२० बिगाहामा पैठेजोरी खेल्दै ७ युवा
अमरराज आचार्य
दाङ, ५ असोज । ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन…’ गायिका अरुण लामाको यही गीतका शब्दजस्तै सन्तोषको जीवन पनि सोचेजस्तो भएन । वैदेशिक रोजगारीका लागि विदेश गएका रोल्पा थवाङका सन्तोष घर्तीमगर अहिले स्वदेश फर्केर अर्कै जीवन भोग्दैछन्, तरकारी बारीमा । रोल्पाका सन्तोष खाडीमा भन्दा बारीमा सन्तोष छन् ।
खाडीले भन्दा बारीले उनलाई प्रतिफल दिएको छ । सन्तोषको खाडीमा काम गर्नुपर्दाको पीडालाई तरकारी बारीमा काम गर्दाको आनन्दले भुलाएको छ । अर्काको गुलामीको कमाइमा भन्दा आफ्नै मेहनतको कमाइले उनीहरुको मन खुसी छ । रोल्पा थवाङ घर भए पनि दाङ झरेर सन्तोषले ७ जना युवाहरुको समूह बनाएर सामूहिक तरकारी खेतीमा छन् । अहिले सन्तोषसहित ७ युवाहरु २० बिगाहा जग्गामा लगाइएका तरकारीमा रमाइरहेका छन् ।
सन्तोषको विहानैदेखिको दैनिकी घोराही उपमहानगरपालिमा वडा नं. १३ तरकारी बारीबाट सुरु हुने गरेको छ । साथमा उनका सहलगानीकर्ता साथीहरु पनि छन् । आइतवार उनी तरकारी बारीमा टमाटरका पात काट्दैको अवस्थामा भेटिए । उनीसँगै अरु युवाहरुले पनि टमाटर खेती स्याहारी राखेका थिए । उनको दैनिकी केही वर्षयता यसरी नै बित्ने गरेको छ । ‘स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशबाट फर्केको हुँ, यहाँ साथीभाइ मिलेर तरकारी खेती गर्दै आएका छौं’, सन्तोषले सन्तोषको श्वास फेर्दै बारीमा पुगेको सम्वाददातालाई भने । त्यसो त उनको जन्मथलो रोल्पा हो । तर त्यहाँ व्यावसायिक तरकारी खेतीका लागि उपयुक्त जमिन नभएकाले उपयुक्त स्थानमा जग्गा भाडामा लिएर यो पेशामा जोडिएको बताउँछन् ।
अहिले रोजगार पाउन नसकेको भन्दै धेरै युवाहरु विदेशिने गरेका छन् । तर सन्तोषसँगै अन्य ७ जना युवाहरु मिलेर ७ वर्षअघिदेखि कृषि कर्म गरिरहेका छन् । बारीमा तरकारी लहलह बढ्दै जाँदा उनीहरुको मन पनि फुरुङ्ग हुन्छ । घोराही उप महानगरपालिका–१३ र घोराही–१८ मा गरेर २० बिगाहा जग्गा उनीहरुले तरकारी खेतीका लागि लिजमा लिएका छन् । अहिले बारीमा विभिन्न जातका तरकारीहरु हुर्किरहेका छन् । बेमौसमी तरकारी उनीहरुको चाहना भए पनि अहिले उनीहरुले बारीमा टमाटर, काउली, सिमी र केराउ रोपेका छन् । दशै तिहारसम्म तरकारी तयार हुने उनीहरुको आशा छ ।
रोजगारको लागि विदेश गएका सन्तोष करिब ३ वर्ष उतै बिताएका थिए तर भनेजस्तो नभएपछि स्वदेशमा नै केही गर्नुपर्दछ भनेर कृषि पेशालाई अगाडि बढाएको बताउँछन् । ‘सानैदेखि नै कृषि पेशा गर्दै आएकाले यसैलाई अगाडि बढाउनुपर्दछ भनेर यसैमा नै लागियो’, सन्तोषले भने । तरकारी खेती गर्नुभन्दा पहिले उनले कुखुरा पालन पनि गरेका थिए । तर कुखुरा पालनमा भनेजस्तो फाइदा नभएपछि उनी हाल तरकारी खेतीमा जोडिएका छन्, समूह बनाएर । तर यति धेरै जग्गा भाडामा लिएर तरकारी खेती सुरु गर्दा पनि सरकारी निकायको कुनै पनि सहयोग नभएकोमा उनीहरुको गुनासो छ ।
