफिन, निम्स जुन औेषधि खाए पनि दुखाई कम हुँदैन ।

१८, वैशाख २०७८ । रातभरिको छटपटी होला । हिजोभन्दा आज झनै शरीर थाकेको छ । बिहानीपख झपप्प आँखा लागेछन् । बाँकी पुरै रात छटपटीमा बित्छ । बिहानीपख दुखाईमा केही सहज हुन्छ । अल्छी गरेर पलङमा पल्टी रहेको छु । श्रीमती चियाको कप टेबुलमा राख्दै बोलिन्, ‘छिटो उठ्नुहोस् र कोभिड चेक गराउन जानुस् ? ढिलो गर्ने समय छैन ।’

म केही बोल्दैन । मुखमा हेरेर मुसुक्क हाँस्छु । उठेर चियाको कप हातमा लिन्छु ।सोच मग्न भएर चिया पिउन थाल्छु । ‘हाँसेर टार्ने होइन ? रातभरि मरे र छिरे गर्ने । अहिले वास्तै नगर्ने । छिटो फ्रेस भएर निस्कनुहोस्’ उनी बोल्दै आफ्नो कामतिर लागिन् । तयार हुन्छु । जब हातमा बाइकको साँचो लिएर बाइकमा चढ्छु । मेरो मन बदलिन्छ । म घोराही नगएर सुन्पुरको मेडिकलमा जान्छु । थप केही औषधि लिएर आउँछु । खाना पछि खान्छु ।

रातभरिको छटपटीले होला झपक्क आँखा लाग्छन् । भुसुक्क निदाउँछु ।केही समय पछि उठ्छु र निधार छाम्छु । निधार तातो छ । विहान ल्याएको ज्वरोको औषधि खान्छु । औषधिले केही सहज हुन्छ ।

साँझ जब खाना खाएर कोठामा छिर्छु । गएको रातको अनिदोले होला । भुसुक्क निदाएछु । निदाएको केही बेरमै आँखा खुलेछन् । भित्ताको घडीतिर हेर्छु । रातको १०ः३० बजेको छ । टाउकाको पछाडिको भाग दुख्न थालेको छ । यति बेसरी दुख्न थालेको छ कि म शब्दमा ब्यक्त गर्न सक्दैन । पन्ध्र पन्ध्र सेकेन्डको फरकमा चट्याङ्ग पर्दा आकाशमा बिजुली मिल्किएझैँ दुख्न थालिरहेछ । लगातार दुखिरहेको भए सायद मरिजान्थे होलो । पन्ध्र पन्ध्र सेकेन्डको दुखाई बाँच्न सकेको छु ।

मध्य रात छ । कहाँ जाऊ यो रातमा ? कलाई बोलाऊ यो महामारी । दुखाई रहन सक्ने अबस्थामा छैन । केही समय बाहिर आएर बस्छु । बाहिर बस्दा अलिकति भए पनि सहज हुन्छ । जब कोठाभित्र पस्छु । दुख्ने क्रम उस्तै छ । साना छोराछोरी नजिकैको पलङमा निदाएका छन् । साथमाश्रीमती छिन् । उनी मेरो पीडाले म भन्दा झन धेरै छट्पटी रहेकी छन् । एक केही दिन भयो । उनलाई पनि सन्चो छैन । त्यसमाथि मेरो यो छट्पटी देख्दा उनलाई झन पीडा भएको छ । रातभरि आँखा झिमिक्क नपारेर ।अथाहा पीडा । अथाहा छटपटीमा । रात बित्छ ।बिहान उज्यालो भएपछि झपक्क आँखा लाग्छ । क्रमश…