कांग्रेस भित्र ‘तेस्रो धार’

गोरक्ष समाचारदाता

तुलसीपुर, ३ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नगर क्षेत्र प्रदेश र जिल्लाको अधिवेशन नजिक आउँदै छ । उम्मेद्वार र समूहको त्यत्तिकै चर्चापरिर्चा समेत सुरु भएको छ । तर पछिल्नो पटक तुलसीपुरमा तेस्रो धार निर्माण भएको बहस सतहमा आएको छ । भदौ अन्तिम सातामा संविधानसभाका सदस्य बुद्धिराम भण्डारी, जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का र लुम्बिनी प्रदेशसभा सदस्य तथा ग्रामीण तथा सहरी विकाशमन्त्री डिल्लीबहादुर चौधरीका बीचमा छुट्टै छलफल र कुराकानी भएको उनीहरूले तेस्रो धार निर्माण गरेको सम्भावना कार्यकर्तामा छ । तर पार्टी सभापति खड्काले भने सामान्य संवाद भएको बताए ।

कांग्रेसभित्र खुसुखुसु भित्रभित्रै भुसको आगोजस्तै फैलिरहेको यो कुरा खासमा के हो ? व्याप्त तेस्रो धारको चर्चाबारे त्यसको नेतृत्व गर्न खोजेका नेताहरूसँगै केही सोधि–खोजी गरेको छ । त्यसमा छुट्टै धार निर्माण गर्न खोजिरहेकामध्ये केही नेताहरूले घुमाउरो पारामा त्यसलाई स्वीकार गरेका छन् । संविधानसभा सदस्य बुद्धिराम भण्डारीले भने ‘म अहिले कांग्रेस बचाउने अभियानमा छु र म पार्टीभित्रको चरम गुटबन्दी अन्त्य गरी एउटै धार बनाउने अभियानमा छु ।’ उनले साविक निर्वाचन क्षेत्र नं. ४ र ५ नम्बर मिलेर अहिले बनेको क्षेत्र नं. ३ मध्य साबिक ५ मा चरण राजनीतिक गुटबन्दी रहेको तर्क गरे ।

स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा कांग्रेस पराजित हुनुको प्रमुख कारण त्यही चरम राजनीतिक गुटबन्दीका कारणले गर्दा भएको भन्दै कांग्रेस नेता भण्डारीले पार्टीभित्रको घात, अन्तरघात र मनमुटाव अन्त्य गर्न आफूले चाहेको बताए । ‘कांग्रेसमा फेरि त्यस्तै परिणाम नआओस् भनेर अहिले बुद्धिराम भण्डारी कांग्रेस बचाउने अभियानमा लागेको छ’, भण्डारीले भने ‘म निर्वाचन क्षेत्र नं. ३ मा कांग्रेसको एउटै र सशक्त धार निर्माण गर्ने अभियानमा लागेको छु ।’ यदि आफूले चाहेजस्तो एउटै कांग्रेस बनाउने अभियान सफल नभए विकल्पको रूपमा तेस्रो धार निर्माण गर्न सकिने उनले स्पष्ट पारे ।

के तपाईंहरूको तर्फबाट नगरमा पनि छुट्टै उम्मेद्वार खडा हुन्छन् ? भन्ने प्रश्नमा नेता भण्डारीले आफूले त्यो नचाहेको र अप्ठेरो पर्दा जहिले विकल्प भने खुल्ला रहने बताए । उनले त्यस्तो परिस्थिति सकभर आउन नदिने र आयो भने उम्मेद्वारहरूको पनि तयारी गरिएको बताए । उनले लामो समयसम्म पनि कुनै पत्रकार र मिडियाले आँफूलाई नखोजेको भन्दै असन्तुष्टि जनाए । ‘म तुलसीपुरमै छु तर मिडियाले मलाई कहिल्यै खोजेनन्’, भण्डारीले भने, ‘यहाँ त मिडियामा गिरीका दुई दाजुको मात्रै चर्चा भइरहन्छ ।’

बुद्धिरामले संविधानसभाको निर्वाचनमा नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका यस अघिका मुख्यमन्त्री शंकर पोखरेललाई साबिक क्षेत्र नं. ४ बाट हराएका थिए । तर गत प्रदेशसभाको निर्वाचनमा भने भण्डारीलाई शंकरकै चेला मानिने उत्तरकुमार वलीले निर्वाचन क्षेत्र नं. ३(ख) बाट पराजित गरेका थिए । पछिल्लो समय नेपाली कांग्रेसको १४औँ ममाधिवेशन अन्तर्गत भदौ २१ गते भएको निर्वाचनमा दाङ जिल्लामै सबैभन्दा धेरै क्रियाशील सदस्यता रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा भण्डारीको लाइनले तीन वडा क्षेत्रीय प्रतिनिधि बाहेक सबैमा जित हासिल गरेपछि फेरि उनी हौसिएको देखिन्छ ।

तेस्रो धार निर्माण गर्न खोजेका अर्का नेताका रूपमा दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित कांग्रेसका एक्ला प्रदेशसभा सदस्य तथा लुम्बिनीका ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी पनि हुन् । उनले पनि त्यो कुरा नकार्न भने सकेनन् । उनले नयाँ धार निर्माण हुनसक्ने बताए । ‘बुद्धिरामजी, म, कमानसिंह दाइलगायत सबै त छन्, हामीसँग’, उनले थपे ‘पार्टी सभापति कीर्तिबहादुर खड्काले पनि भन्न त हामी सँगै आउने भन्नुभएको छ तर उहाँले के गर्नुहुन्छ अझै निश्चित छैन ।’

