शिक्षा डायरी : स्कूल चलाउ, स्कूल बस नचलाउ

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, २७ भदौ । ‘तुलसीपुरका स्कूलहरू सोमवारदेखि खुल्ने छन्, भौतिक उपस्थितिबीच पठनपाठन हुने भएकाले विद्यार्थीहरूलाई उपस्थितिका लागि सूचित गरिन्छ’, सामाजिक सञ्जालमार्फत् प्राप्त यो सूचनाले फेरि मन तरङ्गित भयो । स्कूल बस चलाउँदा विद्यालयमा बढी भीडभाड हुने निष्कर्ष निकाल्दै तुलसीपुर उपमहानगरपालिकाले विद्यालयहरू भौतिक रूपमा चलाउने भए पनि स्कूल बस भने नचलाउने निर्देशन दिएछ ।

कस्तो अचम्म ! न विधि, न विधान । हावादारी शैलीमा स्कूल भौतिक रूपमा चलाउने, बढीमा १५ जना विद्यार्थीहरू एउटा कोठामा राख्ने, दिनमा तीन सिफ्ट गराएर पढाउने तर विद्यालयका स्कूल बस भने नचलाउने रे ! दुधरासका एकजना अभिभावकले चिया पसलमा भनिरहेका थिए, यो तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको कस्तो झल्लो निर्णय हो । ती अभिभावकका छोरा तुलसीपुरको एउटा नाम चलेको निजी विद्यालयमा पढ्ने गर्छन् । दैनिक रूपमा स्कूल बसको सुविधा भएको र पढाइमा पनि फरकपन भएको अपेक्षा सहित उनले नजिकैको बोर्डिङबाट छुटाएर तुलसीपुरमा पठाउँदै आएका छन् ।

तर उनी अलमलमा परेका छन् । सोमवार उनका छोरा जस्तै दर्जनौ विद्यार्थीहरू स्कूल बसमा होइन, सार्वजनिक खचाखच भरिएको बसमा यात्रा गरी तुलसीपुरको विद्यालय पुग्नेछन् । जसरी पनि उनले छोरालाई भौतिक उपस्थितिबीच पढाउन चाहन्छन् । घरमा उनको निजी सवारीसाधन छैन । स्कूल बस नचलेपछि सार्वजनिक बसमा यात्रा नै उनको अन्तिम विकल्प हो । उनी थप टेम्परमा थिए । कम्तिमा स्कूल बसमा जान पाएको भए त अलिक सुरक्षित यात्रा हुन्थ्यो कि ? सार्वजनिक बसमा त विराटनगरबाट आएको यात्रु पनि हुनसक्छ, भारतको लखनौबाट आएको यात्रु पनि हुनसक्छ वा प्रमाणित संक्रमित पनि हुनसक्छ । तर स्कूल बस चलेको भए त सबै चिनजानकै समुदायका बालबालिका हुन्थे नि ? किन यस्तो निर्णय गरेको ? ती अभिभावक थप आक्रोशित हुँदै थिए ।

मलाई पनि तुलसीपुरको शिक्षा शाखाको त्यो निर्देशन अलि स्वाभाविक लागेन । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई यो विषयमा जानकारी गराएँ । तर प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले स्मार्ट लकडाउनको सूचकका आधारमा विद्यालय सञ्चालन गर्न मिल्ने अवस्थामा स्कूल बस नचलाउने निर्णय त जिल्लाको डिसिएमसीले गर्नै सक्दैन भन्ने जानकारी दिए । हो, प्रमुख जिल्ला अधिकारीले स्मार्ट लकडाउनको सूचकअनुसार भौतिक उपस्थितिबीच विद्यालय सञ्चालन गर्ने तयारी भएको अवस्थामा स्कूल बस चलाउँदा थप सुरक्षित हुनसक्ने सुझाव दिए । प्रजिअ कुरुम्वाङले यो विषयमा पालिकाले खास निर्णय गरेका छन् भने त्यहीँकै नगर प्रमुखबाट जानकारी लिन पनि आग्रह गरे ।

मन अलि शान्त भयो । सायद गलत सूचना पाएका होलान्, निजी विद्यालयहरूले । मैले शिक्षा शाखाका प्रमुख चक्र भण्डारीलाई फोन गरे । स्कूलबस नचलाउनुको कारण सोधेँ । चक्रले भने– ‘हो स्कूल बस चलाउँदा बढी भीडभाड हुन्छ, त्यसैले एकतिहाइ वा एउटा कक्षा कोठामा पन्ध्र जनासम्म विद्यार्थीहरू राखेर मात्रै तीन सिफ्टमा कक्षा चलाउने निर्णय भएको छ । सम्भव छ, दुई हजार विद्यार्थी भएका विद्यालयहरूलाई एउटा कक्षामा पन्ध्र जना विद्यार्थी राखेर सिफ्टवाइज कक्षा चलाउन ?

