खेमराज रिजाल
दाङ, ४ असोज । ‘म महाधिवेशन प्रतिनिधिमा, म जिल्ला उपसभापतिमा, म जिल्ला सदस्यमा, म…मा उठ्ने सोचमा छु’, यस्तै उत्साहित अभिव्यक्ति लिएर संविधान दिवसका अवसरमा दुधरास चोकको सडक किनारामा टेण्टमुनि रक्तदान भइरहँदा एक हुल महिलाहरुको प्रवेश भयो । नमस्कार भन्दै उनीहरुले आफूलाई परिचय गराइरहँदा दुधरास चोकको माहोल निर्वाचनमयजस्तै देखियो ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत अघिल्लो साता भएको वडा अधिवेशनमा पश्चिम दाङबाट एकजना मात्र महिला वडा सभापतिको जिम्मेवारीमा चुनिँदा उनको समाचार सामाजिक सञ्जालहरु एवं विभिन्न सञ्चार माध्यममा पनि व्यापक बन्न पुग्यो । किनकि एक सय वडामा उनी एक्ली महिला थिइन् ।
क्षेत्रीय प्रतिनिधि त पार्टीको विधानबमोजिम नै आए, केही वडामा खुल्ला तर्फबाट पनि कोटाभन्दा बढी पनि आउन सफल भए तर पनि वडा अधिवेशनको प्रतिनिधित्व हेर्दा नेपाली कांग्रेसको विधानमा उल्लेख भएबमोजिम ३३ प्रतिशत पुग्नै मुस्किल देखिएको छ । आधा आकासको परिकल्पना सायद होला नहोला तर महिलाहरुमा पनि राजनीतिमा आउने उत्साह भने अघिल्लो महाधिवेशनमा भन्दा बढी देखिएको दुधरासका स्थानीय कांग्रेस नेता कृष्णबहादुर डाँगीले सुझाए ।
‘अझै अन्तिम निर्णय भएको छैन, टिमको पनि कुरा आउन सक्छ, तर आकांक्षा भएकाले अधिवेशनमा मत माग्न दौडधुप भने सुरु भएको छ’, दुधरास चोकमा परिचय साट्दै महिला नेतृ देवा डाँगीले भनिन् । उनको आकांक्षा जिल्ला सदस्यमा थियो । सधै चुलोचौकोमा सीमित रहेर मात्रै महिला अधिकार स्थापित हुन सक्दैन, आधा आकाशको मतलव बराबरी प्रतिनिधित्वका लागि पनि आफूहरु राजनीतिमा पनि जोडिनुको विकल्प नभएको उनको अभिव्यक्ति थियो ।
सावित्रा राना पनि त्यही समूहमा थिइन् । उनको परिचयसँगै आउने कांग्रेस नेतृत्वमा सहभागी हुने आकांक्षा पनि एकैपटक जोडिएको थियो । किनकि करीब ६ बर्षपछि भएको वडा अधिवेशनमा नयाँ दिदीबहिनीहरु पनि क्षेत्रीय प्रतिनिधि चुनिएकाले सबैसँग परिचय साट्दै आफ्नो नेतृत्वको आकांक्षा पनि व्यक्त गर्न दौडधुप सुरु भएको सावित्रा रानाको अभिव्यक्ति थियो ।
पार्टीको विधान र नेपालको नयाँ संविधानले पनि महिलाहरुको समान अधिकारलाई स्थापित गरेको भए पनि अझै पनि महिलाहरु नेतृत्वमा आउन नसक्नाले आधा आकाशको मान्यता समग्र व्यवहारमा लागू हुन नसकेको पनि उनको अभिव्यक्ति थियो । सावित्रा यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कोषाध्यक्ष चुनिएकी थिइन् । परिचयका क्रममा उनी आगामी जिल्ला अधिवेशनमा नेपाली कांग्रेस दाङको उपसभापतिको आकांक्षी भएको रुपमा प्रस्तुत भइन् । ‘तपाईहरुकै साथ र सहयोगले राजनीतिमा एक खुड्किलो माथि उक्लने प्रयास गरेकी छु’, मत माग्दै सावित्राले भनिन् । उनी आसन्न जिल्ला अधिवेशनमा सर्वसम्मत बनिन् वा चुनावमै प्रतिस्पर्धा गरेर विजयी बनिन् भने सम्भवत नेपाली कांग्रेस दाङको पहिलो महिला उपसभापति बन्नेछिन् ।
