राधेश्याम उपाध्याय
घोडा कुनै दिन निर्भयका साथ सिन्धु देशमा पुग्यो । सिन्धु नरेश जयद्रथको र अन्य सिन्धुबासीको महाभारत युद्धमा मृत्यु भएको थियो । जसका बाबुछोरा तथा बन्धुबान्धवहरु मरेका थिए । तिनीहरु घोडा पक्रेर पाण्डवहरुसँग साटो फेर्न आए । अर्जुनलाई चारै तिरबाट घेरेर तीखा सरहरु प्रहार गरी शरीरभरि घाऊ परिदिए । घाउका कारण केही समय अर्जुन मुच्र्छा भई रथमा ढले । अर्जुनको यो अवस्था देखेर देवता ऋषि मुनि सम्पूर्णले अर्जुनको कल्याणका लागि मङ्गल कामना गर्दै मन्त्र जपेर आशीष दिइ रक्षा गरे ।
अर्जुनलाई केही चेत आयो र ठूलो उत्साहका साथ पानी परेसरह शत्रुको दलमा वाण वर्षा गरे । हाहाकार मच्चियो । सैन बधको यस्तो विनाश देखेर सन्ताप मानी धृतराष्ट्रकी छोरी दुःसला आफ्नो नातिलाई लिएर अर्जुनकहाँ आइ रुँदै ‘अब युद्ध रोक्नुहोस्, यो हजुरको भान्जाको छोरा नातिमाथि दया गर्नुहोस् । दुर्योधन र जयद्रथहरु दोषी थिए होलान् तर हामी अहिले टुहुरा छौँ । हामीलाई क्षमा गरी युद्ध बन्द गरिदिनुहोस भनी प्रार्थना गरिन् । बहिनीको यस्तो प्रार्थना सुनेर बहिनीलाई आशीर्वाद दिई समस्त जीव कालगतिका अधीन छन् । कालगतिले नै जिवको मति बिगारिदिँदा मर्दछन् भनी बहिनीलाई सम्झाई घरतर्फ पठाए । दुःशला पनि बचेका सैनिकहरुलाई लिई घरतर्फ फर्किइन् ।
कुनै समयमा अर्जुन भीष्मको मृत्युले चिन्तित भई एकान्तमा घुम्दै–घुम्दै गंगाजीका नजिक पुग्दछन् र गंगाजलको चरण स्पर्श गरेर आशीर्वाद माग्नका लागि गंगाजल सेचन गर्न गंगाजीमा पस्न खोज्दछन् । भीष्म सात भाइ दाजुहरु जसलाई गंगाले अष्टबसुको उद्धारका लागि जन्मनेबित्तिकै पानीमा बगाई उद्धार गरेकी थिइन् । तिनी सात भाइ दाजुहरुले यो हाम्रो भाइ देवब्रतको हत्यारा हो । यसलाई आमाको चरण स्पर्श (जलसेचन) गर्न दिनु हुँदैन भनी प्रतिवाद गरी अर्जुनलाई रोक्न खोज्दछन् । दुवै पक्षबीच युद्ध हुन्छ । अर्जुन पुरुषार्थी र शक्तिशाली थिए । उनले आफ्ना दिव्य वाणले गंगापुत्र सातै भाइलाई बाँधि गंगाजल सेचन परी फर्कन्छन् ।
केही समयमा गंगा स्वर्गलोकबाट कैलाशमा महादेवसँग जाँदै गर्दा त्यहाँ आउँछिन् र आफ्ना छोराहरुलाई त्यसरी बाँधेको देखेर क्रोधित हुँदै अर्जुनका शस्त्रबाट बाँधिएका आफ्ना छोराहरुको बन्धन मुक्त गर्दछिन् । मेरा प्रिय छोराहरु हो ! तिमीहरुको यो अवस्था कुन दुष्टले बनायो ? भनी सोध्दछिन् । ती सातबसुहरुले पनि हाम्रो कान्छो भाइ तथा हजुरको कान्छो छोरा देव ब्रतको हत्यारा अर्जुन आएर हजुरको पवित्र जल सेचन गर्न खोज्दै थियो । त्यो हत्यारालाई हामीले सो कार्य गर्न अवरोध गर्न खोज्दा हामीलाई नै बाँधेर अजुरको पवित्र जल स्पर्स तथा सेचन गरी फर्कियो । त्यो पापी अर्जुन हाम्रो भाइको हत्यारा हो, त्यसलाई उचित दण्ड दिनुपर्दछ माता !’ भनी सबै वृत्तान्त भन्दछन् ।
