खाद्यको सुपथ मूल्य पसलमा चामल मात्रै

  •   
  •  

बालाराम खड्का

तुलसीपुर, २ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शुक्रवारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । नजिकिँँदै गरेको दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको हो । शुक्रवारदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा पसल सञ्चालन गर्ने जनाएको हो ।

दाङको तुलसीपुरमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा भने यस वर्ष चामल मात्रै रहेको छ । सुपथ मूल्य पसलमा चामल मात्रै राख्ने सरकारी निकायको यो जिर्णयप्रति उपभोक्ताहरू असन्तुष्ट छन् । सुपथ मूल्य पसल भनेर चामल मात्रै बेच्नुलाई उपभोक्ताहरूले सरकारको हास्यास्प्रद कदम पनि भनेका छन् । पर्वमा उपभोक्ताहरूलाई अत्यन्तै आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीहरू चीनी, तेल, दालजस्ता सामान राख्न पनि उपभोक्ताहरूले सुझाव दिएका छन् । सुपथ मूल्य पसल नहुँदा र पर्वमा दैनिक उपभोग्य सामग्री महँगो समेत हुँदा उपभोक्ताहरू चीनी र तेलकै लागि पनि भारतीय सीमा बजारमा जान बाध्य हुने गरेका छन् ।

‘चामल मात्रै राखेर सुपथ मूल्य पसल सञ्चालन गर्नु भनेको उपभोक्ताको हकहितका लागि नभएर कामविहीन खाद्यका कर्मचारीहरूलाई तिमालेको मात्रै हो, जनतालाई राहतका लागि होइन’—तुलसीपुरका उपभोक्ता गेहेन्द्र पौडेलले भने । अघिल्लो वर्ष पनि सरकारले कोरोना भाइरसको संक्रमणका कारण गरेको लकडाउनमा खाना पकाउने ग्यास सस्तोमा बेच्न साल्ट ट्रेडिङलाई आग्रह गरे पनि काठमाडौं बाहिर कुनै पनि स्थानमा यस्ता पसलहरू सञ्चालन भएका थिएनन् ।

शुक्रवारदेखि कार्तिक २४ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा विभिन्न ५ किसिमका चामलहरू राखेको निमित्त मुख्य शाखा प्रमुख नकुल चौधरीले जानकारी दिएका छन् । उनका अनुसार स्टिम जिरा मसिनो चामल, साँवा स्टिम, साँवा मसिनो, सोना मन्सुली र अरूवा मोटा चामल विक्रीका लागि राखिएको छ । जसमा प्रति २५ किलो चामलमा स्टिम जिरा मसिनो चामलको साविक मूल्य १६ सय २५ मा छुट सहित १५ सय, साँवा स्टिम १४ सय २५, साँवा मसिनो चामल १३ सय ७५ सोना मन्सुली १३ सय ८९ र अरुवा मोटा चामल १२ सय ६० रूपैयाँमा विक्री भइरहेको चौधरीले जानकारी दिए ।

यस वर्ष कम्पनीले १५ सय क्विन्टल चामल विक्री गर्ने तयारी गरेको छ । छुट सहित विक्रीका लागि राखिएको चामल प्रतिव्यक्ति ५० देखि ६० किलोसम्म लिन पाइनेछ । चौधरीले गत वर्ष चामलको माग धेरै नभएकाले यस वर्ष थोरै चामल विक्रीका लागि अनुमति भएको बताए । उनले सुपथ मूल्यमा राखिएको चामल राम्रो र मीठो समेत भएकाले यस वर्ष लक्ष्य अनुरूप विक्री हुने बताए । कम्पनीले यसपालि चामल, दाल, चिउरा, पीठो र तेलमा पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रूपैयाँ छुट दिनेछ ।

दाङलगायत उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायतका स्थानबाट खाद्य वस्तु विक्री वितरण गर्ने जनाएको छ । चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरूमाझ यसको महत्व बढेको कम्पनीले बताएको छ ।

यसैबीच खाद्य कम्पनीले यस वर्ष दाङमा खसी, बोकाहरू पनि खरिद गर्ने जनाएको छ । दाङमा यस वर्ष दशैं–तिहारका लागि १ हजार वटा खसी–बोका खरिद गरी काठमाडौंमा पु¥याउने प्रमुख चौधरीले जानकारी दिए । खसी–बोका खरिदका लागि परिपत्र भएको र मूल्य निर्धारणका लागि उद्योग वाणिज्य संघ, पशु कार्यालयलाई परिपत्र गरेको र मूल्य लिस्ट आएसँगै बैठक बसेर खरिद मूल्य निर्धारण गर्ने बताएको छ । ‘हामीले सम्बन्धित निकायबाट मूल्य सूचि माग गरेका छौँ, त्यहाँबाट लिस्ट आएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मूल्य तोकेर खरिद प्रक्रिया अगाडि बढाउने छौँ’ –चौधरीले भने ।

कम्पनीले विभिन्न व्यक्ति तथा सहकारीमार्फत् वर्षेनी स्थानीय मूल्य निर्धारण गरेर खसी बोकाहरू काठमाडौं पठाउँदै आएको छ । अघिल्ला वर्षहरूमा जिल्लामा केही सहकारी संस्थाहरूले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको भए पनि यस्ता सस्तो पसलहरू विगत एक वर्षदेखि कहीँ पनि सञ्चालनमा छैनन् । जिल्लाभर नै सुपथ मूल्य पसलको प्रचलन हराउँदै गएको छ । जिल्लाका सबै पालिकाहरूमा सम्बन्धित उद्योग वाणिज्य संघहरूले दैनिक उपभोग्य सामग्रीहरूको मूल्य निर्धारण गरे पनि व्यापारीहरूले भने फरक–फरक मूल्यमा सामान बेच्ने गरेका छन् । बजारमा दैनिक उपभोग्य सामग्रीहरूको मूल्य र गुणस्तरमा समेत एकरूपता नहुँदा उपभोक्ताहरू ठगिँदै आएका छन् ।