विमला योगी, एउटा सामाजिक अभियन्ताको पर्याय हुन् । लामो समय महिलाहरुको सीप विकास, महिलाहरुलाई स्वावलम्बी बनाएर स्वाभिमान बनाउने तथा महिलाहरुलाई स्वरोजगार बन्न प्रेरित गर्दै आएकी विमला योगीको पनि आसन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नुपर्छ भन्ने हो । सवथोकको परिवर्तन गर्नका लागि राजनीतिबाहेक अरु गौणजस्तै लाग्छ, सबैलाई । शैक्षिक योग्यताका हिसावले पनि विमला स्नातकोत्तर उत्तीर्ण कुशल महिला हुन् ।
उनीजस्ता महिलाहरु नीति निर्माण तहमा पुग्न सके भने मुलुकमा महिला अधिकार र लैगिक समानताका विषयमा पनि धेरै सहजता आउन सक्ने महिलाहरुकै चाहना देखिन्थ्यो । विमलाको मन पनि महाधिवेशन प्रतिनिधिमा थियो, यद्यपि सबै साथीभाइ र अग्रज नेतृत्वसँग थप छलफल भएपछि मात्रै आफू राजनीतिमा कहाँ एड्जस्ट हुने भन्ने टुंगो लाग्ने अभिव्यक्ति दिइन् ।
अग्रज महिला नेतृहरु गोमा रावत, कृष्णा राना, जनप्रतिनिधिसमेत बनिसकेकि साविधा गुरुङ, यमुना शाहलगायतका महिलाहरु दुधरासमा मत मागिरहँदा महिलाहरु पनि आफ्नो अधिकारका लागि अत्यन्तै संवेदनशील बनेका छन् भन्ने झल्को दिन्थ्यो । चुलो चौको सम्हाल्दै पनि उनी दिउँसोको समय पारेर निजी सवारी साधनको व्यवस्थापन गरी मत माग्न दाङ दौडाहामा लागेका छन् । सबैका हातमा निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुको मोबाइल नं. सहितको लिष्ट पनि देखिन्थ्यो ।
त्यसैले राजनीतिमा माथि उठ्दै नीति निर्माण तहसम्म पुग्ने महिलाहरुको यो उत्साहलाई सकारात्मकरुपमा लिन सकिने त्यहीँकै स्थानीयवासी तथा शैक्षिक अभियन्ता डिल्ली अधिकारीको बुझाइ थियो । असोज ९ गते गाउँ÷नगर अधिवेशन हुँदैछ । यी अधिवेशनमा समेत महिलाहरु कार्यसमितिमा उत्साहजनक सहभागिता जनाउने अभ्यासमा जुटेका छन् । कहिँकतै निर्वाचन हुने अवस्था आएमा पनि आफ्नो कार्यसमितिको मत सुरक्षित गर्न महिलाहरुको चुनावी अभियान सुरु भइसकेको छ ।
नशा हो राजनीति…
गाउँनगर अधिवेशन नजिकिँदै जाँदा उमेरले ८० पुग्न लागेका बृद्धा पनि नेतृत्व लिन तम्तयार छन् । राजनीति मुलुकलाई परिवर्तन दिने एउटा माध्यम र साधन मात्र होइन, एउटा निरन्तरताको नशा पनि हो । यसैलाई प्रमाणित गरेको छ, लमही नगरको अधिवेशनमा आकांक्षी उम्मेदवारहरुको चर्चाले । असोज ९ गतेका लागि तय भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा दाङको लमही नगरमा लमही नगरका पूर्व सभापति शिबु चौधरी र नेपाल तरुण दलका अध्यक्ष सन्तोष बुढाथोकी नगर सभापति पदमा आमने–सामने उभिएका छन् ।
यी दुई बीचको उमेर हेर्दा हजुरबाजे नातिको जस्तै छ । उमेरले चौधरी ७९ बर्ष र बुढाथोकी ३० बर्षका छन् । आकांक्षी चौधरीले आफू कुनै ब्यक्ति विशेषको नभई नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेको बताए । ७९ बर्षको उमेरमा पनि उनलाई कांग्रेस बलियो बनाउने नशा यथावत नै छ । त्यसैले नाति उमेरका आकांक्षीसँग प्रतिस्पर्धा गर्दैछन् उनी । चौधरीको प्रतिस्पर्धा उमेरले ३० बर्षका सन्तोष बुढाथोकीसँग हुने चर्चा लमहीमा व्यापकरुपमा चलेको छ । बुढाथोकी तरुण दलका नगर अध्यक्ष हुन् ।