मन्त्री चौधरीले पहिला नगरलगायत अन्य सबै नेतृत्व सर्वसम्मत रूपमा चयन गरिनुपर्छ भन्ने अडानमा रहेको बताए । ‘धेरै ठाउँबाट हामीलाई युवाहरूको दबाब छ’, चौधरीले भने ‘गिरीका दुई दाजुभाइबीचको गुटगत लडाइँले पार्टी वर्वाद भो भन्ने छ ।’ आफूको रोडम्याप सबै नेताहरू दीपक गिरी, गेहेन्द्र गिरी, शंकर गिरी, केशव आचार्य, कमानसिंह डाँगी, कीर्तिबहादुर खड्कालगायत महाधिवेशनमा आउने ११ जना सबै सम्भावित नेताहरूलाई एक ठाउँमा राखेर छलफल गरी सकभर सर्वसम्मत गराउन कसरत हुने मन्त्री चौधरीले बताए । ‘सकभर सर्वसम्मत गराउने र दाङबाट केन्द्रलाई एउटा नयाँ म्यासेज दिने भन्ने हाम्रो प्रयत्न रहनेछ’, चौधरीले भने, ‘कांग्रेसको एकता देखाम र कांग्रेसभित्र आपसी त्याग, सम्मान र एकताको नमुना देखाम भन्ने हो ।’

उनले आँफू ४ गते तुलसीपुर आउने र दोस्रो चरणको छलफल पछि नगरमा छुट्टै उम्मेद्वारी दिने वा नदिने भन्ने टुङ्गो लाग्ने जानकारी दिए । के अहिले नै अलग धार जन्माउन कल्पना गरेजस्तो सहज छ ? नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले तेस्रो धारको सम्भावना नरहेको र त्यो सम्भव पनि नहुने धारणा राखे । ‘मलाई जिल्ला पार्टी सभापतिको नाताले उहाँहरूले एक दिन सहमतिबारे कुरा गर्नु छ भनेर बोलाउनुभयो र छुट्टै धारको कुरा गरेपछि मैले त्यो हुँदैन र सम्भव पनि छैन भनेर निस्किएको हुँ’,–खड्काले भने ‘आज कांग्रेस दाङले खुमबहादुर खड्का जस्ता सुख–दुःखमा साथ दिने अभिभावक खोजेको हो, कुनै थप नयाँ धार बनाउन आवश्यक छैन र त्यो बन्न सम्भव पनि छैन ।’ उनले प्रजातान्त्रिक पार्टीमा एकअर्काबीच प्रतिस्पर्धा हुने भन्दै स्वच्छ र सद्भाव कोहीकसैप्रति आक्षप नलाएर स्वस्च्छ प्रतिस्पर्धामा लाग्नुपर्ने बताए ।

कांग्रेसभित्र इमानदार, अनुशासित, संगठनमा प्रतिबद्ध नेता कार्यकर्ता आवश्यकता रहेको सभापति खड्काले बताए । ‘व्यक्ति भन्दा विधि सिद्धान्त ठूलो हो, कांग्रेसलाई कसरी एक बनाउन सकिन्छ भन्नेमा हामी सबै लागौँ’ उनले भने । उनले अस्वस्थ प्रतिस्पर्धा र एकअर्काप्रतिको कटाक्षले कसैलाई पनि फाइदा नपुग्ने बताए । ‘यो वा त्यो बहानामा पार्टीलाई कमजोर बनाउने काम गर्नु हुन्न, सकेसम्म सहमति सहकार्यबाटै नेतृत्व चयन गर्नुपर्छ, होइन भने स्वच्छ प्रतिस्पर्धा छँदैछ’– खडकाले भने ।

पश्चिम दाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका युवा नेता दीलिप बस्नेतले अहिले पनि दाङमा सबै नेताले खुमबहादुर खड्काको नाम भँजाएर राजनीति गर्दै आएको भन्दै अब त्यसमा जतिसुकै धार जन्माउन खोजे पनि तुक नहुने तर्क गरे । ‘केन्द्रमा के कृष्णप्रसाद सिटौलाले छुट्टै धार जन्माउन खोजेको हैन र ? खै आज कहाँ छ सिटौलाको धार ?’, बस्नेतले भने ‘कसैले रहर गरेर केही समयको लागि आत्मतुष्टिका लागि रमाउन पाउँछ तर आफ्नो मात्रै स्वार्थ हेर्न नेताबाट छुट्टै स्थायी धार निर्माण सम्भव छैन ।’

उनले टिम बनाउनका लागि निकै नेता कार्यकर्ताले त्याग र आहुति दिनुपर्ने हुँदा त्यो सम्भावना नरहेको तर्क गरे । कसैको डाहा गरेर, कसैलाई राजनीतिमा कत्लेआम पार्छु भन्ने सोचले वा इगो पाल्नेहरूले कहिल्यै नेता बन्न नसक्ने उनले जिकिर गरे । नेता बन्न खुल्ला र विशाल हृदय चाहिने बस्नेतले बताए । यसैगरी कांग्रेस नेता दीपक गिरी र गेहेन्द्र गिरीको प्यानलबाट नगर सभापतिको उम्मेद्वारी घोषणा गरी प्रचारप्रसारमा दुई समूह लागे पनि तोस्रो धार भनिएको टिमबाट भने हालसम्म उम्मेद्वारीको नाममा भने बाहिर आएको छैन । कांग्रेस नेता बुद्धिराम भण्डारीले भने यदि सहमति सहकार्य नभएपछि त्यो पनि आफूहरूले तयारी गरेको दाबी गरे । ‘नगरमा पनि तीन÷चार जनाको नाम सुन्नुभएको होला, क्षेत्रीय सभापतिमा पनि ७÷८ जनाको नाम आएको छ, त्यही भित्रबाट हाम्रो पनि एउटा उम्मेद्वार हुन्छ’–भण्डारीले भने ।