भुवन पोख्रेल
वीपी कुनै पार्टीको होइन, सम्पूर्ण नेपालीको सम्पत्ति हो । मुलुकको राष्ट्रियता, सार्वभोमसत्ता र प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेता वीपी युगपुरुष व्यक्तित्व भएका छन् । वीपी आफ्ना प्रतिस्पर्धा र विरोधीलाई पनि सम्मान गर्ने नेता भएकाले अन्य राजनीतिक दलका पनि प्रेरणाका स्रोत र आदर्श व्यक्तित्व हुन् । वीपीको मेलमिलापको नीतिलाई सबैले आत्मसात गर्नसके मात्र मुलुकका समस्या समाधान हुन सक्छन् ।
नेपाली कांग्रेसले वीपी कोइरालाकै चिन्तनका आधारमा प्रजातान्त्रिक समाजवाद अबलम्बन गरेको छ । वीपीको सपना पूरा गर्नका लागि नेपाली कांग्रेस वीपीले देखाएको बाटोमा अघि बढ्नुपर्छ । वीपीका सपना जसले पूरा गरे पनि हुन्छ तर पहिले त्यो पार्टी र व्यक्तिपूर्ण लोकतान्त्रिक हुनु जरुरी छ । नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेस त जहिले पनि जनताको आड र भरोसाको केन्द्र बन्नुपर्छ ।
वीपी नेपाली लोकतन्त्रको सुरु अति चरणमा त्यो संघर्षमय गोरेटोलाई सुरम्य राजमार्ग बनाउने अभियानमा लागेर जनताले निर्वाचित गर्ने सर्वोच्च पदमा आसिन हुनपुगेका थिए । त्यो लक्ष्यमा पुग्न अरु बाटा पनि उपलब्ध थिए तर उनलाई ती मन्जुर थिएन । जेल र निर्वासनमा भएको कष्टलाई उनले सहर्ष स्वीकार गरे तर शर्त सहितको कथित लोकतन्त्र उनलाई कदापि स्वीकार्य थिएन । वीपीको भनाइ थियो ‘म एउटा व्यक्ति प्रधानमन्त्री बन्ने कुरा ठूलो होइन तर कसरी र कुन पद्धतिबाट शासन व्यवस्था चलाउने यो चाहिँ महत्वपूर्ण हो ।’
उनलाई प्रजातान्त्रिक राजतन्त्र स्वीकार्य थियो तर तानाशाही वृत्तिको राजा स्वीकार्य थिएन । राजा संसद् अधिनस्थ हुनुपर्छ भन्ने मान्यता थियो । वीपीले प्रजातन्त्र र राष्ट्रियताका बारेमा कसैसँग पनि सम्झोता गर्न हुन्न भनेका थिए । नेपाली कांग्रेसले पनि आफ्नो अन्योल र ढुलमुले चरित्रलाई हटाउन सक्नुपर्छ । नेपाली कांग्रेस ऐतिहासिक चरित्रलाई नबिर्सेर पार्टीको शुद्धिकरण गर्नुपर्छ । अहिलेको नेतृत्व् पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलै चुनौती हुनेछ ।
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको प्रक्रिया प्रक्रिया सुरु भएको छ । पार्टीको वडा तहको निर्वाचनमा चुनिएको उदीयमान युवायुवतीको प्रतिनिधित्वले पार्टीमा नयाँ आशाको सञ्चार गरेको छ । लामो समयदेखि वडादेखि केन्द्रसम्म एउटै नेतृत्वले पकड जमाएको आरोप खेपिरहेको कांग्रेसमा पार्टीप्रति युवा आकर्षण बढेपछि नयाँ जोश, उमङ्ग र उर्जा थपिएको छ । यसले भावि पिढीलाई कांग्रेसको लोकतान्त्रिक छहारीमा राजनीति गर्न चाहनेका लागि हाँगाविगा र बलियो वृक्ष बनी अडिक र हराभरा हुने विश्वास गर्न सकिन्छ ।
