कांग्रेस महाधिवेशन : आम निर्वाचनको झल्को

  •   
  •  

खेमराज रिजाल

दाङ, २१ भदौ । कांग्रेस भर्सेज कांग्रेस …। तुलसीपुर उपमहानगरपालिका—१७ झिँगैमा आइतवारको बिहानी सुरु भएको थियो, चुनावी माहौलबाटै । मत माग्न आएका थिए वडा सभापतिलगायत क्षेत्रीय प्रतिनिधिका उम्मेद्वार । ‘तलैबाट चुनिनुपर्ने असाध्यै राम्रो परिपाटी, यसले लोकतन्त्रलाई बलियो बनाउँछ’—दुधरासका ज्येष्ठ नागरिक झकबहादुर नेपालीले चिया गफमा भनेका थिए, ‘कांग्रेको यो महाधिवेशनले साच्चै आम निर्वाचन नजिकिएको झल्को दिएको छ ।’

दाङ जिल्लामा एक सय वडाकै केही सामुदायिक भवन र अधिकांश विद्यालयमा कांग्रेस वडा तहको निर्वाचन प्रक्रिया सुरु भएको छ । बिहानैदेखि निर्वाचन अधिकारी र सुरक्षाकर्मीहरू खटिएका छन् । निर्विरोध रूपमा प्रतिनिधि चयन हुन नसकेका वडाहरूमा सर्वसम्मत छलफलसँगै मनोनयन दर्ताका कामहरू भइरहेका देखिन्थे । प्रस्तावक, समर्थक सहितको टोली लिएर उम्मेद्वारहरू मतदान अधिकृत अघिल्तिर झुमिएको दृश्य र निर्वाचन स्थलको भवनका भित्तैभरि टाँगिएका मतदाता नामावलीले आम निर्वाचनलाई पनि निम्तो दिइरहेको लाग्थ्यो ।

गाउँ÷नगर समिति, क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समितिको नेतृत्वकै सबैभन्दा पहिलो आधारभूत जग वडा तहकै निर्वाचन भएकाले अग्रज नेताहरू समेतले तल्लो तहको अधिवेशनलाई उत्सुकताका साथ नियालिरहेका छन् । ‘निकै रोचक बनेको छ, अधिवेशनको माहोल, सर्वसम्मत हुन नसकेका वडाहरूमा आज साँझसम्म पनि सर्वसम्मत नेतृत्व चयनका लागि अधिक्तम प्रयासहरू हुने छन्’—नेपाली कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य शंकर गिरी भन्छन्, ‘सक्षम व्यक्तित्वहरू तल्लो तहबाटै चुनिने छन् ।’

स्थानीय तह र प्रदेश तहको निर्वाचन नजिकिँदै गर्दा सुरु भएको नेपाली कांग्रेसको महाधिवेशनको रिप्mल्याक्सन सोझै आम निर्वाचनमा पनि देखिनसक्ने कांग्रेस नेताहरूको अनुमान छ । त्यसैले पनि जिल्लाको कालाकाँटेदेखि कालीमाटीसम्मका वडाहरूमा कांग्रेस नेतृत्व सर्वसम्मत रूपमा चयन होस् भन्ने चाहन्छन्, नेताहरू । यति हुँदाहुँदै पनि कहीँकतै आफ्नो खेमाका क्षेत्रीय प्रतिनिधिहरू ल्याउने अद्देश्य कसरतमा पनि नेताहरू देखिन्छन् ।

‘जहाँ सर्वसम्मत नेतृत्व चयन हुनसक्ने छैन, त्यहाँ उच्च तहका नेताहरूको स्वार्थ जोडिएको हुनसक्छ’, एक जना कांग्रेस जिल्ला नेताले भने, ‘महाधिवेशनमा एकआध स्थानमा त्यस्तो हुनुलाई स्वाभाविक रूपमा लिनु उपयुक्त हुनेछ ।’ सबै क्षेत्रको अधिवेशन प्रक्रियालाई विश्लेषण गर्दा यो अधिवेशनले यस अघि देखिएका भिन्न–भिन्न खेमाका समीकरणहरूलाई फरक शैलीमा स्थापित गर्नेछ । संस्थापन र इतर खेमा मात्रै भनेर कांग्रेस नेताहरू सीमित रहने छैनन् ।

कांग्रेसको चौधौँ महाधिवेशनको प्रक्रिया सुरु नहुँदै तुलसीपुर उपमहानगरपालिका–१ मा नेपाली कांग्रेसले नमुना अधिवेशन सम्पन्न गरेर देखाइसकेको छ । वडा सभापतिदेखि क्षेत्रीय प्रतिनिधिहरू तथा अन्य प्रतिनिधि सबै निर्विरोध रूपमा सम्पन्न गरिसकेको छ । ‘हामीले तीन दिन अघि नै सर्वसम्मत रूपमा नेतृत्व चयन गरिसकेका छौँ, बाँकी काम भनेको निर्वाचन समितिबाट प्रमाणपत्र लिने मात्रै हो’—वडा सभापति फल्कुदत्त भण्डारीले भने । सो वडामा अहिले निर्मल आचार्य नवनिर्वाचित वडा सभापति बनेका छन् । खेमाको भन्दा योगदानका आधारमा प्रतिनिधि चुनिएको त्यहाँका अगुवा कांग्रेस कार्यकर्ताहरूले बताएका छन् ।

