भौतिक उपस्थितिबीच पढाइ : सबैतिर उत्साह, बेलझुण्डीमा आक्रोस

  •   
  •  

खेमराज रिजाल
बेलझुण्डी, ३० भदौ । तुलसीपुर उपमहानगरपालिका–१७ की अभिभावक युवा पाण्डे मंगलवार निकै उत्साहित देखिइन् । एकाबिहानै उनमा देखिएको उत्साह अरु कुनै खुसी नभएर नातिलाई विद्यालय पठाउँदा देखिएको हो । ‘दुई बर्षदेखि स्कुल पठाउन नपाएर बच्चाहरु धेरै बिग्रिएका थिए, आजदेखि त हाइसञ्च भएको छ’, युवाले भनिन् । दिनरात मोबाइलमा मात्रै झुण्डिने नाति स्कुलमा केही सिक्नेमा युवा आशावादी छिन् ।

युवा मात्र होइन, सोही ठाउँकै विजया केसीले पनि छोरालाई साथमा लिएर स्कुल जाँदै थिइन् । छोरा सन्तोष नजिकैको फोर्टिनाइन बोर्डिङमा एक कक्षामा पढ्छन्, विजया उनकै शिक्षिका हुन् । विजयाले सन्तोषलाई घरमै पनि पढाउन सक्थिन् । तर स्कुलमा पढेजस्तो हुँदै भएन । ‘मैले घरमै पढाउन लाख कोशिस गरेँ, तर स्कुलमा जस्तो रमाएर मन लागेर पढ्ने अवस्था कहिल्यै भएन, अनि सिक्ने लक्ष्य पनि पूरा हुन सकेन’, आफ्नै सन्तानको शिक्षिका समेत रहेकी विजया भन्छिन्– ‘भौतिक उपस्थितिबीच पढाइ भएकोजस्तो त केही गरी हुँदो रहेनछ ।’

युवा र विजयाजस्तै जमेराका श्रवण चौधरी पनि मंगलवारदेखि ढुक्क छन् । उनको बच्चालाई लिन स्कुल बस आएको छ । तुलसीपुर उपमहानगरपालिकाले एक दिन रोकेको स्कुल बस आवश्यकता महसुस गरी मंगलवारदेखि चलाउन परिपत्र गरेसँगै स्कुलबस उनको बच्चा लिन जमेरामै पुग्यो । ‘अब फेरि कोरोनाको संक्रमण नफैलियोस्, मेरो बच्चाले सधै स्कुल गएर पढ्न पाओस्’, श्रवणको विश्वास थियो । युवा, विजया र श्रवण प्रतिनिधि अभिभावकहरु मात्र हुन् । भौतिक उपस्थितिबीच पठन–पाठन सुरु भएपछि विद्यार्थीहरु पनि खुसी देखिएका छन् । पढाइमात्रै नभएर साथीसंगीहरुसँग पनि भौतिक भेटघाट हुनेमा पनि विद्यार्थीहरुको उत्साह जोडिएको छ । ‘स्कुलमा पढेजस्तो अनलाइनमा एक्लै पढेर कहाँ हुन्छ ?’ तुलसीपुरको ज्ञानज्योति बोर्डिङमा कक्षा ११ मा पढ्ने एकजना विद्यार्थीले भने । गुरुहरुसँग आमनेसामने भएर क्रस कोइशन गरेर पढेको मजा बेग्लै हुने उनको अभिव्यक्ति थियो ।

मंगलवारदेखि जिल्लाका सबै पालिकाहरुमा विद्यालयहरु भौतिक उपस्थितिबीच पढाइ हुनेगरी सञ्चालनमा आएपछि करिब डेढ बर्षदेखि सुस्ताएको शैक्षिक गतिविधि पुनरागमन भएको छ । गढवा गाउँपालिकाबाहेक जिल्लाका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही उपमहानगरपालिकालगायत अन्य सबै पालिकाहरुमा भौतिक उपस्थितिबीच पठन–पाठन सुरु भइसकेको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् । पहिलो एक साताका लागि प्रायः सबै पालिकाहरुले निश्चित मापदण्ड तोकेर विद्यालय सञ्चालनको अनुमति दिएका छन् ।

संक्रमणको अवस्था हेरेर पहिलो चरणमा एक तिहाई विद्यार्थी मात्र बोलाएर तीन सिप्mट बनाएर कक्षा चलाउन पालिकाहरुले सबै विद्यालयहरुलाई पत्राचार गरेको एक पालिकाका शिक्षा प्रमुखले बताएका छन् । मापदण्ड अनुरुप विद्यालय सञ्चालन भए÷नभएको बेला–बेलामा अनुगमन हुने पनि ती अधिकारीको भनाइ थियो । विद्यालय भौतिकरुपमा सञ्चालनमा आए पनि चहलपहल भने पहिलेका दिनमा जस्तो भने देखिएको छैन । ‘आधा जति विद्यार्थीहरु मात्र उपस्थित भएका छन् । उनीहरुलाई तीन सिप्mटमा मिलाएर पठन–पाठन भइरहेको छ’, जनकल्याण मावि दुधरासका शिक्षक गिरिराज पाण्डेले गोरक्षलाई भने ।