अनलाइन शिक्षा र प्रभावकारिता

विनोद पोख्रेल

२०७७ साउन २१ गते

खुशी सानातिना कुराले पनि दिन्छ । अझ मजस्तो मानिसलाई त न ठूलो काम नै केही गरिन्छ न त ठूलो खुशीको अपेक्षा नै हुन्छ । यस्तालाई सानातिना काम र सानातिना खुशी नै खुशी हुन् । अस्ती आनन्दको छोरो विभु साँझ पर्न लागेको बेलामा हामीकहाँ आयो । अरु पारिवारिक गतिविधि वा राम्रा नराम्रा सबै कुराहरु बिर्सिए । त्यो आउनमात्रैले खुशी र सन्तुष्टि महसुस भयो । आफ्नोलाई आफ्नोले खोज्छजस्तो लाग्यो ।

कुनै कारणले खोजेजस्तो नदेखाए पनि उसको चेतन मनले यी मेरा हुन् भन्ने बुझेको हुन्छ । त्यसैको प्रभाव या परिणामले भन्दा ठीक हुन्छ, यस्ता गतिविधिहरु । ऊ आउनु र म खुशी हुनु दुबै एउटै सिक्काका पाटाहरु हुन् । त्यस्तै हिजो बैठकमा बसिरहेको बेला दुईजना व्यक्ति आएर बोलाए । बाहिर निस्के । एकजना पत्रकार महासंघ दाङको पूर्व अध्यक्ष के.एल. बुढाथोकी पीडित र अर्का विदेशमा पनि पत्रकारिता क्षेत्रमा काम गरेका गणेश बञ्जाडे रहेछन् । गणेशलाई केएलले परिचय गराइदिएका हुन् । उनीहरु सामान्य भेटघाट अनि मेरो भर्खरै विमोचन भएको कृति लिन आएको भने । खुशी लाग्यो । दिए ।

उनीहरुले पैसा दिन खोजेका थिए । मैले नलिने भने । यत्तिले पनि प्रशस्त खुशी लाग्यो । हिजो त केही दिनपछि घोराही पनि पुगेर फर्कें । त्यसले पनि केही न केही खुशी लागेकै थियो । अनुभव अचम्म अचम्मको हुन्छ । लगातार दुई दिन यी साना कुराले खुशी गराए । यता, संयोगले मेरो पुस्तकको विमोचनको निहुँमा हामी सम्पूर्ण परिवार जुटेका थियौं । विद्यार्थीहरुको स्कुल बन्द हुनु, कामको व्यस्तता पनि धेरै नहुनु, काठमाडौंबाट आउनलाई आफ्नै साधन हुनु सबै कुरा मिलेकोले सबै जुटेका थियौं । अब सुस्त–सुस्त घट्ने क्रम सुरु भएको छ ।

हिजो विक्रम र विन्दु लमही गए । उनीहरु आफ्ना–आफ्ना विद्यालयमा हाजिर हुनुपर्ने । आज विशाल र आत्मा काठमाडौंलाई हिडे । नानी पनि उनीहरुसँग लमहीसम्म जाने गरी गई । हुन त दशैँमा सबै जुट्ने हो । समयको कुरा गर्ने हो भने दुई महिना र केही दिनको एक पटक यस्तै जमघट हुने हो । तर पनि घरबाट हिँड्नै लाग्दा भने अलि माया लाग्छ ।उनीहरु गन्तव्यमा नपुग्दासम्म अलि बढी चिन्ता पनि लाग्छ । त्यसैले सधै पुगेर फोन गर्न भन्छु । अरु भन्ने कुरो केही हुँदैन । काम गर्न जाने हुन् । जान आवश्यक नै छ ।

त्यसकारण केही भन्न सक्दैन वा भन्दैन । तर पनि ठ्याक्कै हिँड्ने बेलामा आफ्ना बच्चा आफूसँग छुटेर गएको जस्तो अनुभव हुन्छ । त्यो एक मिनेट वा केही सेकेण्ड मात्रै भए पनि अलि नमीठो अनुभव गराउने क्षण हुन्छ । पछि सामान्य भैहाल्छ । अहिलेकै कुरा गर्ने हो भने त्यसको कुनै प्रभाव छैन । सजिलरी समयमै पुगून् भन्ने सोचमात्र छ । अझै पनि हामी घरमा धेरै छौं । विपुल पनि घरमै छ । दादा र बुटे पनि यही छन् । यिनी त सायद दशैँसम्मे यतै बस्छन् होला । विपुल कतै केही कामले केही दिनलाई निस्कने कुरा आफ्ना साथीहरुसँग फोमा गरेको थाहा छ ।

फेरि उसले पढ्दै गरेको विषयको अर्को सेमेस्टरको परीक्षा हुने भए काठमाडौँ पनि जानैपर्ने छ ।तर यस्तो परिस्थितिमा जाँच हुने नहुने, हुने भए कहिले हुने मलाई केही थाहा छैन । आज केही समाचार आए पनि तयारीमा त बस्नैप¥यो । तर पूर्णरुपमा विश्वास गर्ने वातावरण छैन । नानीमात्रै नभएको जस्तो अनुभव त भएकै छ । अरु तीनभाइ यही छन् । उता, केही पढाई र केही सुनोपनका लागि नानी गए पनि जावस् भन्ने पनि लाग्यो । फेरि नानी र बुटे सँगै भए पढाइ सम्भव छैनजस्तो पनि लाग्यो । त्यसैले मनले नमान्दा नमान्दै पनि नानीलाई पठाउन परेको छ । केही दिन बरु नानी अली बढी रहन्छे कि मनमा ?

