छाडा संस्कृतिको अन्त्य गरौँ

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ
संस्कृति र संस्कार हाम्रा धरोहर हुन् । जन्म मरणको इतिहासमा हाम्रा पुर्खाले युगौँदेखि स्वीकार गर्दै आएको हाम्रो आदर्श र परम्परागत संस्कृति अहिले हाम्रो जीवनको अभिन्न अङ्ग भएर देखापरेको छ । यसको संरक्षण गर्दै परिस्कृत विचार प्रदर्शन गर्नु वर्तमानको माग हो । सामाजिक सचेतनाको अभिवृद्धिसँगै बढेको मानवीय चाहनाले समयसापेक्ष यसको परिवर्तन गर्न खोजिए पनि यसको महत्व र गरिमाले मानवीय आचरण र व्यवहारमा कुनै खास ताङ्खिवक असर नपरिरहेको अवस्था छ ।

अहिले यसको महिमा झनै टड्कारो रुपमा आवश्यकता महशुस भइरहेको छ । संस्कृति र संस्कारले ल्याउने सकारात्मक गतिशीलताका कारण, केही भौतिक विलाषी र विचार र संस्कृति बेचेर आफूलाई आदर्शवान् देखाउन चाहने छद्मभेषी तत्वले, यसको गरिमालाई छिन्नभिन्न पार्न खोजे पनि नेपाली चेतना र संस्कार र स्थापित परम्पराले ल्याएको सचेतनाले उनीहरु नतमस्तक बन्न बाध्य भएका छन् । नेपाली मनमन्दिरभित्र जरा गाडेर रहेको हाम्रो संस्कृति, चाडपर्व तथा परम्परागत मान्यता हिजो जति आवश्यकता थियो, आज झन गरिमा र महत्व बढेको छ । परम्परादेखि चल्दै आएको हाम्रो संस्कृतिलाई पुरातनवादी चिन्तन हो भनी भन्ने स्वार्थी र बनावटी चरित्रका अगुवा पनि अहिले यही संस्कृतिभित्र बाच्न बाध्य भएका छन् ।

संस्कृति र संस्कार जीवनको अभिन्न अंग हो । यही संस्कृतिले हामी र हाम्रो सामाजिक बनोट परिस्कृत भइरहेको छ । आपसी सद्भाव र भाइचाराको अभिवृद्धि भई समाज उच्च आदर्शतिर गतिशील भइरहेको छ । प्रेम, मित्रता एवं सेवाको भावना जगृत भई एकअर्काबीचको सम्बन्धमा न्यानोपन देखापरेको छ । भाइ–भाइबीचको सम्बन्धमा सकारात्मक चिन्तनको प्रादूर्भाव भई ‘वसुधैव कुटुम्बकम’ को मान्यता प्रतिस्थापित भएको छ । जीवन सहज र सकारात्मक चिन्तनका साथ गतिशील छ । क्षणिक मोह र पापले उब्जन खोजको विचारलाई हटाइ भावनात्मक सम्बन्ध कायम गरी विचारमा निखारपन, सोचमा पवित्रता झल्कने परिस्थिति वर्तमानमा उजागर भएको छ ।

तसर्थ, पौराणिक मूल्य र मान्यताभित्र हुर्कँदै आएको हाम्रो संस्कृति र संस्कारलाई संरक्षण गर्दै जीवनलाई सहज गति दिनु वर्तमानको आवश्यकता हो । कर्म गर्दा चुनौती अवश्य आउन सक्छ । छद्मभेषी तत्वले यसको आदर्शलाई बङ्ग्याउने कोशिस नगर्लान् भन्न सकिन्न । तथापि, यसको संरक्षण र बचाउ गर्नु अहिले सबैको दायित्व बनेको छ । जहाँ संस्कृति र संस्कारको जगेर्ना हुन्छ त्यहाँको शासन पद्धति उत्तम गतिमा बघि बढ्न सक्छ । नत्र संस्कृतिभित्रको मर्यादा तोडि छाडातन्त्रलाई प्रश्रय दिने हो भने अहिले हामी जुन अवस्थामा गुज्रिरहेका छौँ, आगामी दिनमा त्यो असम्भव हुन सक्नेछ । त्यसैले मानवीय आचरण र चरित्रभित्र मौलाउँदै गएको गलत चिन्तन विकृतिजन्य कर्मप्रति गम्भीर भएर हाम्रो अस्तित्व हाम्रो आदर्श, हाम्रो आदर्श असल सुशासन भनी सबैले जिम्मेवारी लिनु जरुरी छ ।

