बेलझुण्डीमा आक्रोस

  •   
  •  

गोरक्ष समाचारदाता
बेलझुण्डी,३० भदौ । सबैतिर निजी तथा सामुदायिक विद्यालयहरुमा भौतिक उपस्थितिबीच पढाइ हुँदा विद्यार्थीहरु उत्साहित भइरहेको अवस्थामा बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्साको स्नातक तह बिएएमएस पढ्ने विद्यार्थीहरु भने आक्रोशित बनेका छन् । नजिकैका विद्यालयहरुमा साना बालबालिकाहरु भौतिक उपस्थितिबीच अध्ययन गरिरहँदा आयुर्वेद चिकित्सा शास्त्र अध्ययन गर्ने बिएएमएसका विद्यार्थीहरु भने सोमवार दिनभरजसो विश्वविद्यालय प्रशासनमा आक्रोशित देखिए ।

उनीहरुले अघिल्लो बर्षकै माग दोहो¥याएर आन्दोलनमा आएको बताएका छन् । ‘हाम्रो अघिल्लै बर्षदेखिको माग हो कि हामीलाई हाम्रो क्याम्पस चाहियो, चिकित्सा शिक्षाजस्तो नितान्त प्रयोगात्मक शिक्षा अनलाइनमा मात्र सम्भव छैन’, आन्दोलनमा खटिएका बिएएमएसका एक विद्यार्थीले गोरक्षलाई भने । कोरोनाको महामारीका बेला क्याम्पस भवन अस्पताललाई दिनु स्वाभाविक भए पनि अहिले यतिका महिनासम्म पनि आफूहरुको पढाइलाई बेवास्ता गरिनु विश्वविद्यालय प्रशासनको गैरजिम्मेवारीपन भएको पनि विद्यार्थीहरुको भनाइ थियो ।

वरपरका विद्यालयहरुमा धमाधम भौतिक उपस्थितिबीच कक्षा चलिरहँदा आयुर्वेद चिकित्साशास्त्र अध्ययन गर्ने बिएएमएसका विद्यार्थीहरु कक्षा माग्दै रजिष्टारको कार्यकक्षमा ताला लगाउन बाध्य छन् । अन्य स्कुलका बसहरुले विद्यार्थीहरु बोकिरहँदा भारत सरकारले विद्यार्थी बोक्नका लागि अनुदानमा उपलव्ध गराएको नेसंवि केन्द्रीय आयुर्वेद विद्यापीठको बसले भने विश्वविद्यालयभरीका कर्मचारीलाई बोकिरहेको छ ।

लुम्बिनी प्रदेश सरकारले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस भवनमा अस्थायीरुपमा सञ्चालन गरेको कोरोना विशेष अस्पताल दुई बर्षसम्म पनि स्थायीरुपमा व्यवस्थापन हुन नसक्दा आयुर्वेद चिकित्सा अध्ययन गर्दै आएका करीब ३ सय विद्यार्थीहरु दुई बर्षदेखि क्याम्पस जान पाएका छैनन् । प्रयोगात्मक कक्षामा समेत उनीहरुलाई मुस्किल भएको छ । विद्यार्थीहरुले आफ्नो क्याम्पस माग्दै आन्दोलन थाल्दा उनीहरुको मागमा समर्थन जनाउने नेपाल संस्कृत विश्वविद्यालयका उच्च अधिकारीहरु नै आयुर्वेद चिकित्सा शिक्षालाई बेलझुण्डीबाट यो र त्यो बहानामा विस्थापित गर्न चाहेको विश्वविद्यालय सम्बद्ध एक अधिकारीले बताएका छन् ।

‘केही संस्कृतका गुरुहरु नै किन हो कुन्नि नेसंविमा चल्दै आएको आयुर्वेद चिकित्सा शिक्षाप्रति सकारात्मक देखिनुहुँदैन’, ती अधिकारीले भने । खासमा नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरु नै गम्भीररुपमा प्रस्तुत नहुँदा तीन सय विद्यार्थीहरुको शिक्षा विगत दुई बर्षदेखि अन्योलको अवस्थामा छ । चार बर्षे बिएएमएस ७ बर्षमा पनि पूरा हुन सक्ने अवस्थामा देखिँदैन । विद्यार्थीहरुले कोरोनाको संक्रमण न्यून हुँदै गएर अस्पतालमा बिरामीको संख्या अत्यन्तै न्यून भएको अवस्थामा अघिल्लो बर्ष पनि आफ्नो क्याम्पस माग गर्दै सडक आन्दोलनसमेत गरेका थिए ।

