मानव स्वभाव र आत्मसमीक्षा

विनोद पोख्रेल
२०७७ साउन १६ गते
कहिलेकाहीँ आफैसँग प्रश्न गर्न मन लाग्छ । मैले जस्तो चरित्र खोज्छु त्यो कतै अव्यावहारिक त छैन जस्तो पनि लाग्छ । मेले व्यक्ति खोजेको होइन । चरित्र मात्र खोजेको हो । त्यो पनि विशेष केही होइन । अनुशासन, जिम्मेवारी, सद्भाव र इमानदारी हो, सायद मैले खोजेको । अनि मैले सके समाजको लागि आफै केही गर्न सक्छु भन्ने आत्मविश्वास भएको सोच पनि हो । यो त्यति ठूलो कुरा हो जस्तो पनि लाग्दैन ।

समाजमा गफ गर्ने, नेतृत्व गर्नेदेखि साचो रुपमा समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहनेहरु सबैले यही त भनिरहेका हुन्छन् । मेले केही नयाँ कुरा ल्याएको वा नयाँ सोच ल्याएको पटक्कै होयन । जुन कुराहरुको सधौ चर्चा हुन्छ त्यही खोज्दा पनि नपाइनु भने अलि अचम्मको विषय हुनसक्छ । सबैलाई चाहिएको त्यही हो । सबेले गर्नेुपर्ने त्यही हो । तर पनि सधौ यस्तै चरित्रको कमी छ । त्यसको एउटा कारण हामी आफूले आफैलाई त्यस अनुकूल बाउन नसकेकोभन्दा पनि नचाहेको हो जस्तो लाग्छ । हामी कुरा त गर्छौं तर काम गर्दैनौँ । कुरा अनुसारको व्यवहार गर्दैनौँ । त्यो व्यवहार अरुबाट भने हुनैपर्छ भन्ने वकालत गर्छौं । आदर्शका कुरा गर्छौं तर आदर्शमा आउन सक्दैनौँ । अरुलाई सिकाउन वा उपदेश दिन सक्छौँ, आफूले त्यही काम गर्न सक्दैनौा । आफूमा विश्वास नभएको जस्तो चरित्र छ, हाम्रो ।

चिन्ता कतै सुनिँदैन । तर अरुले नगरेको वा गर्न नदिएको पीडा अलि बढी नै सुनिन्छ । भएका कारणहरु के होलान् ? यही प्रश्न अलि बढी मनमा आइरहन्छ । अक्षमता, व्यक्तिगत स्वार्थ, गैरजिम्मेवारी आदि सबै एकैपल्ट आउँछन् । मैले प्राथमिकताको आधारमा नम्बर लगाउन पनि सक्दैन र सधौ अलमलिन्छु । यो अलमल यथावत छ । अब त कहिलेकाहीँ यसको निकास मैले पाउन सक्दैन जस्तो लाग्न थालेको छ । म आफैले गर्न सकेजति नगरेको जस्तो पनि लाग्छ । मेले किन गरे न त ? यो प्रश्नले केही कुराको उत्तर दिएको जस्तो पनि लाग्छ ।

मेले पनि त आफूलाई समाजको वहावमा बिना उद्देश्य नै हेलिदिएर निरपेक्ष बन्न खोजेको छु । अथवा गर्न नसकेर आत्मसमर्पण गरेको छु । धेरैजसो मजस्तै हुन् कि भनेर केही सहानुभूतिको भावना पनि जाग्छ । काम गर्न नसके पनि प्रयास गरिरहनेहरुप्रति आकर्षण बढेजस्तो पनि लाग्छ । तर अरु दुईथरिहरुसँग भने दिक्क नै लाग्छ । एकथरि गफ मात्र गर्ने, ठूलाठूला कुरा गर्ने तर काम सिन्को पनि नभाँच्ने, आँखा ठूलो देखाउने अरुको तीब्र आलोचना गर्ने तर आफूले जिम्मेवारी लिन अग्रसर नहुने । गफमा भने मैले जिम्मेवारी पाए सबै ठिक गर्न सक्छु भन्ने । अर्कोथरि जिम्मेवारी पाएर पनि जिम्मेवारी निभाउन नसक्ने ।

अझ जुन कुराको आलोचना गरेर आफू त्यो ठाउँमा पुगेको हो त्यही कुरा आफूले पनि गर्ने र इमानदार प्रतिनिधित्व गर्न नसक्ने वा नचाहने । यस्तालाई देख्दा कुनै समयमा रिस पनि उठ्थ्यो । अब सायद रिस सकियो । दुःख मिसिएको हाँसो भने आउँछ । अब त यस्ता कुरा सुन्न मात्रै पनि मन लाग्न छाडेको छ । खेतीपाती अब पहिलेजति चर्चामा छैन । उद्योग व्यापार गर्नेहरुले त्यसबारे पनि कुरा गर्दछन् । त्यो पनि नगर्नेहरुका लागि समय काट्ने मेलो मात्र भएको छ, यस्ता गफहरु । जसलाई पनि सुन्छु आफूले धेरै गरेको भनेर प्रमाणित गर्न खोज्छन् ।

गफ सुन्दा रमइलो पनि लाग्छ । तर एक्लै भएर मूल्यांकन गर्ने हो भने अचम्मका तर्कहरु आउँछन् । एउटै काममा धेरैले जस लिन पनि खोजेको दखेको छु, भोगेको छु । सबै कुराको बीचबाट फेरि एउटा कुरा निकासको रुपमा झिक्न मन लागेको छ, यस्तै छ, यस्तै चलिरहन्छ । मानव स्वभाव नै सायद यस्तै हो । यहाँ कसैको चिन्ताले अरुलाई प्रभाव पार्दैन । चिन्ताको यहाँ कुनै मूल्य हुँदैन । सबैले गरेका छन् । जे सकेका छन् त्यही गरेका छन् ।