गंगा पनि देवब्रतको मृत्युको कारण अर्जुन हो भनी अर्जुनदेखि रिसाएकी हुन्छिन् । आफ्ना छोराहरुको यो अवस्था र छोराहरुको कुरा सुनेर गंगा क्रोधित भई मेरो छोरा भीष्मले अर्जुनलाई नाति भए पनि छोरा सरह नै मान्दथ्यो र पापी अर्जुनले पनि बालककालमा उसैलाई आफ्नो बाबु मानि शरणमा जो गर्दथ्यो । त्यसरी आफ्नो बाबु सरहको मेरो छोरालाई मा¥यो, त्यसरी नै अर्जुनको मृत्यु पनि उसको आफ्नो छोराबाट होस् भनी स्राप दिन्छिन् र कामाक्षादेवीमार्फत् अर्जुन पुत्र बवृवाहन दाइ अर्जुनलाई मार्नसक्ने वाण प्रदान गरी कैलाशतिर लाग्छिन ।
यो कुरा नागकन्या उलुपी अर्जुनकी पत्नीले थाहा पाइन् र गंगाको अनवरत सेवा गरी गंगालाई खुसी पारिन । गंगा खुसी भई ‘तिमी मसँग के चाहन्छ््यो माग म तिमीलाई बरदान दिन्छु’ भनिन् । यो सुनेर उलुपीले ‘हजुरले अर्जुनलाई दिएको स्रापबाट मुक्त गरिदिनुहोस’ भनी वरदान माग्दछिन् । यो सुनेर गंगाले उलुपीलाई ‘हे उलुपी ! दिएको स्राप फिर्ता हुँदैन । म तिमीलाई स्रापबाट मुक्ति पाउने उपाय सिकाउँदछु सुन, अर्जुन र चित्रङ्गदाको पुत्र बव्रुवाहनले अर्जुनलाई परास्त गर्नका लागि देवी कामाक्षामार्पmत् मबाट शक्ति लिइसकेको छ ।
अब कुनै समयमा अर्जुन र बव्रुवाहनको युद्ध भई अर्जुनको मृत्यु हुनेछ । त्यही समयमा तिमीले नागलोकबाट अलौकिक सञ्जीवनी मणि नागमणि ल्याइ अर्जुनका हृदयमा राखेमा अर्जुन जीवित भई पुनर्जीवन पाउनेछन्’ भनी वरदान दिन्छिन् । ‘तर हे नाग कन्या उलुपी ! अर्जुनले मेरो पुत्र भीष्मलाई अनीतिपूर्वक मारेको पाप अर्जुनले मरेपछि यमराजको दण्ड भोग्नु पर्दथ्यो । जस्ले आफ्नो पापको दण्ड यही जुनीमा भोग्दछ त्यसले यमराजको दण्ड भोग्नु पर्दैन । त्यसैले मैले यही जुनीमा पापको मोचन भई अर्जुनलाई यमराजको दण्डबाट उद्धारका खातिर स्राप दिएकी हुँ’ भनी उलुपीलाई अर्जुनको पुनर्जीवनको रहस्य बताई अर्जुनलाई बचाउन सफल भए भनी उलुपीलाई आशीर्वाद दिई बिदा दिन्छिन् । यसरी उलुपी गंगाबाट वरदान लिई नागलोकमा फर्कन्छिन् र कसरी अर्जुन र चित्राङ्गदा तथा उसको पुत्र बव्रुवाहनको फाटो पार्न लाग्दछिन ।
एक दिन अर्जुन नागलोकमा आफ्नी पत्नी उलुपीसँग गई केही दिन बस्दछन् । उलुपीले चित्राङ्गदा चरित्रहीन छ । उ सुहागरातका दिन आफ्नो पहिलेको प्रेमीसँग भेट गर्न गएकी थिई । अहिले पनि उ पहिलेको प्रेमीसँग शारीरिक सम्बन्ध राख्दछे भनेर अनेक तरहका लान्छना लगाई कुरा लगाइदिन्छिन् । त्यहाँबाट रिसाउँदै अर्जुन मणिपुर चित्राङ्गदासँग जान्छन् । उनी उलुकीका कुराले चित्राङ्गदासँग रिसाएका हुन्छन् । चित्राङ्गदा मणिपुरका चित्रवंशका राजा चित्रवाहनकी छोरी हुन्छिन् ।
