राप्रपा नेतृत्व दोस्रो पुस्तामा : धवल शमशेर

  •   
  •  

राप्रपा एकता महाधिवेशन

खेमराज रिजाल

तुलसीपुर, २६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी महाधिवेशनमा नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने बताएका छन् । आसन्न महाधिवेशनका सन्दर्भमा जिल्ला जिल्लामा नेता कार्यकर्ता भेटघाटका क्रममा शुक्रवार दाङ आएका नेता राणाले गोरक्षसँगको संक्षिप्त कुराकानीमा आफूले पनि पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने स्पष्ट संकेत गरे ।

राप्रपाका सबै खेमाहरु एकीकृत भई एउटै राप्रपा बनिसकेपछि आगामी महाधिवेशनमा दोस्रो पुस्ताको नेतृत्व लिन नेता जयन्त चन्द, राजेन्द्र लिंग्देन, विक्रम पाण्डे र डा. धवल शमशेर राणाको विशेष चर्चा जिल्ला जिल्लामा भइरहेको छ । ‘हामी चारजना साथीहरुबीच आगामी नेतृत्व कसले लिने भन्ने विषयमा छलफल भइरहेको छ, त्यसमा मै पनि अध्यक्ष पदको उम्मेदवार बन्न सक्छु’, नेता राणाले भने ।

आदरणीय अग्रज नेताहरुको सम्मान गर्दै दोस्रो पुस्ताका सबै नेताहरु नेतृत्व लिन तयार रहेको उनको अभिव्यक्ति थियो । अग्रज नेतृत्वहरुको उच्च सम्मान गर्दै उहाँहरुको अनुभवलाई ग्रहण गरेर दोस्रो पुस्ताले नेतृत्व गरेर राप्रपालाई नयाँ ऊर्जा दिने अभियानमा आफू लागेको बताउँदै अहिले अधिवेशनको सन्दर्भमा जिल्ला भ्रमणमा रहेको पनि राप्रपा नेता राणाले बताए ।

हिन्दु राज्य र राजासहितको प्रजातन्त्रको अभियानमा राप्रपा रहेको स्पष्ट पार्दै नेता राणाले सुशासनयुक्त सभ्य समाज, भ्रष्टाचाररहित राज्य, रोजगारीका अवसरहरु बृद्धि गरी मुलुकमा आर्थिक समृद्धि ल्याउनु राप्रपाको मुख्य राजनीतिक कार्यदिशा रहने बताए । ‘मुलुकमा अहिले संघीयता र गणतन्त्र पूर्णरुपमा असफल भैसक्यो, आर्थिक पारदर्शिता कमजोर भएर भ्रष्टाचार व्याप्त भएको छ, हामीले परिकल्पना गरेजस्तो गणतान्त्रिक अभ्यास हुन सकेको छैन’, नेता राणाले भने ।

राप्रपा नयाँ राज्य व्यवस्थाको पक्षमा रहेको बताउँदै सानो आकारको संघीय सरकार र शक्तिसम्पन्न सानै आकारको स्थानीय सरकारसहितको राज्य ल्याउने बताए । वर्तमान मोडेलको संघीयताका कारण मुलुक आर्थिकरुपमा पनि ध्वस्त भइसकेको उल्लेख गर्दै यस्तो मोडेलको संघीयता नेपालजस्तो मुलुकलाई थेग्नै नसक्ने गरी आर्थिक भार परिरहेको पनि बताए । मुलुकमा पछिल्लो समयमा विकसित राजनीतिले देश अभिभावकविहीन भएको स्मरण गर्दै नेता राणाले सरकार प्रमुखले देशको अभिभावकत्व ग्रहण गर्न पुरै असफल भएको बताए । त्यसका लागि संबैधानिक राजसंस्थासहितको हिन्दु राज्य राप्रपाको मुख्य राजनीतिक एजेण्डा हुने बताए ।

