गोरक्ष समाचारदाता
तुलसीपुर, १ असोज । तुलसीपुर उपमहानगरपालिकामा मातृ मृत्युदर शून्य रहेको छ । नवजात शिशु मृत्युदर भने १ प्रतिशतभन्दा कम रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । दुई दिनसम्म चलेको नगर स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले यस्तो तथ्यांक प्रस्तुत गरेका छन् ।
प्रस्तुत तथ्यांकमा एक बर्षको अवधिमा तुलसीपुर उपमहानगरपालिकाभित्र जन्मिएका जम्मा ३ हजार ७ सय बच्चाहरुमध्ये १९ जना शिशुको मृत्यु भएको तथ्यांकमा जनाइएको छ । समीक्षा कार्यक्रममा प्रस्तुत तथ्यांकमा तुलसीपुर उपमहानगरपालिकामा खोप कभरेज ८५ प्रतिशतभन्दा माथि रहेको उल्लेख गरिएको छ । समीक्षा कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उन्नीसै वडालाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको बताइयो ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा मानव संशाधनको अवस्था कमजोर नरहेको उल्लेख गर्दै प्राप्त जनशक्तिको अधिक्ततम् उपयोग गर्नका लागि आधुनिक उपचार पद्धतिसँगै प्रयोगशालाको स्तरबृद्धि गर्न पनि सुझाव दिइएको छ । साथै समीक्षा कार्यक्रममा सहभागीहरुले स्वास्थ्य संस्थाहरुमा रिफर मेकानिजम बनाउन आवश्यक रहेको बताएका छन् । कुन बिरामीलाई केकति कारणले रिफर गर्नुपर्न हो भन्ने सवालमा निश्चित मापदण्डहरु बनाउनुपर्ने सुझाव दिएका थिए ।
पछिल्लो समयमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण तुलसीपुर पनि आक्रान्त रहेको उल्लेख गर्दै समीक्षा कार्यक्रममा जुनसुकै सरुवा रोगको प्रकोप न्यूनीकरण एवं व्यवस्थापनका लागि समुदाय परिचालनलाई प्राथमिकतामा राख्न पनि सुझाव दिइएको छ । त्यसैगरी घुम्ती स्वास्थ्य शिविरलाई पनि निरन्तरता दिनुपर्ने स्वास्थ्य अधिकारीहरुको सुझाव थियो । तुलसीपुर उपमहानगरपालिकाभित्र सर्पदंश उपचारकेन्द्र शून्य रहेको अवस्थामा यसमा पनि पहल गर्न सरोकारवाला निकायहरुलाई आग्रह गर्ने सुझाव दिइएको छ ।
अघिल्लो बर्षदेखि सुरु भएको ज्येष्ठ नागरिकहरुलाई घरमै औषधि पु¥याउने कार्यक्रमलाई निरन्तरता दिनका लागि पनि एउटा कार्यविधि बनाएर अघि बढ्नुपर्ने सुझाव दिइएको छ । पछिल्लो कोरोना महामारीका क्रममा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य संस्थाहरुमा खोप स्टोरेज चेन प्रयाप्त नभएको उल्लेख गर्दै यसलाई पनि विस्तार गर्न सुझाव दिइएको छ ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकामा आधारभूत स्वास्थ्य सेवा सबै वडामा पु¥याइसकेको बताउँदै अब थप गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन उपमहानगरपालिका प्रतिवद्ध रहेको बताए । कोभिड–१९ को संक्रमणमा तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाकोे उच्च सम्मान गर्दै नगरप्रमुख पाण्डेले आवश्यकताका आधारमा सबै स्वास्थ्य संस्थाहरुको स्तरबृद्धि गर्दै सरकारले ल्याएको एक स्वास्थ्य संस्था एक चिकित्सकको अवधारणालाई उपमहानगरपालिकाले आत्मसात् गर्ने बताए ।
उनले स्मार्ट हेल्थको अवधारणाअनुरुप आधुनिक चिकित्सासँगै आयुर्वेद चिकित्सा, योगा प्रणायाम, फिजियोथेरापी तथा प्राकृतिक उपचार पद्धतिलाई पनि उपमहानगरपालिकाका स्वास्थ्य संस्थाहरुले अनुशरण गर्ने बताए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष तथा विपत् व्यवस्थापन संयोजक नगराज लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विमल केसीले गरेका थिए ।
समीक्षा कार्यक्रममा तुलसीपुर उपमहानगरभित्र रहेका सबै स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र, स्वास्थ्य प्रवद्र्धन केन्द्र, राप्ती प्रादेशिक अस्पताल, तुलसी अस्पताल, तुलसीपुर सिटी अस्पताल तथा राप्ती लाइफ केयर अस्पतालका अधिकारीहरुको समेत सहभागिता रहेको थियो । सहभागी सबै स्वास्थ्य संस्थाले आ–आफ्नो संस्थाले गर्दै आएका उपचारसेवा लगायत कार्यप्रगति प्रस्तुत गरेका थिए ।