यही दरमा युवाको प्रतिनिधित्व बढ्यो भने पार्टीको ऐतिहासिक विरासत जोगाउन र अघि बढाउन ठूलो टेवा पुग्ने विश्वास छ । युवा आकर्षण कांग्रेसमा हुन सक्दैन भन्ने कम्युनिस्ट भ्रम चिर्न पनि लोकतान्त्रिक मैदान खला र फराकिलो बनाउँदै नेतृत्व वर्गले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । आउँदै गरेको क्षेत्रीय, प्रादेशिक, जिल्ला र केन्द्रीय महाधिवेशनमा पनि युवाको रहरलाई पकड्न र निरन्तरता दिन जरुरी छ । नेतृत्ववर्गको त्याग, तपस्या र भूमिकाले पार्टीभित्रको गुट उपगुटको भावनालाई त्यागेर नेतृत्वको फैसला गर्ने जिम्मेवारी महाधिवेशन प्रतिनिधिलाई दिइनेछ ।
हामीले नेपाली कांग्रेसको गौरवमय इतिहासका गाथा गाएर मात्र नेपाली कांग्रेसको सुनौलो भविष्य र आशालाग्दो वर्तमान हुने होइन । यसका लागि इतिहास जोगाउनतर्फ दृढ भएर अघि बढ्नुपर्छ । मुलुकको पुरानो लोकतान्त्रिक पार्टी भनेर गौरवबोध गर्दै गर्दा लोकतान्त्रिक पार्टीलाई जीवन्त राख्न समय सापेक्ष पार्टीलाई सुदृढीकरण र शुद्धिकरण गर्दै लैजानुपर्छ । समयमा महाधिवेशन सम्पन्न गर्न नसक्दा लोकतान्त्रिक पार्टीको परिचयमै प्रश्न चिह्न लाग्न थालिसकेको छ । अझ कतिपयले त अझै पनि महाधिवेशन होला र भन्ने प्रश्न पनि गरिरहेका छन् ।
स्वच्छ प्रतिस्पर्धाका आधारमा इमानदार कांग्रेस छान्नका लागि हुने महाधिवेशनले निर्वाचनलाई कुनै असर पु¥याउँदैन, पु¥याउन दिनु पनि हुँदैन । अहिले कांग्रेस परीक्षाको घडीमा छ । पार्टीको लोकतान्त्रिक र ऐतिहासिक छवि बन्धकी राख्ने बाटोमा लाग्ने हो भने यो महाधिवेशनले स्थानीय तह र संघीय तहको निर्वाचनलाई पनि असर पु¥याउँछ तसर्थ बेलैमा नेतृत्ववर्ग जिम्मेवार बन्नुपर्ने देखिएको छ । मंसिरमा सम्पन्न गर्ने भनिएको केन्द्रीय महाधिवेशन गर्ने निर्णयमा कहीँकतैबाट कुनै पनि बहानामा अवरोध पुग्दैन भन्ने कुरामा नेतृत्ववर्ग इमानदार भई अघि बढ्नुपर्छ । दबाब र प्रभावमा नेतृत्व हात पार्न खोज्ने पुरानो शैली त्याग्नसके र पार्टीको उत्साह र युवा आकर्षणलाई महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित नहुँदासम्म कायम राख्न सकियो भने स्थानीय र संघीय संसदको निर्वाचनमा कांग्रेसको सानदार विजय सुनिश्चित गर्न सकिन्छ ।
आम नागरिकमा सामाजिक न्याय, शान्ति, मानवअधिकार सहितको सराज्य निर्माणका लागि पार्टीको स्थापनाकालदेखि हालसम्म सहिदहरुले जीवन उत्सर्ग मात्र गरेका छैनन् । पूर्वजहरु वीपी, गणेशमान, कृष्णप्रसाद, शैलजा, गिरिजाप्रसादलगायतले कठोर यातना सहितको संघर्षपूर्ण जीवन बिताएका छन् । पार्टीको लागि रगत र पसिना बगाएर नेपाली कांग्रेसको विरासतलााई जोगाइराखेका छन् । महान अग्रजहरुको निष्ठा, त्याग र बलिदान तथा इमानदारीलाई बचाइराख्न पनि पार्टीभित्रका ससाना विवाद, मतभेदभन्दा माथि उठेर सबैलाई लोकतान्त्रिक छाताभित्र समेट्न सक्नुपर्छ । कांग्रेसको आदर्श, निष्ठा, त्याग, तपस्या अन्य पार्टीहरुका लागि उदाहरणीय र प्रेरणाको स्रोत बन्न सक्नुपर्छ । कांग्रेसको उदारवादी र निष्ठापूर्ण चरित्रले आगामी निर्वाचनमा पार्टीलाई उर्जावान बनाउन मार्गनिर्देशन प्रदान गर्दछ ।
