दाङमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई खोप लगाईने

  •   
  •  

दाङ, २६ भदौ । दाङमा कक्षा १२ को परीक्षा दिने १० हजार बढी विद्यार्थीहरुलाई खोप लगाईने भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय समितिको निर्णय अनुसार कक्षा १२ को परीक्षा दिने तयारीमा रहेका १० हजार १ सय ५७ जना नियमित तथा आंशिक विद्यार्थीहरुलाई खोप दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई दाङ र राष्ट्रिय परीक्षा बोर्ड दाङको समन्वयमा यही भदौ २७ र २८ गते एस्ट्रजेनिका खोपको पहिलो मात्र दिन थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार १२ को परीक्षाका लागि घोराही उपमहानगरपालिकामा ३ हजार ८ सय ४६ जना विद्यार्थीहरुलाई खोप लगाउन थालिएको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ३ हजार तीन सय ८९ जना, लमही नगरपालिकामा नौ सय ९९ जना, राप्ती गाउँपालिकामा ७ सय ११ जना, गढवा गाउँपालिकामा ४ सय ५८ जना, शान्तिनगर गाउँपालिकामा दुई सय ९१ जना, बबई गाउँपालिकामा एक सय ९१ जना, राजपुर गाउँपालिकामा एक सय ३३ जना दंगीशरण गाउँपालिकामा ८७ जना र बंगलाचुली गाउँपालिकामा ५२ जना विद्यार्थीहरु रहेका छन् ।

सरकारको निर्देशन अनुसार १२ को परीक्षाका लागि विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा खोप लगाउन थालिएको कार्यालय प्रमुख शाहीले बताए । उनले विद्यार्थीहरुलाई प्रवेश पत्र लिएर गाउँपालिकाको स्वास्थ्य शाखाले तोकेको खोप केन्द्रमा जान समेत आग्रह गरेका छन् । ‘दाङमा दशवटै पालिकाबाट १२ कक्षाको परिक्षामा सहभागी हुन थालेका विद्यार्थीहरुलाई खोप लगाइँदैछ’, स्वास्थ्य कार्यालय प्रमुख शाहीले भने– ‘विद्यार्थीका लागि खोप २७ र २७ गते लगाइदैछ । त्यसैले पायक पर्ने स्थानमा प्रवेशपत्र लिएर विद्यार्थी जानुपर्नेछ ।’

उनले विद्यार्थीलाई खोप लगाउनका लागि शुक्रवारसम्म घोराही, तुलसीपुर र बंगलाचुली गाउँपालिका बाहेक अन्य सात वटै पालिकाहरुमा खोप पठाइसकेको समेत उनले बताए । बाँकी खोप नपठाएका तीन पालिका मध्य घोराहीले कार्यालयबाटै लाग्ने छ भने तुलसीपुर बंगलाचुलीमा शनिवार पठाउने तयारी भएको कार्यालय प्रमुख शाहीले बताएका छन् । उनका अनुसार सम्बन्धित पालिकारुले विद्यार्थीलाई पायक पर्ने स्थानमा खोप केन्द्रको व्यवस्था गरेर खोप लगाउने तयारी रहेका छन् ।

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा भदौको ३१ गतेदेखि गर्न थालेका छ । कोरोना जोखिम हुन भएकाले विद्यार्थीहरुलाई खोप लगाउन थालिएको हो । कोरोना जोखिमका कारण बैशाखमा गर्ने भनिएको कक्षा १२ को परीक्षा पटक–पटक सर्दै आएको थियो । जिल्ला कोभिड–१९ खोप समन्वय समितिको निर्णय अनुसार एस्ट्रजेनिक खोप लगाउन छुटेका लक्षित समूहलाई पनि खोप दिइने भएको छ । साथै सोही खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोजको व्यबस्था गरिदिनकालागि सम्बन्धित निकायमा माग गर्ने समेत निर्णय भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार हालसम्म जिल्लामा ३८ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।