वर्तमान समयमा जनताको मर्म र भावनालाई मुखरित गर्ने जिम्मेवार निकायबाट कसैको इसारा र व्यक्तिवादी चिन्तनको प्रभावले क्षणिक आवेगमा आइ सामाजिक मूल्य र मान्यतालाई चुनौती दिइरहेको अवस्था छ । भविष्यको ख्यला नगरी संकुचित सोच र चिन्तन बढाइ क्षणिक स्वार्थ मुखरित भइरहेको छ । तसर्थ, यस्तो परिस्थितिलाई हटाइ स्वच्छ र पवित्र विचार प्रवाह गर्न हाम्रो संस्कृतिले स्थापना गरेको संस्कार र मूल्यलाई बुझी सबैले गम्भीर भएर चिन्तन गर्नु परेको छ ।

विश्व परिवेशमा मौलाउँदै गएको छाडा संस्कृति र संस्कारको प्रभावले शुद्ध र पवित्र मनका नेपालीहरुभित्र पनि कता–कता विचलन देखापरेको अवस्था छ । सृष्टिको इतिहासलाई मानवताको उत्कृष्ट चरित्रभित्र परिभाषित गर्दै केही स्वार्थकेन्द्रित विचारहरु यदाकदा देखापरेका पनि छन् । मान, सम्मान र मूढेचिन्तन हाबी गर्ने दुःस्साहस पनि गरिँदै गएको छ । सामाजिक संस्कारमा हुर्केको हाम्रो आदर्शप्रति हिलो छ्याप्ने काम समेत गरिँदै रहेको अवस्था छ । सामाजिक बनोटको आधार स्तम्भ भएर युगौँदेखि आइरहेको हाम्रो संस्कारलाई सीमित दायरामा परिभाषित गरी सामाजिक मर्यादामा खलल् पुग्ने काम वर्तमानमा भइरहेको छ ।

धैर्य र सम्यमता राख्न नसकी खुलेआम सामाजिक संस्कार र आचरणलाई विक्री गरिँदै छ । अमूल्य सम्पत्तिलाई सीमित चिन्तनभित्रको बजारमा सोदा गरिँदै छ । आफ्नो मर्यादा र चिन्तनलाई संस्कार र आचरणले कसरी विकसित गरिरहेको छ त्यतातिर सोच्दैनसोची केवल क्षणिक स्वार्थ र प्रपञ्चमा परी हाम्रो आदर्श विचारलाई खुम्च्याउने संस्कृति भनी व्याख्या गरिरहेको अवस्था छ । नजानिँदो पाराले आफूले आफैलाई गलत क्रियाकलापको दलदलमा फसाइँदैछ । मर्यादाको उल्लंघन गरी आफूले निर्वाह गर्नुपर्ने दायित्वसमेत ननिभाइ निर्लज्ज चरित्र प्रदर्शन भइरहेको छ । सभ्यता र संस्कृतिले सिकाएको चरित्रप्रति ध्यान नदिइ मानवीय आचरण र भविष्यको सूत्राधारलाई प्रभाव पार्ने गरी, सामाजिक, राजनीतिक र नैतिक आचरण प्रतिकुल आचरण निर्वाह गरिँदै छ ।

मानवीय विशिष्ट चरित्रलाई विकृतितिर धकेलिँदै छ । यदि यस्तै रबैया सामाजिक मूल्य र मान्यताभित्र भरिभाषित हुँदै जाने हो भने हाम्रो भविष्य कुन दिशातिर मोडिने हो ? सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । भर्खरै केही समय अगाडि सदन र सडकमा समेत अमर्यादित कार्य भइरहेको समाचार आएका छन् । व्यक्तिगत चाहनालाई पूरा गर्ने निहुमा एकै घरका परिवारले मृत्यु वरण गर्नुपरेको अवस्था छ । कानुन र नियम बनाउने निकाय आफै कुण्ठित बन्दै गएको छ । नारी र पुरुषबीचको सम्बन्धमा देखापरेको अनैतिक कर्म तथा नारी अस्मितामाथि देखिएको ताण्डवता, क्षणिक स्वार्थ लिने धुनमा विदेशमा पचास डिग्री गर्मी सहेर काम गरेको श्रीमानलाई ठग्ने प्रवृत्ति, भेट भइहाले पनि सड्यन्त्र गरी मार्ने, मराउने कार्य, सृष्टिको इतिहासलाई बङ्ग्याउने संस्कृति प्रशस्तै समाचार बनेर बाहिर आएका छन् ।

