कांग्रेस नगर अधिवेशन : तुलसीपुर हाँक्न तीन आकांक्षी

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, २७ भदौ । नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा अब नगर अधिवेशनको चर्चा सुरु भएको छ । यही भदौ २९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । अधिवेशनबाट नेतृत्व लिन तुलसीपुर उपमहानगरपालिकामा तीनजना आकांक्षी देखिएका छन् ।

तीनजना आकांक्षीहरूमध्ये एक जना आकांक्षी सुरेश हमाल यातायात क्षेत्र, शोभाकर सापकोटा सामुदायिक वन महासंघ र अनिल कार्की विद्यार्थी राजनीतिको क्षेत्रमा चर्चित व्यक्तित्वहरू हुन् । तीनै जना आकांक्षी होनहार युवाहरू हुन् । यद्यपि, उनीहरूलाई उम्मेद्वार बन्नका लागि कांग्रेस नेताहरूले खेमाको ट्याग लगाइदिएका छन् । कांग्रेस दीर्घामा चर्चा सुनिएअनुसार सुरेश हमाललाई दीपक गिरी समर्थनको नेतृत्वका रूपमा लिइन्छ भने अनिल कार्कीलाई गेहेन्द्र गिरीको खेमाको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । दुवै खेमाले उम्मेद्वार बन्नका लागि प्रस्ताव नगरेका अर्का आकांक्षी शोभाकर सापकोटाले भने कांग्रेसको स्वतन्त्र रूपमा उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ ।

तीनैजना आकांक्षीहरू अहिले चुनावी दौडाहामा छन् । यद्यपि सुरेश हमाल र शोभाकर सापकोटामध्ये एक उम्मेद्वार मात्रै निर्वाचनमा होमिने बुझिन्छ । सुरेश हमाल महाधिवेशन प्रतिनिधिका रूपमा टिममा परेनन् भने सो खेमाले हमाललाई नगर सभापतिमा प्रस्ताव गर्ने बताइएको छ । शोभाकर सापकोटालाई प्रदेश, क्षेत्रीय तथा जिल्लामध्ये कुनै समितिमा जिम्मेवार पद दिएर हमालकै खेमामा ल्याउने पनि दीपक गिरी खेमाका एक जना नेताले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा कांग्रेसका युवा नेता सुरेश हमाल नगर सभापतिका एक आकांक्षी हुन् । हमाल राप्ती बबई क्याम्पसमा २०५५ सालतिर नेविसंघको तर्फबाट चुनाव लडेर स्ववियु कोषाध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् । युवामाझ निकै लोकप्रिय हमालको हाल विभिन्न क्षेत्रमा लगानी छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघमा पनि केन्द्रीय उपमहासचिव तथा हाल सल्लाहकारको भूमिकामा रहेका हमाल पश्चिम दाङका विभिन्न सामाजिक संघसंस्थामा पनि उच्च तहको पदीय जिम्मेवारीमा कुशलतापूर्वक काम गरीसकेका छन् । लायन्स क्लव, रोटरी क्लव तथा तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान सल्लाहकारका रूपमा समेत रहेका हमाललाई राजनीतिसँगै सामाजिक अभियन्ताका रूपमा पनि चिनिने गरिन्छ । स्रोतका अनुसार हमाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाइमन्त्री दीपक गिरीको तर्फबाट तुलसीपुर नगर सभापतिका एक्ला उम्मेद्वार हुन् ।

त्यस्तै सुरेश हमालसंगै विभिन्न व्यावसायिक क्षेत्रमा सहयात्री समेत रहेका शोभाकर सापकोटा पनि अन्तिमसम्म नगर सभापतिकै उम्मेद्वार बन्न आकांक्षी देखिएका छन् । हमाललाई महाधिवेशन प्रतिनिधि बनाएर नगरमा आफ्नो नेतृत्व स्थापित गर्नका लागि लागिपरेका सापकोटा दीपक गिरीको टिमबाट अन्ततः नगर सभापतिको उम्मेद्वार बन्न नसकेपछि स्वतन्त्र रूपमा भए पनि नगरमै लड्ने तयारीमा रहेको उनी निकट सहकर्मीहरूले बताएका छन् । यद्यपि क्षेत्रीय सचिव वा उपाध्यक्षमध्ये कुनै एक जिम्मेवारी पाएमा उनी नगर सभापतिबाट व्याक भएर हमाललाई नै सहयोग गर्ने अवस्था पनि आउनसक्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

