गोरक्ष समाचारदाता
दुधरास(दाङ), ४ असोज । लायन्स क्लव अफ मालिका कालिका तुलसीपुर दाङको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–१८ दुधरास चोकमा बिहीवार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
संविधान दिवसको अवसर पारेर आयोजना भएको रक्तदान कार्यक्रममा कम्तीमा दुई दर्जन जतिले रक्तदान गरेको कार्यक्रम संयोजक विमिन आचार्यले जानकारी दिएका छन् । रक्तदान कार्यक्रमको उद्घाटन लायन्स क्लवका डिस्ट्रीक एक्जुकेटिभ विनोद कुमार श्रेष्ठले गरेका हुन् । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका श्रेष्ठले लायन्स क्लवले विभिन्न सामाजिक अभियानसँगै विशेष गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
रक्तदान जीवनदान भएको भन्दै एक जना व्यक्तिले दिएको रगतले अर्को व्यक्तिको जीवन बचाउन सकिने उनको अभिव्यक्ति थियो । लायन्स क्लव अफ कालिका मालिकाका अध्यक्ष बीरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अर्का अतिथि लायन्स सुरेश हमालले लायन्स क्लव एउटा विशुद्ध सामाजिक संस्था भएको उल्लेखगर्दै रक्तदान लगायत स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याहरुमा हातेमालो गर्न क्लवलाइ सुझाव दिएका थिए ।
कार्यक्रममा लायन्स क्लव अफ दाङका एरीया चिप टेकन कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । लायन्स टिकाराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव विदुर गौतमले गरेका थिए । रक्तदान कार्यक्रमको प्राविधिक संयोजन नेपाल रेडक्रस सोसायिटि दाङका इच्छा बुढामगरले गरेकि थिइन् । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लव इन्टरनेशनलले लायन्स क्लव अफ कालिका मालिकालाई उपलव्ध गराएका डकुमेन्टसँगै अध्यक्ष बीरेन्द्र खड्का र कार्यक्रम संयोजक विपिन आचार्यलाई लायन्स क्लव इन्टरनेशनलको पिन लगाएर सम्मान गरेका थिए ।
सो अवसरमा दुधरास प्रहरी विटका सुरक्षाकर्मीहरु, उद्योगी व्यवसायी, राजनीतिकर्मीहरु तथा स्थानीय समाजसेवीहरुले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा हरिबहादुर विष्ट, सन्तोष आचार्य, बीरेन्द्र खड्का, टिकाराम पौडेल, विपिन शर्मा आचार्य, टिका डाँगी, निमबहादुर सुनार, बसन्त वली, अनिलकुमार शर्मा, नेत्रप्रसाद पोख्रेल, मुक्तिराम पोख्रेल, प्रकृति खड्का रहेका छन् । त्यसैगरी किरण वली, हिमबहादुर चौधरी, नरदेव रोका, गोकुलसिंह थारु, शशिधर भुसाल, बीरेन्द्र न्यौपाने, चन्द्रा केसी, सुशील वली, दधिराम भण्डारी, सागर रेग्मी, जंगबहादुर वली, समित गौतम तथा देवराज वलीलगायतले पनि रक्तदान गरेका थिए ।