२०७७ साउन २२ गते

प्रविधिले नयाँ नयाँ कुरा देखाउँछ । नयाँ कुरा सिकाउँछ । हामीले नयाँलाई महत्व दिन्छौं । नयाँप्रतिको आकर्षण गलत पनि हैन । हाम्रो गलत सोच एउटा मात्रै छ । त्यो भनेको नयाँले हामीलाई राम्रो वा सकारात्मक कुरा के कति दियो अथवा दिएन त्यसको मूल्यांकन गर्दैनौं । नयाँ आयो भने पुरानो बिस्र्यो । अनि नयाँ उचित प्रमाणित भएन भने अरु नयाँ खोज्ने बानी हामीमा बसेको छ । मैले नयाँप्रतिको आकर्षणको बारेमा लेख्न खोजेकै होइन । आज मेरो मनमा भएको कुरा वर्तमानमा चलेका अनलाइन पढाइहरुको बारेमा हो ।

पहिलो कुरो त देशभरिका आधाभन्दा बढी विद्यार्थीहरु अनलाइनभन्दा बाहिर छन्, जस्तो लाग्छ । यो कुरा मैले तथ्यांकको आधारमा भनिरहेको छैन । मेरो अन्दाज मात्र हो । हाम्रो देशको भूगोल, आम नागरिकको आर्थिक क्षमता, प्राविधिक ज्ञान आदि सबैको आधारमा अन्दाज गरेको हुँ । दोस्रो कुरो अनलाइन कक्षाहरुबाट विद्यार्थीलाई सबै विषय नियमित पढाउन कति सम्भव छ ? त्यस्तै त्यसरी पढाउँदा विद्यार्थीले कति बुझ्न सक्छ ? यसरी पढाउनुका केही राम्रा पक्षहरु पनि छन् । विद्यार्थीहरु कक्षा कुरेर बस्छन् । आफूले पढेको महसुस गर्छन् । केही समय बुझे पनि नबुझे पनि कक्षामा र होमवर्कमा वित्छ ।

यसको राम्रो प्रभाव प्राज्ञिक पक्षमाभन्दा मानसिक पक्षका परेको होला । धेरै थोरै फाइदा प्राज्ञिक पक्षमा पनि भएको हुनसक्छ । तर बाल मनोविज्ञानको भरमा भन्दा के विद्यार्थी अनलाइन कक्षामा त्यति एकाग्र हुनसक्छ भनेर विश्वास गर्न सकिन्छ ? त्यस्तै कक्षाकै लागि भनेर प्रयोग गरिने सामग्री जुटाउन आर्थिकरुपमा कति सहज छ ? त्यस्तै हामीले जानर वा नजानेर चाहेर वा नचाहेर कतै हाम्रा बच्चाहरुलाई ती सामग्री प्रयोग गर्ने एक प्रकारले एडिक्ट बनाउन लागेका त छैनौँ ? अर्को पक्ष जो समूह यो प्रविधि प्रयोग गर्न कुनै कारणले पाइरहेको छैन वा सकिरहेको छैन, उसको मनोदशामा यसको कस्तो प्रभाव पर्छ ? शिक्षाजस्तो कुरो पुगीसरी आउनेलाई मात्रै दिने कुरो पक्कै हुनु हुँदैन । म कुनै प्रकारले शिक्षाको विरुद्ध छैन तर एउटा कुरा शिक्षा कसैलाई सम्भव र कसैलाई असम्भव बनाइनु हुँदैन ।

अर्को कुरा यस्तो शिक्षाले हाम्रा सन्तानलाई काम चलाउको स्तरमै मात्र राख्दै हुन् कि भन्ने चिन्ता छ । तेस्रो कुरो कतै मसिन एडिक्ट बन्छन् कि भन्ने चिन्ता पनि छ । त्यसै त यस्ता सामानमा गेम खेलेर एक्लोपनको शिकार भएर डिप्रेसनमा जाने र कतैकतै ज्यानसमेत फाल्ने समाचार आइरहेको बेला हामीले आफै उनीहरुलाई एडिक्ट बनाउँदैछौ कि ? पढाइको स्तर कस्तो छ भनेर परीक्षा पनि अनलाइनमै लिने सोच छ भने चर्चा पनि सुनेको छु । त्यसमा पनि आपत्ति हुने कुरो भएन । मेरो चिन्ता र माग भनेको यो शिक्षा शैलीको प्रभाव कस्तो परिरहेको छ त्यसको समयमै अध्ययन अनुसन्धान हुन जरुरी छ ।

राम्रो छ भने यसको दायरा अझ बढाउनुपर्छ । जो यो प्रविधिभन्दा बाहिर छन्, तिनलाई पनि गाउँमा एउटा टि.भी. दिएर वा यस्तै अन्य विकल्पसमेत खोजेर सहभागी बनाउन सक्नुपर्छ । यहाँ रेडियो शिक्षाको पनि प्रयोग गरिएको छ । रेडियो बाँडिएकै हुन् । त्यस्तै अहिले दश वा बीस विद्यार्थीको लागि एउटा टि.भी. को व्यवस्था गर्नुपर्ने पनि हुनसक्छ अथवा अरु विकल्पको बारेमा पनि सोचिनुपर्छ । मूल पक्ष भनेको यो कति प्रभावकारी छ र यसले कतिलाई समेटेको छ भन्ने कुराको पूर्ण अध्ययन आवश्यक परे अनुसन्धानसमेत हुनुपर्छ । शिक्षा सबैको लागि हुनुपर्छ र शिक्षा पूर्णरुपमा प्रभावकारी पनि हुनुपर्छ । शिक्षाको बारेमा अहिले अलि गम्भीर हुन र बलियो इच्छाशक्तिको भरमा निर्णय गर्न जरुरी छ ।