कांग्रेसको १४औं महाधिवेशन : वडा नयाँ नेतृत्व

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, २२ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि दाङमा करिब ५० वडाहरुमा मतदान भएको छ । जिल्लाका दशवटा स्थानीय तहका एक सय वडाहरुमध्ये करिब ५० प्रतिशत वडाहरुमा सर्वसहमतिमै नेतृत्व चयन भएको हो । १४औं महाधिवेशनअन्तर्गत करिब ५० वटा वडा इकाई समितिमा सभापतिसहित कार्यसमिति, क्षेत्रीय प्रतिनिधिहरु सर्वसहमतिमै चयनको काम भएको छ भने बाँकी वडाहरुमा सोमवार नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । दुई वटा वडाहरुमा प्राविधिक कारण मतदान हुन सकेको छैन ।

जिल्ला निर्वाचन समितिका सदस्य कुमारराज श्रेष्ठका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १, २, ६, ७, १४, १६ र १९ वडाहरुमा सर्वसहमतिमै नेतृत्व चयन भएको छ । उनका अनुसार तुलसीपुर उपमहानगपालिकाका वडा नं. १, ४, ६, ७, १०, १२, १४ र १, लमही नगरपालिकाका वडा नं. ६ र ७, बंगलाचुली गाउँपालिकाका वडा नं. ३ र ६, बबई गाउँपालिका वडा नं. ३ र ७, दंगीशरण गाउँपालिकाको वडा नं. ४ मा सर्वसहमतिमै नेतृत्व चयन भएको छ । त्यसैगरी गढवा गाउँपालिकामा वडा नं. १, २, ३, ५, ६, ७ र ८, राजपुर गाउँपालिकामा वडा नं.१, २, ३ र ७, शान्तिनगर गाउँपालिकाको वडा नं. २ र ७ र राप्ती गाउँपालिकाका वडा नं. ३, ५, ६, ७ र ८ नम्वर वडामा अहिलेसम्म सर्वसहमतिमा नेतृत्व चयन भएको भने बाँकी वडाहरुमा नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ ।

‘जिल्ला निर्वाचन समितिलाई अहिलेसम्म ४१ वडाहरुमा सर्वसहमतिमै नेतृत्व चयन भएको जानकारी प्राप्त भएको छ’, जिल्ला निर्वाचन समितिका सदस्य श्रेष्ठले भने, ‘बाँकी वडाहरुमा निर्वाचनका लागि मतदान भएको छ ।’ जिल्लामा ५० प्रतिशत बढी वडाहरुमा सर्वसहमतिमै नेतृत्व चयन गर्ने काम भए पनि निर्वाचन कार्यालयलाई सम्पूर्ण जानकारी प्राप्त भैनसकेको निर्वाचन अधिकृत प्रहलादबहादुर कार्कीले बताए । ‘हिजो र आज दुई दिनको अवधिमा करिब ५० बढी वडाहरुमा सर्वसहमतिमा नेतृत्व चयन भएको छ’, निर्वाचन अधिकृत कार्कीले भने– ‘सर्वसहमतिमा नेतृत्व चयन हुन नसकेका वडाहरुमा सोमवार मतदान भएको छ ।’

यद्यपि दाङमा हालसम्म बंगलाचुली गाउँपालिका १ देखि ८ सम्म वडाहरुमा सर्वसहमतिमै नेतृत्व चयन भइसकेको छ । त्यस्तै घोराही उपमहानगरपालिकामा ९ वटा वडाहरु, तुलसीपुर उपमहानगरपालिका ८ वटा, लमही नगरपालिका ७ वटा वडा, गढवा गाउँपालिकामा ६ वटा, राजपुर गाउँपालिकामा ६ वटा, राप्ती गाउँपालिकामा ५ वटा, दंगीशरणका ४ वटा वडाहरुमा र शान्तिनगरमा ३ वटा वडाहरुमा सर्वसहमतिमै नेतृत्व चयन भएको छ ।

तुलसीपुर ५ र १६ मा मतदान आज

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र १६ मा नयाँ नेतृत्व चयनका लागि आज (मंगलवार) मतदान हुने भएको छ । सहमतिमा नयाँ नेतृत्व चयन हुन नसकेपछि सोमवार मतदान हुने निर्वाचन कार्यतालिका भए पनि प्राविधिक कारण तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र १६ मा मतदान हुन नसकेको निर्वाचन समितिका सदस्य कुमारराज श्रेष्ठले जानकारी दिएका छन् । ‘जिल्ला निर्वाचन समितिका अनुसार २० गते उम्मेदवारी दर्ता गर्ने र २१ गते नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने कार्यतालिका थियो’, सदस्य श्रेष्ठले भने– ‘तर प्राविधिक कारण दुई वडाहरुमा सोमवार मतदान हुन सकेन । अब मंगलवार आज निर्वाचन हुने छ ।’

घोराही १४ मा सपथ ग्रहण

यसैबीच नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १४ मा नयाँ नेतृत्वले सपथ ग्रहण गरेको छ । मतदान अधिकृत गोमा महराको अध्यक्षता तथा प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस साविक वडा नं. १४ का सभापति श्यामप्रसाद सुवेदीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टेकबहादुर बिसीलगायतको कार्यसमितिले सपथ ग्रहण गरेको हो । सहायक मतदान अधिकृत दामोदर गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक मतदान अधिकृत सुलोचना गौतमले गरेकी थिइन् । त्यसैगरी घोराही उपमहानगरपालिका वडा नं. १ मा नवनिर्वाचित सभापति महेन्द्रबहादुर घर्तीलगायतका कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरुले पनि सपथ ग्रहण गरेका छन् ।