अहिलेको समय कम्युनिस्टको आन्तरिक कलह र विवादका कारण कांग्रेसको काँधमा वाध्यताले सत्ताको समेत नेतृत्व गर्ने अवसर जुरेको छ । सत्ताको समेत नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेस भएकाले नेतृत्वको परीक्षामा पास हुने वातावरण तयार पारौँ, अनावश्यक विवाद र अलोकप्रिय र जनहित विपरितका निर्णय गर्नबाट आफूलाई बचाऔा र यसले पार्टीको सुनौलो भविष्य निश्चित गर्छ । सत्तामा रहेको बेला कार्यकर्ताको भावना बुझ्नुपर्छ । लोकतान्त्रिक चरित्र अनुशरण गरेको पार्टीका कार्यकर्ताहरु अरुजस्तो अन्तरकलह र तिक्ततामा अल्झिनु शोभनीय हुँदैन । पार्टी बलियो वा मजबुत बनाउनसके सरकार त पाटक–पटक चलाउने अवसर आउँछ । भोलि गत्तिलो परिणाम नआउला भनेर आफ्नो लोकतान्त्रिक पार्टीको पहिचान दाग लगाउने दिशामा राखेर पार्टीलाई दाउँमा लगाउने चरित्र शोभनीय कदापि होइन ।
पार्टीका इमानदार कांग्रेस कार्यकर्ताका लागि पार्टी जीवन्त बनोस् भन्ने कामना एकातिर छ भने अर्कोतिर कांग्रेस सरकारको नेतृत्वमा रहेकाले कुनै अलोकप्रिय निर्णय र राष्ट्र जनताको हित विपरितका कुनै पनि सन्धि सम्झौता नगरोस्, जसले पार्टीको सुनौलो भविष्य र आशलाग्दो वर्तमानलाई क्षतविक्षत परोस् । कांग्रेसका लाग हरेक कोणबाट यो कठिन परीक्षाको घडी हो । निष्पक्ष रुपमा पार्टीको महाधिवेशन सम्पन्न गरेर सिङ्गो पार्टीको सहयोग लिन सक्यो भने सरकार सञ्चालनमा पनि महत्वपूर्ण उर्जा थपिनेछ ।
अरु पार्टीलाई खुसी पार्ने र चित्त बुझाउने नाममा आफ्नो पार्टीको भविष्य दाउँमा राख्ने काम नहोस् भन्ने निष्ठावान् कार्यकर्ताको आग्रह हो । पार्टीको आगामी नेतृत्व कसले गर्ने वा नगर्ने व्यक्तिको कुरा यहाँ ठूलो कुरा होइन । ठूलो कुरा त के हो भने कसरी नेपाली कांग्रेसको गरिमामय ऐतिहासिक छवि जोगाउने भन्नेतर्फ नेतृत्ववर्गको ध्यान जान जरुरी छ । सरकारमा कसले मन्त्री खाने वा नखाने ठूलो विषय होइन, बरु पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न कसरी एकजुट हुने त्यो महत्वपूर्ण विषय हो । कसले हा¥यो, कसले जित्यो भन्ने प्रश्न गौण हो । समग्रमा कांग्रेसले जित्नुपर्छ भन्ने मान्यता स्थापित भयो भने यो पार्टीका लागि हितकर विषय हुन्छ ।
कांग्रेस कठिन परिस्थितिमा सरकारको नेतृत्व गर्न पुगेको हो । पाँच वर्षका लागि प्रतिपक्षको म्याण्डेट पाएको पार्टी डेढ वर्ष बाँकी छँदैमा सरकारमा जान वाध्य भएको छ । यो समयमा सकारात्मक र जनताले सम्झन लायक तह र भण्डै डेढ वर्षपछि हुने संघीय संसदको निर्वाचनमा ठूलो प्रभाव पर्नेछ । चौधौँ महाधिवेशन कांग्रेसका लागि ठूलो अवसर र चुनौतीका रुपमा खडा छ । महाधिवेशनमा व्यक्तिगत गुट, उपगुटको स्वार्थ छाडेर विचार, पद्धति र नीतिमा बहस नगरी नेतृत्व, सत्तालिप्सा र पार्टी कब्जाको संसकृति मात्र हाबी भयो भने त्यसले कांग्रेस त सकिनेछ, इतिहासले पनि माफी दिने छैन ।