कृपया तपाईं पनि जिम्मेवार अभिभावक हो भने यो कोरोनाको महामारीमा आफ्नो बच्चालाई जोगाउन घरमा सवारी साधन छैनन् भने अटोमै व्यवस्था गरेर विद्यार्थी स्कूलमा पठाउन सक्नुहुन्छ । चक्र भण्डारीको यो अभिव्यक्तिले फेरि मलाई चक्रव्यूहमा फसायो । बल्लतल्ल बोर्डिङ पठाउने हामीजस्ता नागरिकले दुधरासबाट तुलसीपुर दैनिक रूपमा कसरी अटोमा विद्यार्थी पठाउन सक्छौँ ? सायद चक्र सरलाई थाहा छैन होला, अटोमा विद्यालय आउजाउ गर्दा दैनिक १५ सय रूपैयाँ भाडाका लागि मात्रै सकिन्छ भनेर ।

अनि सार्वजनिक बसमा विद्यार्थी पठाउनुको विकल्प छैन, अभिभाकलाई भने जानकारी गराउँदा चक्र सर धेरै तर्क गर्दा पनि कन्भिन्स हुन सकेनन् । उल्टै आफ्नै शाखाको निर्णयको पक्षपोषण गरिरहे । विद्यार्थीहरूको दुईवटा शैक्षिक सत्र अनलाइनका नाममा मोवाइलमा गेम खेल्दै र टिकटक हेर्दै खेर गइसकेको छ । दुईवटा शैक्षिकसत्र पूरै निरर्थक बितिरहँदा यस्ता धेरै चक्र सरहरू गम्भीर हुन सकेनन् । शिक्षामन्त्रालयका चक्र सरहरू, प्रदेश शिक्षा मन्त्रालयका चक्रहरू अनि स्थानीय पालिकाका चक्र सरहरू … ।

चक्र सरले देखिरहेको हुनुपर्छ । अहिले विद्यालय मात्र बन्द छन्, सबथोक खुलिसकेका छन् भनेर । चक्र सरले अध्ययन गरेको हुनुपर्दछ, तुलसीपुर उपमहानगरपालिका भित्रको स्मार्ट लकडाउनका सूचकहरूका विषयमा । रेड जोन, यल्लो जोन, ग्रीन जोन …। अर्थात् कुन जोनमा छ, तुलसीपुर, के–कसरी चल्न सक्नेछन्, स्कूलहरू ?

चक्रसर ! तपाईंले निर्णय गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको सूचकहरूको पनि गहिरो अध्ययन गर्नुहोला । तुलसीपुर उपमहानगरपालिकामा पछिल्लो साता कतिजना नयाँ कोरोनाका संक्रमित भेटिए ?, कति सक्रिय संक्रमित छन्, संक्रमणको दर कस्तो देखियो ?, मृत्युदर कस्तो छ ? हस्पिटल अक्युपेसीको अवस्था कस्तो छ ? भनेर सायद तपाईंले त्यो बेला निर्णय लिन सक्नुहुनेछ, अब हाम्रा पालिकाका स्कूलहरू एकतिहाई विद्यार्थी राखेर चल्न सक्छन् वा ५० प्रतिशत वा पूर्ण रूपमा विद्यार्थी राखेर विद्यालय सञ्चालन हुनसक्ने छन् ।

सिक्दासिक्दै र इन्टरनेट जोड्ने प्रयास गर्दागर्दै दुईवटा शैक्षिकसत्र पुरै खेर गइरहेका छन् । इन्टरनेट चलाउन विद्युत सेवा नियमित हुनुप¥यो तर विद्युत सेवा जहिल्यै पनि झ्याप्प झ्याप्प । डाटा र इन्भर्टर छोराछोरी पढाउनका लागि सम्भव छैन । यो अवस्थाले वैकल्पिक शिक्षाका कुनै पनि विधा प्रभावकारी बन्नसकेका छैनन् । कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी क्षति क्षेत्र भन्ने हो भने शिक्षा क्षेत्र नै हो । विकास निर्माण त अर्को वर्ष पनि हुन्छ तर उही कोर्ष अर्को वर्ष पढ्छुभन्दा हरेक नागरिकको उमेर एक वर्ष कम भइसकेको हुन्छ । दुई शैक्षिक सत्र खेर गइसकेको अवस्थामा यसलाई उकास्न अब के गर्न सकिन्छ भनेर सोच्नुको साटो अझै पनि खुट्टा कमाएको बहाना गरेर विद्यालय खोल्न अवरोध गर्दै जानु उपयुक्त होला ?

आमसभा, सेमिनार, गोष्ठी, होटल, रेष्टुरेण्ट, सिनेमा फ्लेक्स, सार्वजनिक बस, हवाई सेवा, धार्मिक अनुष्ठानहरू सबै चलिरहेका बेला हरेक कार्यक्रममा एक न एक हिस्सा विद्यार्थीहरूले नै ओगटेका छन् वा अभिभावक त पक्कै पनि छन् । के यसरी अभिभावकबाट सर्न सक्दैन र कोरोना ? हो, चक्र सर ! तपाईंको कुनै सकारात्मक सोच र शिक्षालाई प्रभावकारी बनाउने सोच छ भने पालिकाभरिका उमेर पुगेका विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्थापन गर्न पहल गर्नुस् । स्वास्थ्य सचेतनाका विषयमा स्कूल–स्कूलमा अभियान चलाउनुस् तर स्कूल बस नचलाउन निर्देशन दिएर विद्यार्थीलाई सार्वजनिक बसमा स्कूल पुग्न वाध्य पार्ने निर्णय अभिभावकका लागि स्वीकार्य देखिँदैन । तपाईंहरूको निर्णयमा तत्काल पुनर्विचार गर्नुस् ।