खेमराज रिजाल
दाङ, ५ असोज । ‘सत्रुहरुको आशीर्वाद’, यो कोटेशन लेखिएको एउटा यात्रुवाहक भ्यानमा आँखा टक्क रोकियो । गाडी नम्बर ७७१.. मात्रै मैले नोट गरेँ । शनिवार प्युठानका आफन्त बितेको शोकमा सहभागी हुन जाने क्रममा वाग्दुला—बाहने रुटमा चल्ने गाडीमा लेखिएको यो सायरीमा चालकको असहज अवस्थालाई सहजै पढ्न सकिन्थ्यो । चालक त्यतिबेलासम्म सफलतापूर्वक सवारी साधन चलाइरहने छ, जतिबेलासम्म उसका सत्रुहरु बाढीपहिरो, सडकमा टिप्परले पारेका ठूलाठूला खाडल, भत्केको कालोपत्रे, साँघुरा घुम्ती आदिहरु । सबैले साथ दिएमा उसको यात्रा सफल हुनेछ ।
गाडीवालाहरुले थरीथरीका सायरीहरु लेखेका हुन्छन् । मानौं सबै सवारी साधनका सायरीहरुलाई विश्लेषण गर्दै जाने हो भने एउटा सायरी काव्य बन्न सक्छ, तर मलाई त्यही सायरीले कलम डो¥याउन विवश बनाइरहेको छ । मलाई यसलाई नेपाली कांग्रेसको महाधिवेशनसँग जोड्न मन लाग्यो । हो सत्रुहरुको पनि आशीर्वाद पाएर नेतृत्व लिनेहरु सफल हुनेछन् । उनीहरुको राजनीतिक यात्रामा ब्रेक लाग्ने छैन, यदि सत्रुहरुले सधै आशीर्वाद दिइरहे । मैले देखें तुलसीपुर उपमहानगरपालिका–११ को वडा अधिवेशन, तुलसीपुर–१७ को अधिवेशन, घोराही–५ को अधिवेशन, लमहीको अधिवेशन अनि शान्तिनगर गाउँपालिकाको एउटा वडाको अधिवेशन । त्यहाँ त आशीर्वादको झल्को नै देखिएन ।
पुरै निषेधको राजनीति । कति हस्तीहरु क्षेत्रीय अधिवेशनमै राजनीतिक विश्राम लिन पुगे । सत्रुहरुलाई आउनै नदिने । यस्ता खेलले राजनीतिमा ईष्र्याबाहेक के उत्साह ल्याउन सक्छ र ? यो डायरी मेरा व्यक्तिगत धारणाका अभिव्यक्तिको संगालो मात्रै हो । कसैलाई लान्छना लगाउन खोजेका अभिव्यक्ति होइनन् भन्ने बुझिदिनुहोला ।
गाउँ÷नगर अधिवेशन नजिकिँदै गर्दा त्यहाँ नेतृत्व लिन आकांक्षी उम्मेदवारहरु अहिले चुनावी मैदानमा होमिएका छन् । मत माग्न गाउँ–गाउँसम्म । मानौं आम निर्वाचनकै निम्तोजस्तै हो यो अधिवेशनको माहोल । चिया पसलदेखि चोक चौतारासम्म चिया गफ भइरहन्छन् । नेपाली कांग्रेसका उम्मेदवार भनेर कहिँकतै पनि चर्चा गरिँंदैन । गाउँ नगर अधिवेशन भएकाले पनि होला, सबैतिर टिमकै चर्चा छ ।
