तुलसीपुर, २२ भदौ । टरिगाउँ विमानस्थलमा हवाई इन्धन डिपो निर्माणको काम सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख कमला न्यौपानेले एक कार्यक्रमका बीच संयुक्तरुपमा डिपो निर्माणका लागि भवनको शिलान्यास गरेका हुन् ।
भवन निर्माणको शिलान्यास गर्दै नगरप्रमुख पाण्डेले इन्धन डिपो निर्माण कार्य छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका थिए । इन्धन डिपो निर्माण हुनु दाङको समग्र समृद्धि र विकाससँग जोडिएको विषय भएको बताउँदै पाण्डेले तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका थिए । निर्माण कार्यमा कुनै समस्या र अवरोध भएमा तुलसीपुर उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने उनले सो अवसरमा जानकारी दिए ।
नगरप्रमुख पाण्डेले आफूहरुले इन्धन डिपो स्थापनाका लागि गरेको बाचा अहिले पूरा भएको बताउँदै यसका लागि सहयोग र पहल गर्ने नेपाल आयल निगम, लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री, तुलसीपुर क्षेत्रका सामाजिक संघसंस्था, अभियान्ता सबैमा धन्यवाद ज्ञापन गरेका थिए । ६ महिनामा निर्माण कार्य सक्नेगरी न्यू डाईगेन एनसी जेभीसँग सम्झौता भएको छ । निर्माण कम्पनीका प्रोप्राइटर चिरण चौलागाईले गत साउन पहिलो साता भ्याटबाहेक १ करोड ६५ लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरेको बताए ।
आफूले सम्झौता गरेअनुसार नै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाएका थिए । पाँच कठ्ठा जमिनमा इन्धन ट्याङकी राख्ने ठाउँ निर्माण, ट्रस भवन निर्माणलगायतका संरचनाहरु निर्माण गरिनेछ । इन्धन भण्डारण ट्याङ्की यसअघि नै ल्याइएको दाङ नागरिक उड्ययन कार्यालय प्रमुख कैलाश शर्माले बताए । उक्त ट्याङ्की ३० हजार लिटर क्षमताको रहेको छ । इन्धन डिपो स्थापनासँगै ३० हजार लिटर इन्धनले करिब एक महिना धान्ने बताइएको छ । इन्धन डिपो निर्माणसँगै जहाजले इन्धन भण्डारण गरेर काठमाडौबाट ल्याउन नपर्ने र त्यसको सट्टामा यात्रुहरुको संख्या बढ्ने नेपाल आयल निगम तुलसीपुरका प्रमुख विपिनकुमार श्रेष्ठ बताए ।