‘अहिलेको संविधान पनि अपरिवर्तनीय छैन, दुई तिहाई बहुमतले संविधान चेन्ज गरेर होस् वा हिन्दु राज्य र राजासहितको प्रजातन्त्रका सन्दर्भमा जनमत संग्रह गरेर पनि निर्णय लिन सकिन्छ’, नेता राणाले गोरक्षसँग कुरा गर्दै भने । राप्रपा दुवै विकल्पमध्ये एउटा विकल्प प्रयोग गरी हिन्दु राज्य र राजासहितको प्रजातन्त्रका विषयमा सरकारले निर्णय लिनुपर्ने पनि उनको भनाइ थियो । ८५ प्रतिशतभन्दा बढी हिन्दुहरु भएको मुलुकमा धर्मनिरपेक्षता लाद्नु नागरिकहरुको धार्मिक स्वतन्त्रतामाथिकै आघात हो’, नेता राणाले भने ।

संविधान संशोधन गर्न नसकिने भए जनमत संग्रहबाट पनि धर्मनिरपेक्षता हटाएर मुलुकलाई हिन्दु राज्य घोषणा गर्नुपर्ने उनको अभिव्यक्ति थियो । त्यसैगरी विश्वव्याधि कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका संघीय सरकार र प्रदेश सरकारले भन्दा स्थानीय सरकारले अहम् भूमिका निर्वाह गरेको उनको दावी थियो । ‘यदि स्थानीय सरकारले भूमिका निर्वाह गर्न नसकेको भए मुलुकमा कोभिडको संक्रमणको अवस्था कस्तो हुन्थ्यो’, नेता राणाले प्रश्न गरे । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा स्थानीय सरकारले सबैभन्दा प्रभावकारी भूमिका निर्वाह गरेको उनको दावी थियो ।

एमसिसी मुलुकका लागि घातक

यसैबीच अर्को फरक प्रसंगमा नेता राणाले पछिल्लो समयमा मुलुकभरी चर्चामा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई नितान्त घातक भएको बताए । एमसिसी नेपालीहरुका लागि घातक भएको बताउँदै नेपाल सरकारले दिएका पुनरावलोकनका बुँदाहरुमा अमेरिकी सरकार सकारात्मक बन्नैपर्ने उल्लेख गरे । ‘म एमसिसी सम्झौता कार्यान्वयनको विषयमा पूर्णरुपमा असहमत छु’, नेता राणाले भने– यद्यपि एमसिसीका विषयमा पार्टी केन्द्रीय समितिले भने अझै आधिकारिक निर्णय गरेको छैन । नेपालको विदेश नीतिलाई सन्तुलनमा राख्दै मुलुकलाई समृद्ध बनाउनका लागि मात्रै वैदेशिक परियोजनाहरुमा सम्झौता हुनुपर्ने बताउँदै उनले एमसिसीमा भएका केही बुँदाहरुलाई पुनरावलोकन गर्नुको कुनै विकल्प छैन ।

आधा दर्जन जिल्ला अध्यक्षका आकांक्षी

राप्रपाको आगामी एकता महाधिवेशन कार्तिक २७ देखि ३० सम्म काठमाडौँमा हुँदैछ । त्यसका लागि अहिले जिल्लामा वडा अधिवेशनहरु भइरहेको राप्रपा नेता क्षेत्रबहादुर बस्नेतले बताएका छन् । वडा अधिवेशन सकिएलगत्तै भदौ २७ र २८ गते क्षेत्रीय अधिवेशन हुने राप्रपा दाङले जनाएको छ । जिल्ला अधिवेशन असोज पहिलो साता सम्पन्न गर्ने तयारी राप्रपा दाङले गरेको छ । आगामी अधिवेशनमा जिल्लामा नेतृत्व लिनका लागि नेताहरुको दौडाहासमेत सुरु भइसकेको छ । जिल्ला तहमा नेतृत्व लिनका लागि क्षेत्रबहादुर बस्नेत, टोपबहादुर शाह, भूपाल रावत, दामोदर भण्डारी र बंशीकुमार शर्माको नाम चर्चामा छ ।