लमही नगरमा सभापतिका ७९ बर्षीय आकांक्षीलाई पार्वतीको उम्मेदवारका रुपमा प्रस्तुत गर्नु कति लाजमर्दो कुरा । जब कि पार्वती डिसी चौधरीभन्दा उमेरले धेरै पाका आकांक्षी हुन्, उनी । पार्वती नजन्मदै उनको राजनीतिक रुची सुरु भएको थियो होला । हो, अन्त पनि निकै चर्चा सुनिन थालेको छ, राजुको उम्मेदवार, भूपबहादुरको उम्मेदवार, वीरकेशरीको, कमलकिशोरको, दीपकको, गेहेन्द्रको, बुद्धिरामको अनि…। कांग्रेसको उम्मेदवार भन्नुपर्ने होइन र सबैलाई ! अधिवेशन जति नजिकिँदै छ, चहलपहल त्यतिनै तातिँदै छ । तुलसीपुरमा तेस्रो धार रे ।
‘पार्टीको नाम एउटै, आदर्श र सिद्धान्त एउटै, झण्डा एउटै, चुनाव चिन्ह एउटै, किन चाहियो तेस्रो धार ?’ तुलसीपुरको पार्क क्याफेमा चिया पिउदै गर्दा पश्चिम दाङको शान्तिनगरबाट क्षेत्रीय प्रतिनिधिमा चुनिएका एक युवाले आक्रोश पोखे । उनको आक्रोशमा मेरो कुनै विमति छैन । हो, युवाहरुले यस्तै मन लिएर निर्वाचनमा गए सही नेतृत्व आउन सक्छन् । कांग्रेसमा गुटबन्दी केन्द्रका नेताले गराएका होइनन्, तलैबाट सुरु भएको अड्कल पनि अनुचित होइन । अधिवेशनमा अहिले धेरै युवाहरु क्षेत्रीय प्रतिनिधिका रुपमा आएका छन् । उनीहरुले अब गुट नचिन्न सक्नेछन् । टिम नमान्न सक्नेछन् । उनीहरुले इमान्दार र कर्मशील नेतृत्व आफै चुन्न सक्ने क्षमता राख्नेछन् । त्यसैले पनि अब गुटका भ्रममा नपरे उययुक्त हुन्थ्यो कि !
महाधिवेशन पार्टीको एउटा नयाँ जीवनको सुरुआतको अवसर पनि हो । नयाँ विचारको मन्थन गर्ने अवसर पनि हो । त्यसैले सक्षम व्यक्तिलाई आवश्यकताअनुसार तलदेखि माथिसम्म पठाउने स्वतन्त्र अधिकार क्षेत्रीय प्रतिनिधिहरुलाई नै दिँदा राम्रो हुने होइन र ? अग्रज नेताहरुले पनि यही मान्यता राख्नुपर्ने होइन र ? यो मेरो खेमाको भन्दा पनि यो सच्चा कांग्रेसको नेतृत्वमा जान उपयुक्त छ भन्ने होइन र ? सोमवार बिहानको टेलिफोन कुराकानीमा एकजना महिला नेतृले चिन्ता व्यक्त गरेकी थिइन्, ‘टिममा पर्न सकिन, तैपनि एक्लै लड्दैछु, भोट मागेर सहयोग गरिदिनुहोला ।’ कति पीडा छ, स्वतन्त्ररुपमा नेतृत्व लिन माथि पुग्न चाहनेहरुलाई । के कसैको बुई नचढी कांग्रेसको नेता बन्न सकिन्न र ?
मैले फेरि पनि त्यही गाडीको सायरी सम्झें, सत्रुहरुको आशीर्वाद । महाधिवेशनमा ती व्यक्तिहरु पुग्न सक्नेछन्, जसले सत्रुहरुको पनि आशीर्वादको अपेक्षा गरेका हुन्छन् । सबै तहका आकांक्षीहरुलाई मेरो बधाइको शुभकामना, सत्रुहरुको श्राप होइन आशीर्वाद लिनुस्, अवश्य सफल हुनुहुनेछ, परिणाम अग्रज नेतृत्वहरुले सोचेजस्तो नहुन सक्छ, तलैबाट निषेध गर्ने गुटपरस्त राजनीतिक संस्कारको अन्त गरौं । चोक–चौताराका चिया गफले यही सन्देश दिइरहेका छन् ।