‘वि.स. २०४५ सालमा हामीहरूले गुरू जजुर मावि रक्षाचौरबाट एसएलसी परीक्षा दिएका थियौँ । एसएलसी परीक्षा दिएर म काठमाडौं कामका लागि गएको थिएँ । वि.सं. २०४६ साल असारमा एसएलसीको रिजल्ट प्रकाशित भएको थाहा पाएँ । गोरखापत्र हेरेँ, मेरो नाम देखिन’ तुलसीपुर–७ निवासी डिल्लीराज भण्डारीले भने – ‘त्यतिबेला मैले तेस्रो डिभिजनको लाइनमा मेरो नाम हेरेँ तर पनि देखिनँ । म काठमाडौंको डिल्लीबजार स्थित एक कम्पनीमा काम गर्दै आएको थिएँ । मेरा धेरैजसो साथीहरू विदेश गइसकेको थिए ।
म प्रथम र सेकेण्ड डिभिजनमा आउला भन्ने आशै थिएन, त्यतिबेला हाम्रो विद्यालयमा सबै कमजोर विद्यार्थी थियौँ । त्यस दिन लाग्यो अब फेल भइएछ गाँठे भन्दै काममा लागे । त्यतिबेला पाल्पाका दुई जना साथीहरू मसँग काम गर्थे ‘दाङालीले पनि के पास गर्न सक्लान् र भनेर हेप्न थालेपछि काम सकेर कोठामा पुगेर विस्तारामा पल्टेर कहिलेभन्दा माथिल्लो डिभिजनमा नाम पो छ कि भनेर प्रथम डिजन र सेकेण्ड डिभिजनको लाइन पनि हेरेँ, त्यसपछि सेकेण्ड डिभिजनको लाइनमा दोस्रो क्रमसंख्यामा मेरो नाम रहेछ, म खुसीले गदगद भएँ । हामी गुरू जजुर मावि भएको पहिलो सालका प्रथम विद्यार्थीमध्ये म र अर्को एक जना डिल्ली वली पास भएका रहेछौँ । मेरो पहिलो खुसी त्यही नै हो, सामुदायिक विद्यालय त्यसमा पनि त्यो समयमा सेकेण्ड डिभिजनमा पास हुँदा कति खुसी लाग्यो । मेरो खुसी प्रथम व्याचमा एसएलसीमा सेकेण्ड डिभिजन आउँदाको हो, त्यहि लेखि दिनुहोला’ उनले भने ।
शान्ति उद्यान गणेशपुर पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले त्यो नै जीवनको आफ्नो पहिलो खुसी सम्झिए । त्यो सँगै उनले काम गर्दै काठमाडौंमा जागिर गर्दाको अर्को खुसी थपिएको बताए । उनले पढाइका साथसाथै सानै उमेरदेखि व्यापार गर्ने र कर्मशः पढ्ने गरेको बताए । २०२६ सालमा साविक तुलसीपुर–३ हाल ७ स्थित आमा अम्बिका भण्डारी र बुबा झविलाल भण्डारीका कान्छो छोराको रूपमा जन्म लिएका भण्डारीले आफू काम गर्दै पढ्दै गरेर विकम पास गर्दा अर्को खुसी मिलेको सुनाए । त्यस सँगै उनी कान्छो छोरा भएकाले काठमाडौंको बसाइँ सकेर दाङ फर्केर आफ्नै घरआँगनमा व्यवसायी सुरु गर्दा पनि खुसी लागेको सुनाए ।
भण्डारीले सानै उमेरदेखि व्यापार गर्ने इच्छा भएकाले पनि उनले वि.स. २०४९ सालमा गाउँमै पिसानी, पेलानीका लागि मिल उद्योग सञ्चालन गर्न पाउँदा पनि खुसी लागेको सुनाए । ‘त्यतिबेला तेलबाट चल्ने टुकटुके मिल गाउँमा थिए, मैले लाइनबाट चल्ने मिल उद्योग खोलेर जनतालाई सहज सेवा दिएँ, त्यसमा पनि मलाई निकै खुसी लागेको थियो’ –भण्डारीले भने । उनले आफ्नै ठाउँमा सेवा दिन पाउँदा निकै खुसी थपिएको सुनाए । त्यस सँगसँगै भण्डारीले यातायात क्षेत्रमा आफनो व्यवसायलाई जोडेको बताउँछन् ।
तत्कालीन तुलसीपुर टेक्सी तथा मिनी माइक्रो बस व्यवसायी समितिमा सचिव, उपाध्यक्ष पदमा बसेर लामो समयसम्म यातायात क्षेत्रको विकास र विस्तारमा लाग्न पाउँदा खुसी प्राप्त भएको सुनाए । ‘सबै साथीभाइको सहयोग र सद्भावले म जिम्मेवारीपूर्वक यातायात क्षेत्रमा काम गर्ने मौका पाएँ’ उनले भने । भण्डारीले त्यतिबेला यातायातको पहुँच नपुगेको दूरदराजमा साना गाडीहरू सञ्चालन गरी जनतालाई सेवा दिन पाउँदा सेवामै खुसी मिलेको सुनाए ।