‘यदि मलाई नेताहरूले टिकट दिन मानेनन् भने म स्वतन्त्र रूपमा भए पनि सभापति पदमा चुनाव लड्छु’’ सापकोटाले पत्रकारहरू माझ भनेका छन् । आफूलाई केन्द्रीय सदस्य दीपक गिरीको निकट भन्न रुचाउने सापकोटाले आफूलाई पार्टीले नगर सभापतिको टिकट दिनुपर्ने दाबी गर्दै यदि त्यसो नभए स्वतन्त्र रूपमा चुनावमा भिड्ने स्पष्ट पारे । ‘म मेरो अडानबाट कदापि ब्याक हुनेवाला छैन’, सापकोटाले भने ‘दुवै गिरीको टिममा नपरे पनि म कांग्रेसबाटै स्वतन्त्र रूपमा भए पनि मैदानमा उत्रने छु ।’

सापकोटा २०५० सालमा महेन्द्र माध्यमिक विद्यालयको नेविसंघ इकाई सभापति भएका व्यक्ति हुन् । उनी २०६३ चैत २६ गते भएको राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनबाट उपसभापति बनेका थिए । त्यस्तै २०५६ सालमा सापकोटा नेविसंघ क्षेत्र नं. ४ को क्षेत्रीय सचिव बनेका थिए । २०५८ सालमा सापकोटा नेपाली कांग्रेसको तुलसीपुर नगर सचिवको जिम्मेवारीमा थिए ।

त्यसपछि सापकोटाले फरक फिल्ड सामुदायिक वन महासंघ दाङमा प्रवेश गरेका थिए । सापकोटाले २०५८ सालदेखि २०६३ सालसम्म लगातार दुई कार्यकाल सामुदायिक वन महासंघको जिल्ला सचिव र २०६७ सालदेखि २०७६ सालसम्म वन महासंघको अध्यक्षको भूमिकामा रहेर काम गरेका थिए ।आफूले नेविसंघको विद्यार्थी राजनीतिदेखि अनवरत रूपमा पार्टीलाई सघाउँदै आएको भन्दै उनले यतिखेर पार्टीले आफ्नो सही मूल्याङ्कन गर्नुपर्ने तर्क गरे ।

यस्तै २०६५ सालमा राप्ती बबई क्याम्पसमा नेविसंघको तर्फबाट चुनाव लडेर स्ववियु सभापतिमा निर्वाचित अनिल कार्की नगर सभापतिका अर्का एक आकांक्षी हुन् । त्यसपछि स्ववियु निर्वाचन हुन नसकेको हुँदा हालसम्म पनि कार्की नै स्ववियु सभापतिको अस्तित्वमा कायमै छन् । कार्की भदौ २२ गते तुलसीपुर ५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका व्यक्ति हुन् । युवामाझ लोकप्रिय छवि बनाएका कार्की नेपाली कांग्रेस दाङका पूर्व सभापति तथा पूर्व माननीय गेहेन्द्र गिरीको प्यानलबाट क्षेत्रीय प्रतिनिधिमा लोकप्रिय मत पाएर निर्वाचित हुने मध्यका एक युवा हुन् । राप्ती बबई क्याम्पसमा नेविसंघको राजनीति गरेका र लोकप्रिय छवि बनाएका हमाल र कार्कीबीच प्रतिस्पर्धा हुने हल्लाले कांग्रेसभित्रको राजनीति तरङ्गित हुनथालेको छ ।