चित्रवाहनकी एक मात्र सन्तान चित्राङ्गदालाई राजा चित्रवाहनले सानोमा छोरा नै मानेका थिए र छोराको सरह व्यवहार गर्दथे । चित्राङ्गदालाई मणिपुरको राजकुमार नै घोषणा गरेका थिए । राजा युधिष्ठिरको आफ्ना छिमेकी देशसँग सद्भावनामैत्री कायम गर्नका लागि सद्भावनामैत्री भ्रमणमा गएका समएमा अर्जुन र चित्राङ्गदाको विवाह भएको हुन्छ । चित्राङ्गदा कामदेव र देवीरतीकी भक्त हुन्छिन । अर्जुनलाई पति पाउनु पनि कामदेव र रतीको आशीर्वाद हुन्छ । सुहागरातका दिन म कसैलाई भेट गर्न जान्छु भनि चित्राङ्गदा कामदेव र रतीलाई भेट्न गएकी हुन्छिन तर सो कुरा अर्जुनलाई गुप्त नै राख्दछिन् ।
दोस्रो पटक उलुपीबाट चित्राङ्गगदासँग आउँदा पनि अर्जुनले दैवसंयोग चित्राङ्गदाको कक्षबाट कोही पुरुष भागेको देख्दछन् तर चेहरा देख्दैनन् । पहिलेको कुरा, अहिले कक्षबाट कोही भाग्नु यी आदि सबै कुराले अर्जुनलाई शंका प्रवल हुन्छ । आपसमा विवाद हुन्छ र अर्जुनले चित्राङ्गदालाई त्याग गरी द्वारावतीतिर लग्दछन् । द्वारिकामा श्रीकृष्ण र सत्यभामाले अर्जुनको भ्रम निर्मुल पार्दछन । अर्जुन चित्राङ्गदासँग भेट गरेर क्षमा माग्ने क्षिमा हुनछन् तर उनलाई परिस्थितिले त्यो समय नै दिँदैन । चित्राङ्गदाको कक्षबाट भागेको पुरुष उलुपीले पठाएको नागलोकको चाण्डक हुन्छ । चाण्डकको अर्जुनसँग वैरभाव हुन्छ ।
चाण्डकले नागलोककी राजकुमारी उलुपीसँग पे्रम गरेको हुन्छ । तर उलुपीलाई अर्जुनले विवाह गरिदिन्छन् । यस कुराले चाण्डक अर्जुनसँग बदला लिने छेटा खोजिरहेको हुन्छ । चाण्डक आफ्नो कक्षमा आएर भागेको कुरा चित्राङ्गदालाई थाहा नै हुँदैन । अर्जुनले परित्याग गरी जाँदा उनको गर्भमा बच्चा हुन्छ । अब उनले अफ्नो बच्चालाई ठूलो बनाएर अर्जुन सरह धनुर्विद्यामा निपुर्ण बनाउने र छोराद्वारा नै आफू बद्चलनकी नभएको र सो बच्चा अर्जुनको पुत्र भएको प्रमाण पेश गर्ने ध्याउन्नमा थिइन् । समय पुगेपछि चित्राङ्गदाको पुत्र पैदा हुन्छ ।
मणिपुरमा खुसियाली छाउँछ । राजा चित्रवाहनले उसको नाम बवु्रवाहन राखिदिन्छन् र उनलाई देशको राजकुमार घोषणा पनि गर्दछन् । किनकि उनका अरु सन्तान थिएनन् । बवु्रवाहन कामाक्षीदेविका भक्त हुन्छन् । चित्राङ्गदाको कडा मिहिनेतले बवु्रवाहन ठूला धनुर्धर बन्दछन् । कामाक्षा देवीको अनुकम्पाले अमोघ शक्ति पनि प्राप्त गर्दछन् । बव्रुवाहनले आमा चित्राङ्गदालाई नै गुरु मान्दछन् । विद्या पूरा भएपछि गुरु भेटी माग्न आमालाई आग्रह गर्दछन् । आमाले अर्जुनलाई परास्त गरी अर्जुनको घमण्ड चुर गरी आफूसामू उपस्थित गराउन गुरु दक्षिणा स्वरुप माग्दछिन ।
बवु्रवाहन पनि आमालाई गुरु दक्षिण स्वरुप अर्जुनलाई परास्त गर्ने वचनबद्ध हुन्छन् । बव्रुवाहनलाई आफ्नो बाबु भएको कुरा थाहा हुँदैन । एकपटक बव्रुवाहनले आमासँग आफ्ना बाबु को हुन् भनी सोधेका थिए । तर आमा चित्राङ्गदाले अर्जुनलाई परास्त गरी आफ्ना अगाडि उपस्थित गराएपछि मात्र बाबुलाई चिनाइदिने भनी कुरा टारिदिन्छिन् ।