‘आफूहरुले कृषि गर्न थालेको ७ वर्ष बितिसक्दा समेत हालसम्म राज्यको तर्फबाट कुनै पनि सहयोग पाउन सकेका छैनौं’, सन्तोषले भने । आफूहरुलाई अनुदानको अपेक्षा नभए पनि राज्यका तर्फबाट केही प्राविधिक सहयोग र हौसला पाएको भए काममा अझै उत्साह बढ्ने उनीहरुको भनाइ थियो । अहिले मुलुकमा संघीयता आएर तीन तहका सरकार बने पनि उनीहरुको कृषिमा तीनै तहका सरकारको नजर परेको छैन । झोले किसान र कागजी फर्मलाई सरकारी अनुदान प्राप्त हुने गरेकोमा उनीहरुको तीनै तहका सरकारप्रति गुनासो थियो । ‘हामीले अनुदान पाएनौं भन्ने होइन, झोले किसानलाई होइन बास्तविक किसानलाई राज्यले हेरोस् भन्ने मात्र हाम्रो चाहना हो’, सन्तोषले भने ।
उनीसँगै तरकारी खेती गरिरहेका बालकृष्ण बुढामगर करिब ५ वर्षभन्दा बढी इलेक्ट्रीसियन भएर काम गरेका थिए ।
देशका विभिन्न स्थानमा इलेक्ट्रिसियन भएर काम गरे पनि सन्तुष्ट हुन नसकेपछि उनले त्यसलाई छोडेर कृषि पेशा नै रोजे । ‘देशका विभिन्न स्थानमा गएर इलेक्ट्रिसियन भएर काम गरियो, जागिर छोडेर अहिले कृषिमा लागेको हुँ’, बालकृष्णले भने । अहिले पनि उनले कसैले बोलाएमा इलेक्ट्रिक काम गर्ने गरेका छन् । आफू स्वतन्त्र भएर काम गर्न पाइने भएकाले आफू कृषि व्यवसायमा लागेको उनको भनाइ छ । ‘अहिले स्वतन्त्र भएर काम गर्न पाइएको छ कसैको दबाव छैन’, बालकृष्णले भने । देशको विकासका लागि कृषिलाई अगाडि बढाउनुपर्दछ । ‘नेपालको विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्दछ’, बालकृष्णले भने । तर धेरैको प्राथमिकतामा कृषि नपर्ने गरेको उनी बताउँछन् ।
राज्यले यसका लागि वातावरण बनाउन सक्नुपर्ने उनको भनाइ छ । ‘कृषकले उत्पादन गरेको उत्पादनलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्दछ’, बालकृष्णले भने । तर अहिलेसम्म त्यस प्रकारको कार्य राज्यको तर्फबाट हुन सकेको छैन । ‘वास्तविक कृषकका लागि राज्यले केही गर्न सकेको छैन’, बालकृष्णले भने । धेरै मेहनत गरेर उत्पादन गरे पनि मूल्य पाउन नसक्दा कृषकहरुले घाटा व्यहोर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा धेरै कृषकहरु कृषि क्षेत्रबाट पलायन हुने गरेका छन् ।
उनीहरुले आफूहरुबाहेक घोराही १३ र १८ मा गरेर ४० जना लाई रोजगारसमेत दिएका छन् । क्षेत्र विस्तार गर्दै गएमा थपलाई रोजगार दिन सक्ने उनीहरु बताउँछन् । रोजगारको लागि विदेशिने युवाहरुलाई स्वदेशमा नै केही गर्न उनीहरुले सुझाव दिन्छन् । अरुले देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउनुपर्ने उनीहरुको भनाइ रहेको छ । जसले गर्दा देशको विकासका समेत केही मात्रामा भए पनि सहयोग पुग्ने छ । नेपाललाइ कृषिप्रधान मुलुक भन्दै कम्तीमा ६५ प्रतिशत भन्दा बढी नागरिक कृषिमा आधारित छन् । तर नेपाल अझै पनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन । बर्षेनी अर्बौंको कृषि उपज बाहिरबाट आयात गर्नुपरेको छ ।