२०७७ साउन १७ गते

यो बानी पटक्कै ठिक होइन । मलाई थाहा छ, हिजोको कार्यक्रम राम्रो भयो । मेरो पहिलो पुस्तकाकार कृति सार्वजनिक भयो । मेले सम्मान गर्ने, माया गर्नेहरुबाट त्यो काम भयो । तर ममा विशेष खुसी मैले केही अनुभव गरेन । खुसी प्रदर्शन गर्न प्रेरित नै भएन । जति हो मा हो भने त्यो सायद त्यति त गर्नैपर्ने औपचारिकता थियो । हौसला वा प्रेरणाका कुरा समेत मैले अनुभूति गरिनँ । त्यसैले यस्तो बानीलाई मैले राम्रो होइन भनेको हुँ । विपुलको बढी प्रयास, किशोरको महत्वपूर्ण र निर्णायक प्रयास सबैको सद्भाव, परिवारका सबै सदस्यको महत्वकांक्षाको रुपमा यो काम भएको छ ।

म पनि यति चाँडो पुस्तककाकार कृति आउला र यसरी सार्वजनिक होला भन्ने सोच नै नभएको बेला यस्तो देख्दा एउटा सफलताले दिनु खुसीबाट निरपेक्ष त छैन । तर अरुलाई यो परिस्थितिमा जति खुसी देख्ने गर्छु त्यति हुन नखोजेको पटक्कै होयन । तर पनि हुन सकेन । यसलाई पनि मैले मेरो कमजोरीको रुपमा लिएँ । अरु जसरी पेश भए अथवा जति खुसी प्रकट गरे म त्यति पनि भएन । त्यसैले आफैसँग गुनासो पनि छ । मेले कल्पना नै नगरेको व्यक्तिले मलाई यति धेरै सम्मान गर्छन् भन्ने कुरा पनि मेले हिजो एकपल्ट देखेँ ।

त्यसले पनि क्षणिक रुपमा भावुक बनायो । केही सोच्न वाध्य भएँ । तर नढाँटेर भन्छु अति थोरै समयको लागि मात्रै औपचारिक सम्मान र वास्तविकतामा फरक छ । औपचारिकता भाषाले देखाउँछ र आत्मियता व्यवहारले देखाउँछ । कहिल्यै नभोगेको कुरा केही यस्ता मानिस पनि अलि भावुक भए जसको कल्पना पनि थिएन । केहीको माग कविताभन्दा विचार संग्रहको थियो । यो नि धेरैले गरेको अपेक्षा हो भन्ने मलाई थाहा छ । म आफैले पनि कामना गर्छु त्यो काम पनि होस् । केही विश्वास पनि छ अलिकति ढिलो होला तर त्यो पनि हुन्छ ।

धेरै मानिससँग भेट हुनु मात्रै पनि हिजोको कार्यक्रमको एउटा उपलब्धि हो । यस्तो त्रासको बेलामा कार्यक्रम सुरु हुनुभन्दा पहिले पुगेर पूरै कार्यक्रम सकिँदासम्म जो उपस्थिति रह्यो त्यसले म प्रभावित भएको छु । मेरा सहपाठी मित्र उत्तमकृष्ण मज्गैयाँले भरतपुर स्कूलमा कक्षा ८ मा पढ्दा मेले लेखेको र सबैभन्दा पहिले छापिएको मेरो रचना सुनाउँदा भने कही भावुक भएँ । उहाँलाई धन्यवाद पनि दिएँ । छापिएपछि त्यो स्थायी हुने प्रमाणको रुपमा यसलाई बुझेँ । उत्तमले त्यो कवितामा पनि केही चेतना छ भनेर व्याख्या गर्दा रमाइलो पनि माने ।

हरिप्रसाद पाण्डेले ‘हजुरले त नआउनु भनेको भए पनि म आउँथे’ भन्दा एउटा विश्वास, प्रेम र निकट सम्बन्धको नजीर जस्तो लाग्यो । भाषा केही छिनमै सकिन्छ तर सबैले अपेक्षा नै गरेकाले समेत जे जति समय जसरी दिए त्यसले गजवको प्रभाव पा¥यो । फेसबुकमा मप्रतिको भावना, कतिले मेरा लेखाइलाई समेटेर आफ्ना भावना प्रकट गरेको देख्दा सम्मानको चुचुरोमा पु¥याएको जस्तो लाग्छ । तर मनमा मैले केही गरेको जसतो, काममा सफल भएको जस्तो लागेको छैन । यसको एउटा कारण त मेरो लेख्ने काम हो, लेखेको थिएँ । बाँकी काम छोराले ग¥यो । ऊ खुसी हुनुपर्छ भन्ने सोच हो कि ।

कारण जे होस् यस्तो कुराले पनि पार्नु पर्ने जति प्रभाव नपारेको जस्तो अनुभव गर्दा आफैसँग असन्तुष्टि भने छ । खुसी हुने बेलामा पनि खुसी हुन नसक्नु त पटक्कै ठिक होइन । अरुको लागि खुसी भइदिने औपचारिकतामा सीमित मानिसले खुसी कसरी पाउन सक्छ ? अरु यस्तो बेलामा पनि नपाएको खुसी हुँदा समेत र खुसी हुन नसक्नु मेरो कमजोरी नै हो ।