घोडा डुल्दै कुनै दिन मणीपुर देशको सीमानामा पुग्दछ र सो घोडाको संरक्षक अर्जुन भएको कुरा दरबारमा खबर पुग्दछ । बव्रुवाहन अर्जुनको नाम सुन्नेबित्तिकै आफ्नो देशको सीमानामा जान्छन र युद्धका लागि छोडा समाउँछन् । छोडा खाज्दै अर्जुन बवु्रवाहनसम्म आइपुग्छन् र बालक सम्झी घोडा छाडिदिन अनुरोध गर्दछन् तर बवु्रवाहनले घोडा नछाड्ने र युद्ध गर्ने चुनौती दिन्छन् । बालक र अफ्नो कोही पर्ने अनुभूति गर्दै अर्जुन युद्ध नगरी शिविर फर्कन्छन् र सैनिकहरुलाई बालकलाई सम्झाइ बुझाइ घोडा दिन पठाउँछन् ।
बवु्रवाहनले घोडा नदिइ सबै सैनिकलाई मारिदिन्छन् । सो कुरा शिविरमा खबर आउँछ । भीमसेनले म गई बालकलाई सम्झाइ ल्याउँछु । सैनिकले सम्झाउन सकेनन् होला भनि जान्छन् । भीम आएको देखेर युद्धमा अर्जुनलाई पठाउ तिमी किन आयौ भनि प्रश्न गर्दछन् र भीमले जति सम्झाउँदा पनि मान्दैनन् । दुवैमा युद्ध हुन्छ । युद्धमा भीम मुच्र्छित हुन्छन् र सैनिकले शिविरमा ल्याउँछन् । यो देखेर अर्जुन चकित हुन्छन् । अर्जुन युद्धमा जान तयार हुन्छन् । त्यही समयमा अर्जुनलाई भट्न हस्तिनापुरबाट कर्णपुत्र बृषकेतु आइपुग्छन् । बृषकेतुले म गई त्यो मूर्ख बालकलाई बाँधि ल्याउँछु भनि फूर्तिका साथ युद्ध मैदानमा जान्छन् । दुवैमा युद्ध सुरु हुन्छ ।
अन्त्यमा बृषकेतुको मृत्यु हुन्छ । सैनिकहरुले बृषकेतुको मृत शरीर शिविरमा ल्याउँछन् । यो देखेर अर्जुन चकित पर्दछन् र आफै युद्ध गर्न जान्छन् । पहिला निकै सम्झाउँछन् तर बव्रुवाहनले युद्ध गर्न धम्की दिन्छन् र दुवैमा घनघोर युद्ध हुन्छ । अन्ततः कामाक्षादेवीबाट प्राप्त शक्तिद्वारा अर्जुनको मृत्यु हुन्छ । अर्जुनलाई विजय गरेकोमा बवु्रवाहन खुसी हुँदै आफ्नी आमालाई लिन दरबार जान्छन् ।
आमा चित्राङ्गदालाई मृत अर्जुनका अगाडि ल्याइ अब कबुलअनुसार आफ्ना बावु को हुन् भनी सोध्दछन् । यो अपत्यारिलो घटना देखेर चित्राङ्गदा मुच्र्छित हुन्छिन् । केही समयपछि होस आउँछ र विलाप गर्न लाग्छिन् । यो देखेर बवु्रवाहन असमन्जसमा पर्दछन् र आश्चर्य मान्दै पुनः सोध्दछन् ‘मेरा पिता को हुन् ?’ ‘ियनै अर्जुन नै तिम्रा पिता हुन्, मैले तिमीलाई युद्धमा परास्त गर्नु भनेकी थिएँ तर मार्नु भनेकी थिइन । यो घटना कसरी घट्न गयो ?’ भनी सोध्दछिन् । बवु्रवाहनले पनि युद्धको विस्तारपूर्वक वर्णन गर्दछन् ।
आफ्ना बाबु अर्जुन भएको र आफ्नै हातबाट बाबुको मृत्यु भएको घटनाले बवु्रवाहन विचलित हुन्छन् । बाबुको मृत्युको चिन्ताले बवु्रवाहनले आत्मदाह गर्ने विचारले दाउरा संकलन गरी अग्नि प्रज्वलित गरी अग्निमा प्रवेश गर्न खोज्दछन् । चित्राङ्गदाले छोरालाई अग्निप्रवेशबाट रोक्दछिन् ।