विदेशिन चाहने युवालाई स्वदेशमै रोजगारीको अवसर दिएर रोक्ने, विदेशिएका युवालाई स्वदेशमै फर्काउने, युवाले आर्जन गरेको ज्ञान, सीप, श्रम स्वदेशमै उपयोग गर्न कस्तो नीति तथा कार्यक्रम ल्याउने यसमा कांग्रेसको धारणा स्पष्ट हुन जरुरी छ । योजना, साहस र समर्पण भाव भएको उर्जावान् कांग्रेस नेतृत्व चौधौँ महाधिवेशनले दिन्छ भन्ने आम कांग्रेसजनको अपेक्षा छ । कांग्रेसमा बढ्दो युवा आकर्षणलाई निरन्तरता दिन उसले आफ्नो ऐतिहासिक विरासत र गरिमामय गाँथालाई सुनौलो भविष्य र आशालाग्दो वर्तमानमा बदल्न सक्नुपर्छ । पार्टीलाई व्यक्तिले डो¥याउने भन्दा विचार, सिद्धान्तले लगाम लगाउन सक्नुपर्छ । पार्टीलाई नेतामुखी होइन, नीतिमुखी बनाउन सक्नुपर्छ । पदमा होइन, पद्धतिमा रमाउन सक्नुपर्छ । सत्ता होइन, समाज केन्द्रित हुनुपर्छ । वडा तहमा बढेको युवा आकर्षणले पक्कै पनि पार्टीको लोकतान्त्रिक छविमा आशाका किरणहरु सञ्चार गरेको छ ।
नेपालका राजनीतिक दलहरुको आन्तरिक अवस्था अव्यवस्थाको चरम रुप र संकटमा छ । अन्य दलको तुलनामा सुरक्षित देखिएको नेपाली कांग्रेस पनि संकटमा छ । किनभने समयमा महाधिवेशन सम्पन्न गर्न सकेको छैन । यहाँ प्रश्न व्यक्तिको मात्र होयन राजनीतिक दलहरुको पनि हो । दलीय पद्धति विकास हुन नसक्नु पनि हो । राजनीतिक प्रणालीलाई चलायमान बनाउने तत्व राजनीतिक दल हो । दललाई चलायमान बनाउने नेतृत्वमा पुग्ने व्यक्ति हो । नेतृत्वमा पुग्ने व्यक्ति सबैको समान क्षमता गुण हुँदैन तर नेतृत्वमा पुग्ने व्यक्तिहरु नै दलीय राजनीतिको संस्थागत अभ्यासका लागि सबैभन्दा ठूलो चुनौती बन्दै आएका छन् ।
जुनसुकै पार्टीको सरकार बने पनि जनतालाई अरु चासो हुन्न, आफूहरुलाई सुख र खुसी मिलोस् भन्ने चाहना हुन्छ । लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भन्ने आशाले सञ्चार गरियो तर लोकतन्त्र अरुलाई आयो । त्यसबाट अरु नै लाभान्वित भए, जनता चाहिँ हुन सकेनन् । जुन पार्टी सरकारमा पुगे पनि, जुन व्यक्ति प्रधानमन्त्री भए पनि, मन्त्री जनताका सपना र आशा पूरा हुन सकेनन् । राजनीति भनेको आशा, सपना र आश्वासन बाँडेर पदमा पुग्नका लागि मात्र हो ? सत्तामा पुगेपछि आम जनताको सेवा गर्नु पर्दैन ? भन्ने प्रश्न उठ्छ ।
नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान सरकार चलिरहेको छ तर पनि अहिले संसदमा वित्तण्डा मच्चिरहेको छ । नेपाली कांग्रेस आगामी महाधिवेशनतर्फ ध्यान जानु जरुरी छ, सरकारमा मात्र केन्द्रित हुनुको साटो । यो महाधिवेशनमा किशोर र युवा पुस्ताले सहभागी हुने जाँगर देखाएका छन् । युवा नेतृत्वको चहलपहल बढ्नु शुभसंकेत हो । सिद्धान्तविहीन स्वार्थलोलुप झुण्डलाई चौधौँ महाधिवेशनले पषखा लगाउन सक्यो भने पार्टी लोकतान्त्रिक गतिमा अघि बढ्न सक्छ । स्वार्थलोलुप झुण्ड नै राजनैतिक अस्थिरताको कारक हो ।
पार्टी आधार निर्माणमा महाधिवेशन अपरिहार्य हो । पार्टीको सिद्धान्त मार्गदर्शन विधि विधान निर्माण, परिमार्जन, संशोधन, नीतिनिर्देशन निर्माण, निर्माण संशोधन, नीति निर्देश समीक्षा, योजना निर्माण सफल कार्यान्वयनसँगै पार्टी नेतृत्व निर्माण गर्ने महत्वपूर्ण थलो हो, महाधिवेशन । हरेक पार्टीको अमूल्य सम्पत्ति, अनुशासन, नीति र सिद्धान्त तथा विधि हो । अनुशासन कसैलाई पलामे साङ्लोमा बाँधेर राख्नुभन्दा पनि आफैलाई शशासिन गर्ने हो । यसको सौन्दर्यले पार्टीलाई सुद्धिकरण गरी उर्जावान् बनाउन मद्दत गर्छ ।