हाम्रो संस्कार र नैतिकताले नदिने कर्महरु समाचार बनेका छन् । यसले हाम्रो सामाजिक स्वरुप कतातिर ढल्किँदै छ ? लोग्ने–स्वास्नी, आमाछोरा, बाबुछोरी, भाइबहिनीबीचको सम्बन्धले सामाजिक प्रतिष्ठा कति सदृढ र आदर्शगति उन्मुख भएको छ ? प्रेम र सद्भावको डोरीले समाज कति शान्त र गतिशील छ ? त्यसतर्फ ध्यान केन्द्रित नगरी क्षणिक स्वार्थमा लुटपुटिएर आयातीत संस्कृतिको जग बसाल्न खोज्नु के आधुनिकताको दुरुपयोग होइन र ? कलुषित विचार प्रादुर्भाव हुने कर्म र व्यवहार के सामाजिक कलंक होइन ? यस्ता कार्यले के समाज आदर्श उन्मुख हुन्छ ? नीति निर्माण तहमा बसेकाको आचरण र व्यवहार गलत चिन्तनतर्फ आकर्षित भइरहने हो भने राष्ट्रिय जागरणमा कस्तो प्रभाव ल्याउला ?

तसर्थ, समाजलाई परिस्कृत गर्ने नाममा भित्रिँदै गरेको विकृतिजन्य कार्य अपराध प्रवृत्तिको हो भन्ने सोची यसको समयमै शुद्धिकरण गर्नुपरेको छ । सामाजिक मर्यादा विपरित कार्य गर्ने जोकोही पनि सामाजिक कलंक हुन् भन्ने मान्यता जागृत गरी यस्तो आचरण प्रदर्शन गर्न र हुन नदिन सबै सचेत हुन जरुरी छ । नेपाली संस्कृति र परम्परालाई विश्व इतिहासले चिनेको यो अवस्थामा दूरगामी असर पर्ने गरी सामाजिक आदर्श बङ्ग्याउने जोकोही पनि अपराधी हुन् भनी यस्ता व्यक्तिलाई सामाजिक बहिस्कार गर्ने संस्कृति स्थापित गर्न सबै जागृत हुनुपरेको छ ।

भौतिक विलाषीको मोह र जालमा फसी क्षणिक आनन्द र स्वार्थ लुटपुटिने मानवीय चरित्रको यस्तो प्रवृत्तिलाई अन्त्य गरी छाडा संस्कृतिले निम्त्याउने संवेदनशीलतालाई गम्भीर भएर चिन्तन गर्नुपरेको छ । संस्कृति र संस्कारले ल्याउने परिवर्तनमा छाडा संस्कृति नघुसाइ विकृतिजन्य स्वार्थकेन्द्रित चरित्रलाई हटाउनुपरेको छ । अहिले मौलाउँदै जान थालेको हाम्रो आचरण र चरित्रप्रतिको प्रश्न चिह्नलाई गम्भीर भएर चिन्तन गरी मेरो संस्कृति मेरो आदर्श, राष्ट्रको गौरव हाम्रो प्रतिबद्धता भनी सामाजिक सोच र चिन्तनमा सकारात्मक भाव जगाउन वर्तमानले सही दिशानिर्देश गरेको छ ।

यो अहिलेको उत्तम विकल्प पनि हो । तसर्थ, छाडा संस्कृतिभित्र नहिडि हाम्रो आवश्यकताले सिर्जएको नेपाली पहिचानप्रति गर्व गर्दै संस्कारगत मान्यतलाई सकारात्मक भावतर्फ डो¥याऔँ । संस्कृति र संस्कारप्रति देखिने विकृति र विसंगतिलाई हटाइ आचरण र व्यवहारमा खडेरी आउने वातावरण नबनाऔँ । छाडा संस्कृतिको अन्त्य गरौँ । समयले यही खोजिरहेको छ ।