स्वास्थ्य बीमाबारे नागरिक अनभिज्ञ

बालाराम खड्का

तुलसीपुर, ४ असोज । यहाँका गरिब विपन्नले उपचार गर्नकै लागि गाउँमा व्याज कारेर रकम लिएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कायमै छ । कोही पनि नागरिक पैसाको अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू भएको सुनेका छन् तर त्यसको बारेमा उनलाई कसैले पनि अहिलेसम्म बुझाएको छैन् । ज्येष्ठ नागरिक सेवकराम वलीले बिरामी हुँदा आफूहरुले कुनै पनि औषधिउपचार निःशुल्क नपाएको गुनासो गरे । उनीहरुजस्तै धेरैलाई स्वास्थ्य बीमाको बारेमा जानकारी नहुँदा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन् ।

२०७७ साल माघ ३० गतेदेखि दाङमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन हुन नसक्दा बीमा गराउनेको संख्या न्यून रहेको छ । तुलसीपुर उपमहानगरपालिकाले भर्खरै गरेको वार्षिक समीक्षामा पनि स्वास्थ्य अधिकारीहरुले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्देश्यका नेपाल सरकारले स्वास्थ्य बीमा ऐन बनाएर लागू गरे पनि त्यसले भने सार्थकता नपाएको सार्वजनिक कार्यक्रमै गुनासो गरेका थिए ।

नेपालका सबै नागरिकले अनिवार्यरुपमा स्वास्थ्य बीमा गर्नु भनिएको छ । सरकारले अति गरिब, पूर्ण अपाङ्गता, क्षयरोग, कुष्ठरोग, एचआईभी संक्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने १ लाखसम्मको निःशुल्क बीमा गर्ने कार्यक्रम ल्याएको छ । त्यो पनि सबै नागरिकले जानकारी नपाउँदा ज्येष्ठ नागरिक तथा अति गरिब विपन्नले हाल कुनै उपचार गराउनुप¥यो भने आफैले गोजीबाट रकम तिर्नुपर्ने समस्या भएको गुनासो छ । ‘सरकारको यति राम्रो काम कसैलाई जानकारी छैन् न वडाका प्रतिनिधिहरुले भन्छन् न अरु कसैले वली ले भने ? ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँचजनाको परिवारले ३ हजार ५ सय बुझाउनुपर्ने र ३ हजार ५ सय बुझाएर स्वास्थ्य बीमा गरे एक वर्षका लागि १ लाख बराबरको उपचार परिवारमध्येका जुनसुकै बिरामी भए पनि पाइने व्यवस्था भए पनि त्यो कार्यक्रम प्रभावकारी नभएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख ओमपी न्यौपाने बताउँछन् । उनका अनुसार हाल ३५ हजार जनसंख्यामा ३ हजारले मात्र बीमा गराएको बताए । उपमहानगरपालिका गाउँपालिकाका वडास्तर सम्म अभिमुखीकरण कार्यक्रम भने भइसकेका छन् । तुलसीपुर उपमहानगरपालिकामा पनि सबै वडाहरुमा तालिम दिएर प्रतिनिधिहरुसमेत छनोट भएको बताएको छ । तर सोचे अनुरुप काम भने हुन सकेको छ्रन् ।

यसमा वडाका प्रतिनिधिहरुले समेत चासो र महत्व नदिएको जनगुनासो रहेको छ । ‘कुनै आफ्ना मान्छे भर्ति गर्नुप¥यो, कुनै अन्य काम आफुहरुको हितमा छ भने जनप्रतिनिधिहरु पनि चासो दिन्छन जनतालाई सहज हुने कुरा कसैले गर्दैनन्’, स्थानीय नागरिकले भने । त्यस्तै स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले यसलाई प्रभावकारी गराउन प्रचार–प्रसार तथा यसको महत्वको बारेमा जनतालाई जानकारी दिन आफूहरु लाग्ने बताए । ‘पहिलो काम त वडास्तरीय कमिटीको हो, यसबारे जनाकारी गराउने त्यो हुन सकेन अब हामीहरुले पनि यसको प्रचार–प्रसार गर्ने र जानकारी गराउने काम गर्ने छौं’, न्यौपानेले भने ।

स्वास्थ्य बीमा गरेपछि बिरामीलाई १ हजार ३३ प्रकारका औषधि, सबै प्रयोगशाला र भेन्टिलेटरसम्मको उपचार निःशुल्क हुने स्वास्थ्य बीमामा व्यवस्था भए पनि बीमा गरेकाहरुले भने सबै कुरा यस विषयमा जानकारी नै नपाउने अर्को समस्या रहेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल र बंगलाचुली अस्पतालबाट बीमाबापतको स्वास्थ्य उपचार लिन सकिने व्यवस्था गरिएको र त्यहाँ पनि औषधि नपाए सम्बन्धित निकायहरुको सिफारिसमा नेपालगञ्ज वा अन्य स्थानामा औषधि लिन पाउने जानकारहरु बताउँछन् । तर सरकारी फार्मेसीमा डाक्टरहरुले सिफारिस गरेका औषधिहरु नपाएपछि नागरिकहरुले बाहिर किन्नुपर्ने समस्या भने रहेको गुनासो रहेको छ ।

यता, तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख न्यौपानेले बाहिर यस्तो हल्ला सुनिए पनि आधिकारीरुपमा आफूहरुसँग यो कुरा नआएको बताए । ‘हाम्रो दाङमा हाल राप्ती प्रादेशिक अस्पताल त्यसमा नपाए स्वास्थ्य विज्ञान प्रतिष्ठान हो तर त्यहाँ पनि नपाए बाहिरबाट औषधि ल्याएर सम्बन्धित अस्पताललाई दिएपछि बिरामीले त्यसको पैसा पाउनेछ’, न्यौपानेले भने । दाङका दश स्थानीय तहका एक सय वडामा बीमा कार्यक्रम लागू गरिएको पनि अहिलेसम्म करिब १२ हजार ३ सय ३२ जना मात्रै यो कार्यक्रममा आबद्ध भएको बुझिएको छ ।