ट्राफिक सचेतना बढाउँदै प्रहरी

  •   
  •  

दाङ, ३० भदौ । घोराही बजारको प्रमुख चोक भनेको तुलसीपुरचोक हो । तुलसीपुर चोकमा पैदलयात्रीलाई बाटो काट्न सहजताका लागि जेब्राक्रस बनाइएको छ । अन्य स्थानको भन्दा भीडभाड हुने तुलसीपुर चोकमा सडक पार गने सहजताका लागि जेब्राक्रस बनाइएको हो । तर मानिसहरुले ट्राफिक नियमसम्वन्धी सचेतनाको कमीका कारण जेब्राक्रसभन्दा बाहिरैबाट सडक वारपार गर्ने काम गर्ने गर्छन् । जसले गर्दा सडक दुर्घटनाको जोखिम समेत बढाउने गरेको छ ।

सहरी क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गत बैशाख र जेठमा घोराहीका विभिन्न चोक तथा भीडभाड हुने स्थानमा सडकहरु पार गर्नका लागि जेब्राक्रस बनाइएको छ तर जेब्राक्रसको प्रयोग भने अत्यन्त कम हुने गरेको छ । सहरी क्षेत्रमा जेब्राक्रस प्रयोग नगरी सडक वारपार गर्दा दुर्घटनाको जोखिम हुने गरेको भए पनि मानिसहरुले लापरबाहीका कारण जेब्राक्रसको पालना नहुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख थम्मन जिसीले बताएका छन् । ट्राफिक प्रहरी हुने स्थानमा सडक जथाभावीरुपमा काट्ने मानिसहरुलाई सम्झाएर जेब्राक्रसबाट सडक काट्न लगाउने गरे पनि ट्राफिक प्रहरी नहुने स्थानमा नियमको पालना नहुने गरेको उनले बताए । ‘सहरी क्षेत्रमा सडक दुर्घटना हुन नदिनका लागि जेब्राक्रस बनाइएको छ’, जिल्ला ट्राफिक प्रहरी प्रमुख जिसीले भने– ‘तर जेब्राक्रसको पूर्णरुपमा पालना हुन सकिरहेको छैन ।’ उनले बर्षात्का कारण बजारका कतिपय स्थानमा जेब्राक्रस मेटिएका भए पनि धेरै सडकहरुमा भएको बताए ।

सडकमा जेब्राक्रस भए पनि सचेतनाको कमीसँगै मानिसहरुको लापरबाहीका कारण जेब्राक्रसको प्रयोग हुन नसकेको उनले बताए । जेव्राक्रसको पालना हुन नसक्नुका साथै सडक मिचेर गरिने व्यापार तथा पार्किङका कारण दुर्घटनाको जोखिम हुने गरेको बताए । ‘ट्राफिक नियमको पालना नहुँदा सहरी क्षेत्रमा दुर्घटनाको जोखिम हुने गरेको’, उनले भने– ‘जोखिमलाई कम गर्नका लागि ट्राफिक प्रहरीले सचेतनासँगै नियमको पालना गर्नेलाई कारबाहीसमेत गर्ने गर्दै आएको छ ।’ उनले बर्षात्को समय सकिएपछि सचेतनाका कार्यक्रमसँगै सहरका मुख्य स्थानमा जेब्राक्रस बनाइने समेत बताए । तर समयमै सडक निर्माणको काम नहुँदा धेरै ठाउँमा ट्राफिक सचेतनाका बोर्डसँगै जेब्राक्रसहरु बनाउन नसकिएको बताएका छन् ।

जिल्लाको शान्ति सुरक्षा, आपराधिक गतिविधि नियन्त्रणका साथै सवारी दुर्घटना न्यूनीकरणका लागिसमेत प्रहरीले सक्रियता देखाएको छ । सडक सुरक्षाका माध्यमबाट दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सडक सुरक्षाका कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ । जसअन्तर्गत सोमवार प्रहरीले तुलसीपुर बजार क्षेत्रको विभिन्न ठाउँमा सडकपेटी प्रयोग गरी व्यापार व्यावसाय गर्ने र जथाभावी बाटो काट्ने पैदल यात्रुहरूलाई सम्झाई बुझाई गर्नुको साथै बाटो काट्दा अनिवार्य जेब्राक्रस प्रयोग गर्ने सल्लाह दिएको छ । प्रहरीले बजारको व्यस्त चोक वीरेन्द्रचोक, विपी चोक, बाहिनी चोकलगायत तुलसीपुरका विभिन्न चोकमा पैदल यात्रुहरूलाई जेब्रा क्रसिङको प्रयोग गर्न अनुरोध गरी जथाभावी बाटो काट्दा हुने सक्ने दुर्घटना सचेत अभियान नै थालेको हो ।

यसका साथै व्यापारीहरूले सडकपेटीमा व्यापार व्यवसाय गर्दा पैदल यात्रुलाई पर्ने असरका बारेमा जानकारी दिई सडक पेटीमा सामान राखेर बेचविखन गर्नेलाई तुरुन्त हटाउन लगाउनुका साथै तुलीपुर बजारको सम्पूर्ण क्षेत्रमा सडक सुरक्षासम्बन्धी माइकिङ अभियान सञ्चालन गरेर पैदल यात्रुहरूलाई समेत सडक प्रयोग सम्बन्धमा जानकारी गराउने कार्य निरन्तर गर्ने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीले सक्रियता बढाएपछि मानिसहरुले अनुशासित भएर जेब्राक्रसबाट मात्रै सडक काट्ने र व्यापारीहरूले फुटपाथ कब्जा गरेर जथाभावी व्यवसाय गर्ने प्रचलनमा कमी आएको प्रहरीले जनाएको छ ।