सडक अवरुद्ध गरेपछि तात्कालीन प्रमुख जिल्ला अधिकारी दलवलसहित बेलझुण्डी आएर बाटो खुलाएका थिए । यो बर्ष पनि कोरोना संक्रमण न्यून भएको अवस्थामा विद्यार्थीहरुले क्याम्पस प्रशासनसँग आफूहरुको भौतिक उपस्थितिबीच पढाइ हुनुपर्ने माग गरे । प्रशासनले सुनेन । अन्ततः सोमवार उनीहरुले नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीकै कार्यकक्षमा एक घण्टा तालासमेत लगाए । बेलझुण्डी, हेमन्तपुर मात्र नभएर इलाका प्रहरी चौकीका सुरक्षाकर्मीहरु समेत बोलाउन बाध्य भयो, नेसंवि प्रशासन ।

तर विद्यार्थीका समस्याका विषयमा विश्वविद्यालयका रजिष्टार भने हल्कारुपमा प्रस्तुत हुँदै आएका छन् । विद्यार्थीहरुको भौतिक रुपमा पठन–पाठन कहिलेदेखि हुन्छ ? गोरक्षको प्रश्नमा रजिष्टार माधव अधिकारीले भने– ‘त्यो त क्याम्पसका प्राचार्यलाई सोध्न्स् ।’ जहिले टिचर जुट्छन् त्यहिले पढाइ सुरु हुने रजिष्टार अधिकारीको अभिव्यक्ति थियो । दुई बर्षदेखि पटक–पटक आन्दोलन भइरहँदा पनि रजिष्टार अधिकारीले दिएको यस्तो अभिव्यक्तिलाई विद्यार्थीहरुले पनि गम्भीरता नभएको अभिव्यक्तिका रुपमा लिएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयले अस्थायी कोरोना विशेष अस्पताललाई अन्यत्र व्यवस्थापन गर्नका लागि प्रदेश सरकारसँग अर्थपूर्ण पहल गर्न सकेको छैन । विश्वविद्यालयका केही उच्च पदाधिकारीहरु अस्पताललाई त्यही राख्ने तर क्याम्पस र शिक्षण अस्पताललाई अन्तै विस्थापित गर्ने गृहकार्यमा रहेका छन् । विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरुले क्याम्पस भवन अन्तै बनाउनका लागि भन्दै अघिल्लो आर्थिक बर्ष प्रदेश सरकारसँग ८० लाख रुपैयाँ मागसमेत गरेपछि प्रदेश सरकारले आयुर्वेद क्याम्पस भवन बनाउनका लागि ५० लाख रुपैयाँ विश्वविद्यालयलाई उपलव्ध गराइसकेको छ ।

भवन कहाँ बनाउने भन्ने आन्तरिक कसरतमा विश्वविद्यालयका अधिकारीहरु लागिरहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयले निर्माण गरिसकेको संरचनाको स्वामित्व प्रदेश सरकारलाई सुम्पने अभ्यास समेत सुरु भएको विश्वविद्यालय स्रोतले बताएको छ । ‘क्याम्पस भवन विश्वविद्यालयमा फर्काउनका लागि गएको ५ महिनामा शून्य प्रगति भएको छ, विद्यार्थीहरुलाई आन्दोलनमा होस्टेमा हैसे गर्नु खालि उच्च पदाधिकारीहरुको नाटक मात्रै हो’, ती अधिकारीले भने । विश्वविद्यालय आफ्नो भवनको स्वामित्वप्रति गम्भीर हुन्थ्यो भने अन्यत्रै क्याम्पस भवन बनाउनका लागि प्रदेश सरकारसँग पैसा लिनु उपयुक्त होइन । विश्वविद्यालयले प्रदेश सरकारलाई नै अस्पताल भवन बनाउनका लागि कुनै पनि उपयुक्त स्थानमा जग्गा उपलव्ध गराउन सक्थ्यो ।

आयुर्वेद अध्ययन संस्थानका डिन प्रा.डा. सन्जय पोख्रेलले विद्यार्थीहरुलाई क्याम्पस भवन हस्तान्तरणको अर्को विकल्प नरहेको भन्दै नेपाल संस्कृत विश्वविद्यालयका सबै पदाधिकारीहरुको अर्थपूर्ण पहलको आवश्यकता रहेको बताएका छन् । ‘आजको छाक टर्यो, भोलि हेरौंला’ भन्ने प्रबृत्ति हावी हुँदा अस्थायी कोरोना विशेष अस्पताललाई अन्यत्र व्यवस्थापनमै आनाकानी भइरहेको पनि डिन पाख्रेलले बताए ।

विद्यार्थीहरुको माग अत्यन्तै स्वाभाविक भएको भन्दै उपकुलपतिलगायतका पदाधिकारीले अस्थायी कोरोना अस्पताललाई अन्तै व्यवस्थापनका लागि प्रदेश सरकारसँग अर्थपूर्ण पहल गर्नुपर्ने बताए । पछिल्लो समयमा कोरोनाको संक्रमण घटेर घोराही, लमही र तुलसीपुर अस्पतालमा गरी एक दर्जन पनि भर्ना बिरामी नभएको अवस्थामा एउटै स्थानमा कोरोना संक्रमितलाई उपचारहुने गरी दीर्घकालीन व्यवस्था गर्न पनि उनको आग्रह थियो ।