सक्राममा एनटिसीको रिपिटर टावर
गोरक्ष समाचारदाता
सक्राम (दाङ), २३ भदौ । तुलसीपुर उपमहानगरपालिका–१९ को सक्राममा नेपाल टेलिकमले निर्माण गरेको ट्रान्समिसन टावर सोमवार उद्घाटन भएको छ । गत शुक्रवारदेखि सञ्चालनमा आएको टावरको पूर्व सभामुख तथा संघीय सांसद कृष्णबहादुर महराले सोमवार विधिवतरुपमा उद्घाटन गरेका हुन् ।
टावर सञ्चालनमा आएसँगै यसले तुलसीपुर उपमहानगरपालिका–१९ का सक्राम, भित्रीसक्राम, स्याउलापानी, कुटिचौर, तल्लो छिल्लीकोट, तुलसीपुर उपमहानगरपालिका–१८ का केही स्थान तथा घोराही उपमहानगरपालिका–११ का स्थानीयबासीलाई पनि टेलिफोन सेवामा सहजता आउने टेलिकमले जनाएको छ । यसअघि टावरको अभावका कारण यसअघि सक्रामबासीलाई टेलिफोन सम्पर्कमै समस्या थियो ।
स्थानीय राजनीतिक दलका नेता तथा माओवादी केन्द्र तुलसीपुर–१९ का अध्यक्ष दलबहादुर महतको अध्यक्षतामा सम्पन्न टावर उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि महराले यो टावर सञ्चालनमा आएसँगै यस क्षेत्रमा टेलिफोन सम्पर्क स्थापित गर्न सहज भएको बताए । ‘टेलिफोन सेटमा टावर नदेखाएर रुखमा चढेरसमेत आफन्तसँग कुरा गर्ने अवस्था थियो तर अब यो अवस्थाको अन्त्य भएको छ’, महराले भने ।
अब चाँडै छिल्लीकोटमा पनि यस्तै सुविधासम्पन्न टावर सञ्चालनका लागि पहल गर्ने पनि महराको अभिव्यक्ति थियो । ‘म सञ्चारमन्त्री हुँदा हातहातमा मोबाइल, गाउँ–गाउँमा इन्टरनेट सेवाको उद्घोष गरेको थिएँ, अब तपाईहरुलाई टेलिफोन र इन्टरनेटको पहँुच सहज हुनेछ’, महराले टावर उद्घाटन गर्दै भने । त्यसै अवसरमा बोल्दै सांसद महराले सक्राममा रहेको ऐतिहासिक पूर्व जनमुक्ति सेनाको ब्यारेकलाई सरकारले क्रान्ति संग्रहालयका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । यो व्यारेकसँगै सक्राम क्षेत्रमा आफू धेरै पटक आइसकेकाले यो ऐतिहासिक ब्यारेकलाई युद्धसँग जोडिएको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
‘यो विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग पनि कुरा भइरहेको छ, लुम्बिनी प्रदेश सरकारले ल्याउन थालेको नयाँ बजेटमा यो ब्यारेकलाई क्रान्ति संग्रहालयका रुपमा विकास गर्न पनि कार्यक्रम राखिने छ’, सांसद महराले भने । त्यसैगरी संघीय सरकारले पूर्णता पाउनेवित्तिकै पर्यटन मन्त्रीसँग यो विषयमा गुरुयोजना बनाएर अघि बढ्ने विषयमा छलफल गर्ने पनि उनले आश्वासन दिए ।
त्यसै अवसरमा नेता महराले फरक प्रसंगमा एमसिसिमा उल्लेख गरिएका ११ बुदालाइ संसोधन गर्न पनि माग गरेका छन् ।
नेपाल सरकारले एमसिसिका ११ बुदाहरु सम्सोधन गर्न अमेरिकि सरकारलाइ जानकारी गराइसकेको उल्लेखगर्दे उनले अहिले सरकार अमेरिकि सरकारको प्रतिक्षामा रहेको बताए । एमसिसि शन्य गतिविधिसंग पनि जोडिएको विषयमा अमेरिकि अधिकारीले दिएको अभिव्यक्ति खण्डन गर्न पनि अमेरिकाले नचाहेको भन्दै आपत्ति पनि जनाएका थिए । स्थानीय करुणा घर्तीको स्वागत मन्तव्यबाट भएको उद्घाटन कार्यक्रममा दलबहादुर महत, नेकपा समाजवादीका जिल्ला सदस्य डिल्ली पुन, तुलसीपुर उपमहानगरपालिका–१९ का वडासदस्य केशरबहादुर पुन, वडासदस्य जयबहादुर सुनार, वडा सदस्य देउकली विकलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण माओवादी केन्द्र तुलसीपुर–१९ का सचिव दुर्गाबहादुर विकले गरेका थिए । सक्राममा टेलिफोन टावर स्थापना र सञ्चालनका लागि नेपाल टेलिकम तुलसीपुरका प्रमुख हरिप्रसाद खनाल, तथा व्यारेक सुरक्षा समितिका हेरालु कौमती केसीले विशेष भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा धन्यवाद व्यक्त गरिएको थियो ।