थारु समुदायको अट्वारी : लोप हुन्छ कि भन्ने चिन्तामा थारु अगुवा

  •   
  •  

शिवराज खनाल
दाङ, २७ भदौ । थारु समुदायहरुको विभिन्न चाड पर्वहरुमध्येको एक महान् पर्व हो, अट्वारी पर्व । प्रत्येक वर्ष भदौ महिनाको श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार अथवा कुशे औंशीको पहिलो आइतबारलाई थारु समुदायले बर्का अट्वारीको रुपमा यो पर्वलाई मान्ने गर्दछन् । अट्वारी मूलत थारु समुदायका पुरुषले मनाउने भए पनि महिला पनि अट्वारीमा व्रत बस्ने गर्दछन् ।

थारु समुदायको अट्वारी पर्व माघपछिको दोस्रो ठूलो सांस्कृतिक, सामाजिक पर्वका रुपमा थारु समुदायले मनाउने गर्दछन् । अटवारीको अघिल्लो दिन मध्यरातमा दर खाएर यो पर्व सुरु हुन्छ । दोस्रो दिन व्रत बस्ने र दिनको मध्यान्हपछि पुजापाठ गरी चोखो रूपमा रोटी, पूरी, फलफूल खाने चलन छ भने अर्को दिन बिहान पुनः पूजा गरी माछा, खरिया फुलौरीलगायतका बिजोर संख्यामा विभिन्न परिकार खाने रहेको थारु समुदायका स्थानीय बताउँछन् । बिधवत सबै पुजा सकिएपछि आफ्ना चेलिबेटीहरुलाई पाहुरको रुपमा अग्रासन दिन जाने चलन छ ।

अट्वारी पर्व मनाउने सवालमा थारु समुदायकै बीचमा फरक–फरक मिति र समय हुन थालेपछि यसमा एकरुपता ल्याउन पछिल्लो समय थारु बाहुल्य क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेतलगायतका क्षेत्रमा रहेका थारूहरुले संयुक्त रुपमा क्यालेन्डरसमेत सार्वजनिक गरेर एकै दिन मनाउन थालेको थारू कल्याणकारिणी सभाका सचिब बालगोबिन्द चौधरी बताउँछन् । थारु समुदायका पु्रुषले थारु समुदायको सुस्वास्थ्य र दीर्घायूृका लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् । अट्वारीमा थारुहरु पानी समेत नखाएर ब्रत बस्ने गर्दछन् । यस पर्वमा जंगलबाट ल्याएको नयाँ र शुद्ध मालुको पातको दुना टपरीमा विभिन्न थारु परिकार र फलफुल खाने प्रचलन छ ।

हाल भने समय परिबर्तन भएसँगै पहिलेको अट्वारीभन्दा अहिले केही परिमार्जन भएको संस्कृतिविद् तथा थारु भाषामा लामो समयदेखि कलम चलाइरहेका छबिलाल कोपिला बताउँछन् । अट्वारीको रोटी पकाउँदा नयाँ चुलो बनाएर छुट्टै कोठामा गाईको गोबरले लिपपोत गरी पकाएको रोटी पूजा नगर्दासम्म खान बन्दैन भन्ने मान्यता छ । आगो बाल्ने बेला गन्यारी नामक काठबाट रगडेर आगो निकालिन्छ ।

यसरी निकालिएको आगोलाई मुखले फुक्नु हुँदैन मुखले फुक्दा जुठो हुन्छ भन्ने मान्ने गरिन्छ । अट्वारी पर्व हाल लोभ हुने अबस्थामा रहेको भन्दै थारु अगुवाहरु चिन्तित छन् । यसलाई बेलैमा सम्बन्धित क्षेत्रले ध्यान दिन नसके अट्वारी पर्व लोप हुनसक्ने थारु समुदायका अगुवाहरु बताउँछन् ।