त्यस्तै भण्डारीले वि.सं. २०७४ सालमा सबैको सहमतिबाट तुलसीपुर–३ स्थित गणेश सामुदायिक वनभित्र रहेको राप्ती शान्ति उद्यान व्यवस्थापन समितिको जिम्मेवारी लिएर काम गर्न पाउँदा पनि खुसी लागेको बताए । आफू त्यहाँ आएपछि करिब १८ वर्ष पहिले शान्तिको नाममा स्थापना भएको शान्ति उद्यान (गणेशपुर पार्क)लाई व्यवस्थित गर्न पाउँदा आफू खुसी भएको सुनाए । ‘पार्कका परिकल्पनाकार र संस्थापकहरूले सोचेको परिकल्पना र सपनालाई विस्तारै साकार पार्न पाउँदा म निकै खुसी छु’ उनले भने ।
भण्डारीले आफू पार्कको नेतृत्वमा पुगेसँगै संस्थापक त्यस अघिका पदाधिकारीहरू र हालका पदाधिकारीहरूको सल्लाहर सुझावबाट पार्कको विकास र विस्तार गर्न पाउँदा आफू निकै खुसी भएको सुनाए । आफू आएसँगै पार्कमा पहिलो काम निर्माणाधीन गणेश मन्दिरको पूर्णता दिन पाउँदा अर्को खुसी प्राप्त भएको सुनाए । साथै पार्कमा विभिन्न मन्त्रालयहरू प्रदेश सरकार र स्थानीयको सहयोगबाट पार्कका डिपबोरिङ, प्रकृति संरक्षण र वन्यजन्तु संरक्षणका लागि मिनी जू, पार्कलाई हराभरा गराउन पाउँदा निकै खुसी लागेको सुनाए । त्यसका साथै शान्तिका नाममा खोलिएको पार्कमा बुद्धको मूर्ति स्थापना गरी पार्कलाई थप मनोरम र व्यवस्थित गर्न पाउँदा खुसी मिलेको सुनाए ।
‘स्थापनाकालदेखिको सपना हामीले पूरा गरेका छौँ, पार्कका अधुरा रहेको शान्तिका दूत गौतम बुद्धको मूर्ति स्थापना गरेको दिन म निकै खुसी भएको थिए’ भण्डारीले भने । उनले तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलबाट गौतम बुद्धको मूर्ति अनावरण गराएको दिन आफू निकै खुसी भएको सुनाए । त्यस्तै पार्कमा बालबालिकाको मनोरञ्जनका लागि चिल्ड्रेन पार्क लिजमा दिए र त्यसलाई थप व्यवस्थित गर्न पाउँदा खुसी लागेको सुनाए । भण्डारीले अर्को खुसी पार्कमा सूचना प्रवाहका लागि सूचनागृह, निर्माणदेखि पार्कमा वाटर फाउन्टेन निर्माण गर्दा लागेको सुनाए । त्यस्तै वि.सं. २०७८ बैशाख १ गते आन्तरिक पर्यटन प्रबद्धन गरी करिब ७ हजार मानिसहरूलाई पार्कमा अवलोकन तथा भम्रण गराएको दिन अर्को खुसी थपिएको सुनाए ।
‘सबै राजनीतिक दल, समाजसेवी, संस्थापकहरूको सहयोगबाट हामीले पार्कको मुहार फेरेका छौँ, अझै व्यवस्थित गर्नु छ, म सबैको साथसहयोगको लागि धन्यवाद दिन्छु र सहयोग पाएकोमा खुसी छु’ उनले भने । त्यस्तै विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका भण्डारीले भण्डारी समाजको मन्दिरमा धनन्जय ऋषिको मूर्ति सहयोग गर्दा अर्को खुसी मिलेको सुनाए । त्यस्तै आफू व्यवसायी र समाजसेवामा लाग्दा घरमा श्रीमती र सबै परिवारको साथ पाउँदा खुसी लाग्ने गरेको सुनाए । उनले आप्mना दुईवटा छोराहरूलाई इन्जिनियर बनाउन पाउँदा पनि अर्को खुसी प्राप्त भएको सुनाए ।
‘एउटा छोराले सिभिल र अर्कोले बायुमेडिकल इन्जिनियर पढेको छ, छोराकोे प्रगतिमा पनि मलाई खुसी छ’ –भण्डारीले भने । मिजासिला, मिलनसार, कर्मशील डिल्लीराज भण्डारीले सबैको साथ र सहयोगले विभिन्न क्षेत्रमा सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे । तुलसीपुर–३ निवासी डिल्लीराज भण्डारी राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष तथा यातायात व्यवसायी हुन् ।