नेतृत्वमा आउनका लागि यो अधिवेशनमा बढी आकर्षण युवाहरूको देखियो । युवाहरूको एउटै चाहना वडादेखि जिल्ला हुँदै केन्द्रसम्मै युवाको सम्मानजनक सहभागिता हुनुपर्दछ । तुलसीपुर उपमहानगरपालिका–१८ मा सभापतिको प्रत्यासीका रूपमा प्रस्तुत नै नभएका युवा नेता वीरेन्द्र खड्का वडा सभापतिमा सर्वसम्मत चयन भइरहँदा निकै भावुक देखिन्थे । ‘अग्रजहरूको सम्मान, युवाहरूको सक्रिय सहभागिता राजनीतिमा हुनुपर्छ भन्ने मेरो मान्यता हो, समाज परिवर्तन राजनीतिले मात्रै गर्नसक्ने भएकाले यो क्षेत्रमा सक्रिय हुने प्रयास गरेको छु’, खड्काले भने ।

तुलसीपुरकै अन्य धेरै वडाहरूमा पनि अविरजात्राको अवस्था देखियो । वडा नम्बर ४ मा करिब एक सातादेखिको सहमति वार्ताको परिणाम स्वरूप वडा सभापतिलगायत क्षेत्रीय प्रतिनिधि तथा अन्य सबै कार्यसमिति निर्विरोध रूपमा सम्पन्न भएको सोही वडाका स्थानीय तथा नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताए । ‘मलाई लाग्छ, ६० प्रतिशतभन्दा बढी वडाहरूमा सम्भवतः भोलि बिहानसम्म सर्वसम्मत नेतृत्व चयनको अभ्यासले सार्थकता पाउनेछ’–सभापति खड्काले गोरक्षलाई भने । कांग्रेसमा देखिएको गुटपरस्त अभ्यासलाई यो महाधिवेशनले चिर्ने पनि उनले विश्वास व्यक्त गरे । लोकतन्त्र बलियो हुनका लागि राजनीतिक पार्टीहरू पनि बलियो हुनुपर्ने बताउँदै यो महाधिवेशनले नेपाली कांग्रेसलाई एकताको बलियो आधार निर्माण गर्नेछ ।

नेपाली कांग्रेसको महाधिवेशन करिब एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने थियो । कोरोना भाइरसको संक्रमण तथा पार्टीभित्रकै आन्तरिक तयारी पूरा हुन नसक्दा अधिवेशन करिब डेढ वर्ष ढिलो सम्पन्न हुँदैछ । यस अघिको निर्वाचनमा रहेका ४ लाख क्रियाशील सदस्य संख्यालाई बढाएर ८ लाख पु¥याइएको छ । पहिलो चरणमा क्रियाशील सदस्यता वितरणसम्बन्धी कुनै पनि विवाद नभएका ५६ जिल्लाका वडाहरूमा अधिवेशन सुरु भएको छ ।

बाँकी २१ जिल्लाहरूमा चाँडै क्रियाशील सदस्यतासम्बन्धी विवाद सुल्ट्याएर अधिवेशनको तयारी केन्द्रीय निर्वाचन समितिले गरेको छ । अधिवेशन सुरु भएसँगै पार्टीका जनवर्गीय संगठनहरूका पदाधिकारीहरू पनि आशावादी देखिएका छन् । ‘कांग्रेसको यो महाधिवेशनले हामी निकै आशावादी देखिएका छौँ कि अब नेपाल विद्यार्थी संघको महाधिवेशन पनि चाँडै सम्पन्न हुनेछ’—दाङका विद्यार्थी नेता विदुर गौतमले गोरक्षलाई भने । उनको चाहना अब चाँडै नै कांग्रेसका सबै जनवर्गीय संगठनहरू चलायमान बन्नका लागि महाधिवेशन होस् ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै वडाहरूमा आइतवार मनोनयन दर्ता हुने भएको छ । वडा समिति र क्षेत्रीय प्रतिनिधिहरूको लागि मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन भदौ २१ गते हुनेछ । निर्वाचन कार्यक्रम अन्तर्गत् नामावलि प्रकाशन भइसकेको छ । निर्वाचित वा सर्वसम्मत सबै नेतृत्वलाई निर्वाचन प्रक्रिया सकिएपछि मात्रै २१ गते प्रमाणपत्र उपलब्ध गराइने छ । दाङ जिल्लाका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र ७ वटा गाउँपालिकाका १ सय वटै वडामा एकै दिन अधिवेशन सम्पन्न हुने र त्यसका लागि सबै कर्मचारी परिचालित भइसकेको मुख्य निर्वाचन अधिकृत प्रह्लाद कार्कीले बताएका छन् ।