बौंलाह कुकुर आतंक : टोकाइले दर्जन बढी विरामी

बालाराम खड्का
तुलसीपुर, २६ भदौ । बौलाह कुकुरको टोकाईबाट तुलसीपुरमा एक दर्जन बढी मानिस गम्भीर बिरामी परेका छन् । उनीहरुलाई रेविज लाग्नसक्ने आशंका चिकित्सकहरुले गरेका छन् । बजार तथा गाउँमा बौलाह छाडा कुकुरले आतंक मचाउँदा गाउँमा सबै नागरिकहरु त्रसित भएका छन् । कुकरले टोकेर घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर र तुलसीपुर–८ अश्वाराका स्थानीयहरु रहेको प्रहरीले जानकारी दिएको छ ।

कुकरको टोकाईबाट घाइते हुनेमा बालापुर निवासी दिलमाया नेपाली, कुमारी विक, प्रेम चौधरी, कुमालगडी निबासी छाँया वली, मदन चौधरी रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी नन्दकुमार आचार्य, कुशुम परियार, तुलसी परियार, शिवराज भण्डारी, मिना केसी, बन्दना सेन ठकुरी र विवेक वली, शिवा आचार्य घाइते भएको स्थानीयहरुको भनाइ छ । इलाका प्रहरी कार्यालयका तुलसीपुरका डिएसपी श्यामु अर्यालले ११ जना व्यक्तिहरुलाई कुकुरले टोकेको जानकारी पाएको बताए । त्यस्तै केही भने सम्पर्कमा नआएकाले कति जनालाई कुकुरले टोकेहो भन्नेबारे एकीन भने हुन सकेको छैन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । कुकुरले बढी टोकेका कारण र टाँका लगाउन नमिल्ने भएकालाई रेबिज सुईले मात्र काम नगर्ने भएकाले इमोग्लोविन भ्याक्सिन लगाउन काठमाडौँ रिफर गरिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । कुकुरले पशुचौपायालाई पनि टोकेको स्थानीयले बताएका छन् ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कुकुरहरुलाई छाडा नछोड्न अपिल गरेका छन् । बौलाह कुकुरको टोकाईबाट तुलसीपुर उपहामनगरपालिका–२ र ८ नम्बर वडामा बिहीबार दर्जन बढी नागरिक र पशुचौपाया घाइते भएपछि नगर प्रमुख पाण्डेले यस्तो अपिल गरेका हुन् । बौलाह कुकुरको संख्या बढ्दै गएको र छाडा छोडिएका कुकुरसमेत रेबिजबाट संक्रमित हुने भएकाले सुरक्षाका लागि घरमा पालिएका कुकुहरुलाई छाडा नछोड्न अपिल गरेका हुन् । कहीँकतै कुकुरले टोकेमा सम्बन्धित वडामा सम्पर्क गर्न र बौलाह कुकुर देखिएमा त्यसलाई नियन्त्रणमा लिएर व्यवस्था गर्न वडाबासी, सुरक्षाकर्मी सबैमा अपिल नगरप्रमुखको भनाइ छ ।

यसैबीच उपमहानगरपालिकाले सचेतनाका लागि माइकिङसमेत गरेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले उपचार सेवादेखि इमोग्लोविन खोप निःशुल्क उपलब्ध गराउने भएको छ । बिहीबार बौलाहा कुकुरको टोकाईबाट एक दर्जन सर्वसाधारण र पशुचौपाया घाइते भएपछि शुक्रबार बसेको आकस्मिक बैठकले उपचारमा सहजता ल्याउन उपचारदेखि खोपसम्मको व्यवस्था निःशुल्करुपमा गर्ने निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल २० डोज इमोग्लोविन खोप खरिद गर्ने, अस्पतालसम्म जानका लागि यातायातको व्यवस्था गर्ने, बौलाहा कुकुर, छाडा पशुचौपायको व्यवस्थापन गर्ने, घरमा पालेका कुकुरहरुलाई छाडा नछोड्न नगरबासीलाई अपिल गर्ने र सजगता अपनाउन गाउँ–गाउँमा माइकिङ गर्ने निर्णय गरेको छ । बजारमा बिरलै मात्रामा पाइने खोपको थोकमूल्य प्रतिखोप करिब १० हजार पर्छ । शुक्रबार भारतको रुपैडिहाबाट ५८ हजारमा ६ वटा इमोग्लोविन खोप मगाएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिए ।

इमोग्लोविन खोप जटिल प्रकृतिका घाइतेलाई दिने गरिन्छ भने रेबिज सुई सामान्य प्रकृतिकालाई दिने गरिन्छ । टाउको, अनुहार, घाँटी वा टाउकाको नजिकमा टोकेमा यो खोप दिने गरिन्छ । रेबिज सुई भने राप्ती प्रादेशिक अस्पतालमा पर्याप्त मात्रामा रहेको छ ।